News Category 2076/04/19

दाजुभाईको एउटै चितामा अन्त्येष्टी शोकमा बजार र विद्यालय बन्द, गाउँभर चुलो बलेन्

दैनिक समाचारदाता

दाजुभाईको एउटै चितामा अन्त्येष्टी शोकमा बजार र विद्यालय बन्द, गाउँभर चुलो बलेन्

र्दैनिक समाचारदाता
राजविराज, १९ साउन । 
    मेलम्ची खानेपानी आयोजना बालाजुमा कामदारको रुपमा कार्यरत दाजुभाईको शुक्रबार दुर्घटनाका क्रममा मृत्यु भएपछि अहिले सप्तरीको शम्भुनाथ नगरपालिका २ कनकपट्टी शोकमा डुबेको छ । 
    जिल्लाको शम्भुनाथ नगरपालिका २ कनकपट्टी गाउँका रामविलाश साहका दुवै छोरा २० बर्षिय सुरेश र १८ बर्षिय शिवकान्तको सोही आयोजनामा काम गर्दै गर्दा शुक्रबार दुर्घटनामा परी ज्यान गएपछि गाउँ शोकमग्न भएको हो । 
    बैदेशिक रोजगारीमा जान खर्च जुटाउन दश दिन अघि मात्र ती दाजुभाई बुवासँगै मजदुरीका लागी काठमाडौं गएका थिए । बालाजुमा आयोजनाको टयांकी सफा गर्ने क्रममा निसास्सिएर शिवकान्त र सुरेशको ज्यान गएको थियो । 
    बुवा रामविलाश र आमा रामबत्तीको सन्ताको नाममा दुई मात्र छोराको अकालमै ज्यान गएपछि उनको घर र सिंगो टोल शोकमग्न छ ।
    टयांकीको ढलान खोल्न सुरुमा सुरेस पाईप भित्र पसेका थिए उनी भित्रै ढलेपछि उद्वार गर्न गएका उनका भाई शिवकान्त पनि भित्रै ढलेको उनका बुबा रामविलासले बताए । 
    दुबै छोरा ट्यांकी भित्र ढलेको देखेर बुबा रामविलाशले हो हल्ला गरेपछि जम्मा भएका स्थानिय, प्रहरी र डोजरको सहयोगमा उद्वार गरी दुवै छोरालाई महराजगंज शिक्षण अस्पताल पु¥याए तर, चिकितसकले दुवैलाई मृत घोषणा ग¥यो । 
    मृतका बुबा रामविलासले सासै फेर्न नसकिने जोखिम पूर्ण ठाउँमा आयोजनाका सुपरभाईजर अमृत सरले सिकारु दुवै छोरालाई पसाए जानाजानी ज्यान लिएको गुनासो पोखे ।
    यता शोक मनाउन तथा घटनाको छानविन र मृतक परिवारलाई क्षतिपुर्ती दिलाउन दवाव स्वरुप कनकपट्टी बजार र विद्यालय बन्द गरिएको स्थानिय व्यवसायी तेज नारायण चौधरीले बताए । 
    बालाजुस्थित सो आयोजनामा रामविलाश भने दुई महिना अघि देखि नै काम गर्दै आएका थिए । आईएड पढ्दै गरेका जेठा छोरा सुरेश र कान्छो छोरा शिवकान्त यसै पल्ट एसइई परिक्षा पास गरेका हुन् । 
    रामविलासका दुवै छोरा रोजगारीका लागी विदेश जाने तयारीमा थिए । भिसा नआएकाले तत्काल आवश्यक खर्च जुटाउन केही दिन काठमाडौंमा सँगै काम गर्ने छोराहरुले गरेको आग्रह गरेपछि सुपरभाईजरलाई भनेर काम लगाईदिएको रामबिलाशको भनाई छ ।
    दुवै छोराको मृत शरीर घर आईपुगेपछि लाश देखेर आमा रामबत्ती मात्र होईन आफन्तहरुपनि भकाभक बेहोस हुन थाले । उनीहरुलाई सम्हाल्न छिमेकी र गाउँलेहरुलाई हम्मे हम्मे परेको थियो । आईतबार विहान गाउँभरी चुलो बलेन । कसैले केही खाएनन् ।
    यस्तै स्थानिय समाजसेवी एवं राजपाका केन्द्रिय सदस्य दिनेश कुमार यादवले दुखद घटनाका कारण गाउँमा चुलो नबलेको बताए । उनले दुखदायी घटनाका जिम्मेबार सुपरभाईजर माथि छानविन र कार्यवाही तथा मृतक परिवारलाई सरकारले उचित क्षतिपुर्ति दिनु पर्ने माग समेत गरे । 
    शनिबारराती दाजुभाईको शव घर पुगेपछि आईतबारै हिंन्दु धर्म संस्कार अनुसार एउटै चितामा अन्त्येष्टी गरिएको छ । 

प्रतिकृया दिनुहोस