News Category 2076/07/29

एक महिनामा चार हजार बढी गाँजा बोट फडानी

दैनिक समाचारदाता

एक महिनामा चार हजार बढी गाँजा बोट फडानी

दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक । 
    सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएको गाँजाका बोटहरु फडान गर्ने अभियान सुरु गरेको छ । सो अभियान अन्तरगत प्रहरीले एक महिनाको अवधीमा चार हजार बढी गाँजाका बोटहरु फडान गर्दै नष्ट गरेको छ । 
    प्रहरीले एक महिनाको अवधिमा विभिन्न स्थानका झण्डै २० विगघा जग्गा र ५ दर्जनभन्दा बढी घर आँगनमा लगाईएको ४ हजार ७ सय ८० गाँजाको बोट फडान गरि नष्ट गरेको जनाएको छ । 
    नेपाल तथा शसस्त्र प्रहरीको संयुक्त टोलीले एक महिनाको अवधिमा हनुमाननगर कंकालिनी नगरपालिका, खडक नगरपालिका, डाक्नेश्वरी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका, महादेवा गाउँपालिका, तिरहुत गाउँपालिका, बलान बिहुल गाउँपालिका, विष्णुपुर गाउँपालिका लगायतको स्थानमा अवैध रुपमा लगाइएको ४ हजार ७ सय ८० गाँजाको बोट फँडानी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीले गाँजा खेती भईरहेको विभिन्न स्थानको पत्ता लगाएर टोली बनाई परिचालन गर्ने गरेको सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईले जानकारी दिएका छन् । उनकै निर्देशनमा प्रहरी र सशस्त्रको संयुक्त टोलीले गाँजा खेती नष्ट गर्ने अभियान नै चलाइएको छ । 
    कतिपयले व्यवसायिक रुपमै यसको खेती गर्दै आएका छन् भने कतिपय करैसाबारीमा मौसमी रुपमा घर खर्च जोहोका लागी यसको खेती गर्दै आएको प्रहरी उपरिक्षक प्रसाईले बताए । 
    एक कृषकका अनुसार भदौ महिनामा व्याड तयार गरी रोपिने गाँजा पुसको अन्तिम साता सम्म विक्री गर्न तयारी हुन्छ । यसरी उत्पादन गरेको गाँजा सिमाबर्ती भारतीय बजारमा प्रति केजी १० हजार रुपैया सम्ममा विक्री हुने गरेको पाइएको छ ।
    सुख्खा र कम सिचाई सुविधा भएको जग्गामा समेत गाँजा फस्टाउने भएकाले प्रहरीले बर्षेनी फँडानी गरेपनि लुकाई छिपाई गाँजा खेतीलाई निरन्तरता दिएको गाँजा खेतीमा लागेका कृषकहरुको भनाई छ ।
    प्रहरी उपरिक्षक प्रसाईले भने, “अभियान अन्तर्गत पहिले गाँजा खेतीको पहिचान गर्न सादा पोशाकका गोप्य खोजीदल खटछन् । त्यसपछि खोजीदलले पहिचान गरेको गाँजा खेती नष्ट गर्न प्रहरी तथा शसस्त्र प्रहरी बलको संयुक्त टोलीले फँडानी र नष्ट गर्ने काम सुरु गर्छन ।” 
    गाँजा तस्करले भरिया मार्फत भारत निकासी गर्ने गरेकाले उनीहरुले प्रयोग गर्ने बाटोमा समेत प्रहरीले निगरानी कडा पारेको एसपी प्रसाईको भनाई छ । 
    पछिल्लो पटक शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिकाको विभिन्न स्थानमा अवैध रुपमा लगाइएको १ हजार ३ सय गाँजाको बोट प्रहरीले फँडानी गरी नष्ट गरिएको छ । 
    अघिल्लो दिन विहिबार पनि प्रहरीले अग्नीसाईर कृष्णाशवरण गाउँपालिकाको विभिन्न वडामा गरी करिब १ विघा जग्गामा लगाईएको ५ सय ७५ गाँजाको बोट फँडानी गरेको थियो ।

प्रतिकृया दिनुहोस