News Category 2076/08/03

पच्चिस विगहामा लगाइएको झण्डै  ६ हजार गाँजाका बोटहरु नष्ट, अभियान निरन्तर चलिरहन्छ ः एसपी प्रसाई

दैनिक समाचारदाता

पच्चिस विगहामा लगाइएको झण्डै  ६ हजार गाँजाका बोटहरु नष्ट, अभियान निरन्तर चलिरहन्छ ः एसपी प्रसाई

दैनिक समाचारदाता
राजविराज, ३ मंसिर । 
    सप्तरी प्रहरीले लागु औषध गाँजाका बोटहरु फडान गर्ने अभियान नै चलाएपछि पाँच साताको अवधीमा झण्डै २५ विगहामा लगाइएको ५ हजार ८ सय ६० गाँजाका बोटहरु नष्ट गरेको छ । 
    जिल्लाको विभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएको गाँजाका बोटहरु गोप्य सूचनाका आधारमा प्रहरी टोली खटी नष्ट गर्दै आएको छ । 
    कात्तिक महिनादेखी हालसम्म सो अभियान अन्तरगत हालसम्म जिल्लाको विभिन्न स्थानका झण्डै २५ विगहा जग्गा र १० दर्जनभन्दा बढी घर आँगनमा लगाईएको गाँजाको बोट फडान गरि आगो लगाई नष्ट गर्दै आएको सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
    नेपाल तथा शसस्त्र प्रहरीको संयुक्त टोलीले सो अवधीमा जिल्लाको राजविराज, हनुमाननगर कंकालिनी नगरपालिका, खडक नगरपालिका, डाक्नेश्वरी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका, महादेवा गाउँपालिका, तिरहुत गाउँपालिका, बलान बिहुल गाउँपालिका, विष्णुपुर गाउँपालिका लगायतको स्थानमा अवैध रुपमा लगाइएको ५ हजार ८ सय ६० गाँजाको बोट फँडानी गरिसकेको उनले बताए ।


    प्रहरी उपरिक्षक प्रसाईले भने, “गाँजा खेती भईरहेको विभिन्न स्थानको सादा पोशाकका प्रहरीले पत्ता लगाएपछि टोली बनाई परिचालन गर्ने गरिएको छ ।” कतिपय स्थानमा उनकै नेतृत्वमा नेपाल प्रहरी र सशस्त्रको संयुक्त टोली पुगेर गाँजा खेती नष्ट गर्ने गरिएको छ ।
    कतिपय स्थानमा घरकै करेसाबारीमा गाँजाका बोटहरु रोपिएको देखिन्छ भने कतिले आफै गााजा सेवन गर्न पनि बोटहरु रोप्ने गरेको प्रहरीले जनाएको छ । तर, ती भन्दा पनि भारतीय बजारमा गाँजा बिक्रि गरेर राम्रो आम्दानी हुने गरेकोले पनि अधिकांश स्थानहरुमा व्यवसायी प्रयोजनका लागि गाँजाका बोटहरु रोप्ने गरेको स्थानियहरु बताउँछन् ।
    एक कृषकका अनुसार भदौ महिनामा व्याड तयार गरी रोपिने गाँजा पुसको अन्तिम साता सम्म विक्री गर्न तयारी हुन्छ । यसरी उत्पादन गरेको गाँजा सिमाबर्ती भारतीय बजारमा प्रति केजी १० हजार रुपैया सम्ममा विक्री हुने गरेको पाइएको छ ।
    सुख्खा र कम सिचाई सुविधा भएको जग्गामा समेत गाँजा फस्टाउने भएकाले प्रहरीले बर्षेनी फँडानी गरेपनि लुकाई छिपाई गाँजा खेतीलाई निरन्तरता दिएको गाँजा खेतीमा लागेकाहरुको भनाई छ ।
    यता प्रहरीले गाँजा तस्करले भरियामार्फत भारत निकासी गर्ने गरेकाले उनीहरुले प्रयोग गर्ने बाटोमा समेत प्रहरीले निगरानी बढाइएको प्रहरी उपरिक्षक प्रसाईले जानकारी दिँदै अभियान निरन्तर चलिरहने बताए । 
    यसैबीच प्रहरीले मंसिर २ गते सोमबार मात्रै जिल्लाको बिष्णुपुर गाउँपालिका ७ गोरगामाबाट ५५ वटा गाँजाका बोटहरु फडान गरि नष्ट गरेको छ । यस्तै प्रहरीले मंसिर १ गते जिल्लाको बलानबिहुल गाउँपालिका ५ मुसहरिया टोलबाट १ सय गाँजाको बोटहरु फडान गरेको छ भने प्रहरीले राजबिराज वडा नं. ११ झल्ही फर्सेठ टोलबाट २ सय पचिस वटा गाँजाका बोटहरु फडान गरि नष्ट गरेको जनाएको छ । 
    पछिल्लो पटक गत शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिकाको विभिन्न स्थानमा अवैध रुपमा लगाइएको १ हजार ३ सय गाँजाको बोट प्रहरीले फँडानी गरी नष्ट गरेको थियो । असअघि प्रहरीले कात्तिकको २८ गते अग्नीसाईर कृष्णाशवरण गाउँपालिकाको विभिन्न वडामा गरी करिब १ विघा जग्गामा लगाईएको ५ सय ७५ गाँजाको बोट फँडानी गरेको थियो ।

प्रतिकृया दिनुहोस