News Category 2076/06/07

बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 

दैनिक समाचारदाता

बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 

चन्दनकुमार यादव
राजविराज, ७ असोज । 
    बिगत ६ महिनादेखी खाल्डोमा जमेको फोहोर पानीको निकासका लागी आवश्यक पहल नहुदाँ बिष्णपुर गाउपालिकाका एक बस्ती विभिन्न रोगको उच्च जोखिममा रहेको छ ।
    लामो समयदेखी जमेको फोहोर पानी निकासका लागि ब्यवस्थापन हुन नसक्दा बिष्णुपुर गाउपालिका ६ स्थित सो बस्तीका वासीन्दाहरु विभिन्न रोगको उच्च जोखिममा रहेका हुन ।
    ६ महिनादेखी ती क्षेत्र वरीपरीको ३ फीट पानी जमेको कारण पानी निकास हुन नसक्दा स्थानियहरु चिन्तित देखिन्छन् ।
    महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको पश्चिम तर्फको मिथीला बस्तीमा बनहार नदीबाट आएको पानी निकास हुन नसक्दा जमेको पानीको दुर्गन्धका कारण एक जनामा डेंगु रोगको लक्षण देखा परेको छ । 
    स्थानिय मंजीत दासलाई एक्कासी ज्वरो लागेपछि उनले डेंगु लागेको हो भन्ने शंका लागेपछि उनले घरमै डेंगुको चेकजाँच गरेपछि सो रोग पत्ता लागेको छ । तत्कालै डेंगु रोगबाट बच्ने सम्बन्धी औषधी एक महिना सम्म खाएपछि ज्वरो समेत निको हुदै गएको दासले बताए ।
    त्यसैगरी स्थानीय किरण कुमारी राउत, अंजु यादब, सोनी राउत, बसन्त राउत, माधव राउत, सम्झना झा, सुशीला दास लगायतका दर्जनौ घरमा ज्वरो लाग्ने बिरामी बढ्दै गएकोे स्थानियहरुले बताएका छन् । 
    यस बस्तीको पानी निकासका लागी बारम्वार सम्बन्धी निकायलाई आग्रह गरेपनि जनप्रतिनिधीहरु स्वास्थ्यप्रति गम्भिर नभएको डेंगु संक्रमणबाट पीडित किरण कुमारी राउतले गुनासो पोखिन । 
    घरवरिपरी पानी जमेको कारण घरबाट निस्कन समेत समस्या भएको बताउँदै स्थानिय सुशीला दासले भने, “एकत फोहोर पानी त्यसमा पनि राती घरवाट निस्कन जोखिम छ ।”
    ५० घर धुरी भएको मिथीला टोलमा २ सय ५० जना भन्दा बढी स्थानीस्यहरुको बसोवास रहेको छ । स्थानिय रत्न राउतले भने, “अहिले मलाई ४ दिन देखी ज्वरो लाग्दै आएको छ, परिवारमा अन्य सदस्यहरुलाई ज्वरो लाग्ने लक्षण देखा परेको छ, मेरो छरछिमेकीमा पनि ज्वरोको प्रकोप देख्न थालेको छ ।”
    यस बारेमा बिष्णुपुर गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष बहादुर सदाले मिथीला टोल आफ्नो क्षेत्र नपरेकोले वडा २ मा परेकोले केही थाहा नभएको जानकारी दिए । यता मिथीला टोल वडा ६ मा पर्छ की २ भनेर वारम्वार दुबै वडा अध्यक्षहरुले एक अर्काको एरियामा पर्छ भनेर समस्याको समाधान नगरी बिवाद बढाएको स्थानियहरुको गुनासो छ । 

प्रतिकृया दिनुहोस