News Category 2076/07/13

आजदेखी साझा पर्व छठ विधिवत रुपमा सुरु

दैनिक समाचारदाता

आजदेखी साझा पर्व छठ विधिवत रुपमा सुरु

दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
    दशैं, दिपावली लगत्तै मनाउने साझा पर्व छठ आजदेखि विधिवत रुपमा सुरु भएको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वासका साथ यो पर्व चार दिनसम्म मनाउने गरिन्छ । 
    यता सप्तरीमा छठ पर्वका लागि धमाधम तयारी भइरहेको छ भने पुजा सामाग्रिहरु किनमेलका लागि अहिले बजारमा चहलपहल बढेको छ । 
    छठ पूजाका लागि आवश्यक पर्ने सामानहरूलाई चोखो राख्न ब्रतालुहरूले विशेष रूपमा रेखदेख गर्छन् भने यस पर्वमा फलफूल, अदुवाको बोट, उखु, सुथनी, पानी फल, नरिवल, बोडी, नाङ्लो, कन्या, ढकी, माटोको दियो र कराई आवश्यक पर्छ । पूर्णरूपमा शकाहारी हुने यो पर्वमा ठकुवा, भुसुना, फलफूल र कसारले विशेष महत्व राख्दछ ।  
    छठ पर्व मनाउन तराई मधेशवासी आवश्यक पुजन सामग्री खरीद गर्न हटिया तथा बजारमा भिड लागेको छ । प्रत्येक वर्ष छठ मनाउनेको संख्या बृद्घि भईरहेकाले आवश्यक सामानको जोहो गर्न बजारमा निकै भिड बढेको हो । 
    बर्तालुहरु छठका लागी बासको नाङ्गलो, ढाकि, कोनिया, डगरी, माटोको हात्ती, दियो, ढकना, कोशिया, कुरवार, केरा लगायत फलफुल, उखु, भोगटे, कागती, सखर लगायतका पुजा सामग्री खरिदमा व्यस्त देखिएका छन् । 
    बजारमा छठ पुजाका सामग्री किनमनेलका साथै छठ मनाउनेहरु विभिन्न पोखरी, तलाव र जलाशयहरुको सरसफाई र सजाउन पनि व्यस्त भएका छन् । जलाशय सरसफाईमा सेना र प्रहरीले समेत सघाएपछि स्थानियलाई सहज भएको छ । 
    प्रहरीले छठ पुजा स्थलमा कुनै पनि उच्छृख्ल गतिविधि र अप्रिय घटना हुन नदिन आवश्यक सवै सुरक्षा व्यवस्था मिलाई सकेको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए । उनले जिल्ला स्थित सवै पुजाघाटमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन सादापोशाका समेत प्रहरी परिचालन हुने तयारी गरिएको जानकारी दिए । 
    छठ पर्वलाई व्यवस्थित गर्न स्थानीय युवकहरूले समिति बनाई व्यवस्थापन गर्ने गरेका छन् भने यो पर्व जलाशय, पोखरी वा नदी भएको स्थानमा मनाइन्छ । 
    यस्तै राजविराजस्थित विभिन्न पोखरीहरुको यूवाहरुसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेतले सरसफाई गरेको छ ।
    राजविराजस्थित भगवति मन्दिरको पोखरी, कल्टु दास पोखरी, सकलदेव दास पोखरी, तुरन्ती पोखरी तथा जिल्लाको कंचनपुर, भारदह, हनुमाननगर, रुपनी, कल्याणपुर सहितको दर्जनौ ठाउँमा घाट बनाएर भव्यतापूर्वक पूजापाठ गर्ने तयारी गरिदै छ । यता भारदहस्थित कोशी व्यारेजमा सप्तरी, सुनसरी, सिरहासहित सीमावर्ती भारतीय गाउँबाट समेत आएर श्रद्धालुहरुले छठका लागि स्थान ओगटदै छन् ।        शनिबार साझ अस्ताउँदै गरेको सूर्यलाई तथा आईतबार विहान उदाउँदो सूर्यलाई अर्ध दिएपछि ४ दिवसीय महान पर्व छठ सम्पन्न हुने छ । 
    चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको सूर्यलाई र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ ।
    मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।
    सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।
    पर्वको पहिलो दिन चतुर्थीमा ब्रतालु महिला एवं पुरुष नृत्यकर्मपछि शुद्ध शाकाहारी खाना खान्छन् । यसलाई ‘नहाय खाय’ अर्थात नुहाएर खानु भनिन्छ । यो दिन नुहाई, धुवाँई, चोखो भई ब्रतालु महिला एवं पुरुषहरुले लहसुन, प्याज नहाली कालो नुन प्रयोग गरि खाना खाने गर्छन् । 
    यस्तै दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसिन्छ, यस दिनलाई ‘खरना’ भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रती यो दिन दिनभरि उपवास बस्ने गर्छन् । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । यो दिन बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खीर पकाइन्छ । सो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतीले प्रसादको रूपमा ग्रहण गर्छन् । परिवारका अन्य सदस्यहरूले पनि यसलाई प्रसादको रूपमा ग्रहण गर्ने चलन रहेको छ ।
    पर्वको तेस्रो दिन षष्ठी उपवास बसेका ब्रतालुहरु साँझपख जलाशयमा गई अस्ताउँदो सूर्यको पुजा गर्ने गर्छन् । र चौथो दिन बिहान पुनः जलाशयमा गई उदाउँदो सूर्यको पुजा गरि समाप्त हुन्छ । 
      सुरुमा तराइवासीहरूले मात्र मनाउने छठ पर्व अहिले अन्य जातजातिले पहाडी क्षेत्रमा समेत मनाउन थालिएपछि यस पर्वलाई साझा पर्वको रुपमा मनाउन थालिएको हो ।

प्रतिकृया दिनुहोस