News Category 2076/08/26

राजविराजमा अनलाइन प्रणालीबाट भत्ता बितरण गरिँदै 

दैनिक समाचारदाता

राजविराजमा अनलाइन प्रणालीबाट भत्ता बितरण गरिँदै 

नवीनकुमार गुप्ता
राजविराज, २६ मंसिर । 
    राजविराज नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बितरण कार्यलाई चुस्तदुरुस्त गर्ने उद्देश्यले अनलाइन प्रणालीबाट बितरणको सुरुवात गरेको छ । 
    चालु आ.ब. २०७६÷७७ को साउनदेखी कात्तिक महिनासम्मको प्रथम चौमासिक भत्ता वापतको रकम राजविराज नगरपालिकाले यसरी बैंक मार्फत अनलाइन प्रणालीबाट बितरण गरेको हो । यसअघि सो भत्ता वडा सचिव मार्फत नगदै बितरण गरिदै आइएको थियो । यसरी नगदै बितरण गर्दा कतिपय स्थानमा भ्रष्टचार समेत भएको देखिएको थियो ।
    राजविराज नगरपालिकाको १६ वटै वडाका ३ हजार ८ सय ८६ जनालाई सामाजिक सुरक्षा भत्ता बैंक मार्फत अनलाइन प्रणालीबाट बितरण भइरहेको सामाजिक विकास शाखाका सहायक प्रमुख अजय साहले जानकारी दिएका छन् । 
    शाखाका सहायक प्रमुख साहका अनुसार राजविराज नगरपालिकाको १६ वटै वडा मध्ये सबैभन्दा बढी वडा नं. १ का ४ सय ७९ जना तथा सबै भन्दा कम वडा नं. ३ का ८७ जनाले सामाजिक सुरक्षा भत्ता पाइरहेका छन् । 
    उनले ती सबै व्यक्तिहरुले विभिन्न बैंकमार्फत सो भत्ता लिन सक्ने प्रावधान मिलाइएको र सो कार्यको राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागले निगरानी समेत गरिरहेको जानकारी दिए ।
    सरकारले सामाजिक सुरक्षा भत्ता अन्तरगत जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित, एकल महिला, विधवा, लोकोन्मूख आदिवासी र जनजाती, पूर्ण अपाङ्ग र अति असशक्त अपाङ्गता भएकाहरुलाई भत्ता स्वरुपको रकम प्रदान गर्दै आइरहेको हो ।  
    राजविराज नगरपालिकाको १६ वटै वडामा गरि लोपोन्मूख आदिवासी र जनजाती शिर्षक मध्ये वडा नं. २ मा मात्र बसोवास गर्ने पत्थरकट्टा जातीका जम्मा १० जनाले सामाजिक सुरक्षा भत्ता पाइरहेका छन् । 
    सरकारले भत्ताका लागि वर्गिकरण गरेको मध्येबाट लोपोन्मूख आदिवासी र जनजातीका लागि प्रति महिना ३ हजारको दरले चौमासिक रुपमा १२ हजार रुँपैया भत्ता प्रदान गरिरहेको छ । यस्तै १६ वटै वडामा १ सय ५७ जना पूर्ण अपाङ्ग र १ सय जना अति असशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता भत्ता उपलब्ध भइरहेको शाखाका सहायक प्रमुख साहले बताए । 
    जस अन्तरगत ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई २ हजार र एक हजार उपचार खर्च गरि प्रति महिना ३ हजारको दरले एकमुष्ट १२ हजार चौमासिक बैंक मार्फत प्रदान गर्ने गरिएको छ । त्यस्तै जेष्ठ नागरिक दलितलाई भने ६० वर्ष पुगेपश्चात् २ हजार प्रति महिनाको दरले एकमुष्ट ८ हजार रकम चौमासिक रुपमा पाउदैछन् । 
    यसैगरि ६० वर्ष र सम्बन्ध विच्छेद गरेका एकल महिलाको हकमा सरकारले २ हजार प्रति महिनाको चौमासिक ८ हजार प्रदान गर्दैछ । त्यस्तै विधवाको हकमा सरकारले २ हजार प्रति महिनाको दरले ८ हजार, पूर्ण अपाङ्गलाई ३ हजारको प्रति महिनाको दरले १२ हजार तथा अति असशक्त अपाङ्गको हकमा १ हजार ६ सय प्रति महिनाको दरले ६ हजार ४ सय भत्ता प्रदान गरिदैछ । 
    यता वडा नं. २ का १ सय ४४ जना, वडा नं. ४ का १ सय ६८ जना, वडा नं. ५ का १ सय ९ जना, वडा नं. ६ का २ सय ७० जना, वडा नं. ७ का २ सय ६४ जना र वडा नं. ८ का १ सय ११ जनाले सामाजिक सुरक्षा भत्ता पाइरहेको उनले बताए । 
    त्यस्तै वडा नं. ९ का ४ सय २, वडा नं. १० का ३ सय ८६ जना, वडा नं. ११ का २ सय ६२ जना, वडा नं. १२ का २ सय ६९ जना, वडा नं. १३ का ३ सय २ जना, वडा नं. १४ का १ सय ८३ जना, वडा नं. १५ का २ सय ५ जना र वडा नं. १६ का २ सय ४५ जनाले भत्ता प्राप्त गरिरहेको उनले जानकारी दिए । 
    राजविराज नगरपालिका वडा नं. १ देखी ८ सम्मका व्यक्तिले राष्ट्रिय बाणिज्य बैंक, ९ र १० वडाका व्यक्तिले एसबिआई बैंक, ११ र १६ वडाका सनराइज बैंक, १२, १३ र १५ नं. वडाका सेन्चुरी बैंक तथा १४ नं. वडाका व्यक्तिले सानिमा बैंक मार्फत सो भत्ता वापतको रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । 

प्रतिकृया दिनुहोस