News Category 2076/02/10

वर्तमान सरकार अधिनायकवादतर्फ उन्मूख ः उपसभापति निधी

दैनिक समाचारदाता

वर्तमान सरकार अधिनायकवादतर्फ उन्मूख ः उपसभापति निधी

दैनिक समाचारदाता
राजविराज, १० जेठ । 
    नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले वर्तमान सरकार दुई तिहाईको दम्भमा अधिनायकवादतर्फ उन्मूख रहेको भन्दै काँग्रेस एक ढिक्का भई त्यसको प्रतिवाद गर्नुपर्ने बताएका छन् । 
    संगठन सुदृढीकरण गर्ने उद्देश्यले पार्टीद्वारा थालिएको राष्ट्रिय जागरण अभियान अन्तरगत शुक्रबार सप्तरीको रुपनी गाउँपालिकाको कटैयामा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 
    निधीले पार्टी भित्रको अन्तरद्वन्द्वका कारण गत निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरि पार्टी बलियो बनाउन र वर्तमान सरकारको अधिनायकवाद र दम्भलाई परास्त गर्न काँग्रेस एक ढिक्का हुनु आवश्यक रहेको बताए । 
    महिलाहरुको उल्लेख्य सहभागिताबाट उत्साहीत भएका उनले भाषणको सुरुमै महिलाहरुप्रति उच्च सम्मान व्यक्त गर्दै काँग्रेसले आधा आकाश ओगटेको महिलालाई सधै प्राथमिकतामा राखेको बताए । उनले आफूलाई मधेशवादी भन्ने उपेन्द्र यादव र महन्थ ठाकुरले आ–आफ्नो पार्टीको नामबाट मधेश शब्द हटाएर मधेशका जनताप्रति बेइमानी गरेको बताए । 
    “उपेन्द्र यादवले सुरुमा गठन गरेको मधेशी जनअधिकार फोरमबाट मधेशी शब्द झिके, निधीले भने, “त्यसपछि यादवकै बाटो पच्छ्याउँदै महन्थ ठाकुरेले पनि गठन गरेको तराई मधेश लोकतान्त्रिक पार्टी एकीकृत हुँदा मधेश शब्द वेपत्ता बनाए ।”
    उनले मधेश आन्दोलनको मुख्य माँग संविधान संशोधन सम्बोधन नै नभई उपेन्द्र यादव सत्ताका लागि सरकारमा सहभागि भई मधेशी जनताको भावनासँग खेलवाड गरेको आरोप पनि लगाए । उनले आगामी निर्वाचनमा नेपाली काँग्रेस ठूलो पार्टी बन्ने दाबी गर्दै उत्साहका साथ पार्टीको कार्यक्रममा सहयोग गर्न आग्रह पनि गरे । 
    उनले राष्ट्रीय जागरण अभियान पहिलो चरणमा बैशख २५ पछि जेठ २५ सम्म, दोश्रो चरणमा भदौं २४ देखी असोज २४ सम्म र तेश्रो चरणमा पुस ७ देखी माघ १६ सम्म संचालन हुने जानकारी पनि दिए । 
    सोही आमसभामा काँग्रेस नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. लिला संग्रौला ओली सरकार काण्डै काण्डमा फँसेको बताउँदै निर्मला काण्ड त सुनकाण्ड, सबै काण्डहरुको समाधान ओली सरकारले गर्न नसकेको आरोप लगाए । उनले मधेसवादी भनेका दलहरु अब मधेसवादी रहेनन्, काँग्रेसले नै मधेसका माग अनुसार संविधान संशोधन गराउने दाबी समेत गरे ।
    यस्तै केन्द्रीय सदस्य एवं अभियानकालागि सप्तरीका केन्द्रीय प्रतिनिधि महेन्द्र यादवले  मधेसवादी भनेका दलहरु जनताको लाशमाथि राजनीति गरेर सत्तामा पुगेको अरोप लगाउँदै उनीहरु सत्तालिप्साका लागि मात्र राजनीतिक गरिरहेको बताए । मधेसमा पहाडीलाई गाली गर्ने उपेन्द्रहरु काठमाण्डौंमा उही पहाडीसँग बसेर सत्तामा डुब्छन् भन्दै उनले यिनीहरुसित कुनै राजनीति सिद्धान्त नरहेको जिकरि गरे । लोकतन्त्रसमेत खतरामा रहेकाले आफूहरु लोकतन्त्र जोगाउन फाँसी चढ्नबाट पनि पछाडी नहट्ने बताए । केन्द्र र प्रदेश २ सरकारका मन्त्रीहरु भ्रष्टाचारमा चुर्लुम डुबेको आरोप लगाउँदै उनले प्रदेश २ को अझ नाम र राजधानी तोक्न नसकिरहेको भन्दै एनजिओ चलाएर मात्र बसेको भन्दै प्रश्न समेत ते¥साए ।
    क्षेत्रिय सभापति रामप्रसाद मण्डलको अध्यक्षतामा आयोजित सभामा केन्द्रिय सदस्यद्वय महेन्द्र यादव, डा. डिला संग्रौला, प्रदेशसभा सदस्य मो. समिम, जिल्ला सभापति दिनेश कुमार यादव, सदस्य रामदेव साह लगायतले पनि सम्बोधन गर्दै वर्तमान सरकार काण्डै काण्डमा चुर्लुम्म डुबेको भन्दै अभियान मार्फत भण्डाफोर गरि हिमाल, पहाड र तराईका जनतालाई सजग बनाउने बताएका थिए । 
    कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका एक सय भन्दा बढी स्थानिय नेता तथा कार्यकर्ताहरुलाई प्रमुख अतिथि निधीले फुलमाला र अबिर लगाई पार्टीको सदस्यता प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस