News Category 2076/08/16

किशोरीको अपहरण भएको भन्दै आफन्त सडकमा उत्रेपछि तोडफोड, तीन पक्राउ

दैनिक समाचारदाता

किशोरीको अपहरण भएको भन्दै आफन्त सडकमा उत्रेपछि तोडफोड, तीन पक्राउ

दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
    एक १६ वर्षिया किशोरीको अपहरण भएको भन्दै आफन्तजनले सडकमा प्रदर्शन गर्दै तोडफोडमा उत्रेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 
    राजविराज नगरपालिका ७ निवासी गौरी साहको अपहरण भएको भन्दै सोमबार आफन्तजन प्रदर्शन र तोडफोडमा उत्रेपछि प्रहरीले अपहरणमा परेको भनिएकी किशोरीका दाजु गोपाल साह, सोही वडा निवासी जय साह र राहुल रजकलाई पक्राउ गरेको हो । 
    पक्राउ परेकाहरुले राजविराज ७ स्थित ऊँ साई बाबा यातायातको बुकिङ काउन्टरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । 
    घटना विवरण अनुसार राजविराज ७ निवासी देबेन्द्र साहकी १६ वर्षिया छोरी गौरी गत शनिबारदेखी वेपत्ता छिन् । ऊँ साई बाबा यातायातको बुकिङ काउन्टरमा कार्यरत राजविराज ७ निवासी विकास कर्णसहित तीन जना मिलेर गौरीको अपहरण गरेको आफन्तजनले दाबी गरेको प्रहरीले जनाएको छ ।  
    यसबारे केटीका ठूलो बुबा राघवेन्द्र साहले जिल्ला प्रहरी कार्यालय सप्तरीमा किटानी जाहेरी समेत दिएका छन् । तर, तीन दिन बित्न लाग्दा समेत आरोपीहरुलाई पक्राउ गर्न प्रहरीले ढिलाई गरेको भन्दै आक्रोसित आफन्तजन प्रदर्शनमा उत्रेका जनाइएको छ । 
    उनीहरुले किशोरी अपहरण गर्नेलाई अविलम्ब पक्राउ गर्न माँग गरेका छन् । प्रहरीले भने अपहरण भन्दा पनि यो विषय प्रेम प्रसङसँग जोडिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जनाएको छ । 
    प्रहरी नायब उपरिक्षक तिलक भारतीले भने, “यो अपहरण नै हो भन्न सकिने अवस्था छैन्, प्रेम प्रसङसँग जोडिएको अवस्था पनि देखिएको छ, यद्दपी दुबै कोणबाट हाम्रो अनुसन्धान अघि बढेको छ ।” उनले किशोरी भगाउने केटा कर्णको खोजी कार्य तिब्र बनाइएको बताए । 
    विवाह सम्बन्धी नयाँ कानुन अनुसार २० वर्ष पूरा नभएसम्म बैधानिक रुपमा विवाह गर्न नपाउने व्यवस्था छ । यस्तो अवस्थामा खास गरेर भागेर आफूखुशी विहे गर्ने उमेर नपुगेका केटा–केटीका अभिभावकहरुले नयाँ कानुनी आधार लिँदै एक अर्काको परिवार बिरुद्ध नै अपहरण, शरीर बन्धक तथा जबरजस्तकरणी लगायतका मुद्दा दर्ता गराउन खोजेपछि प्रहरी प्रशासनले समेत तनाव झेल्नु पर्ने परिस्थिती उत्पन्न हुने गरेको उनको भनाई छ । 

प्रतिकृया दिनुहोस