News Category 2076/09/20

“पुनः सहोदर दाजुभाई प्रतिस्पर्धी बने” चार सीटका लागि ८ को उम्मेदवारी

दैनिक समाचारदाता

“पुनः सहोदर दाजुभाई प्रतिस्पर्धी बने” चार सीटका लागि ८ को उम्मेदवारी

दैनिक समाचारदाता
राजविराज, २० पुस । 
    आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार प्रदेश २ बाट ४ सीटमा ८ जनाको मनोनयन परेको छ । राष्ट्रियसभामा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने ८ जनामध्ये ४ जनाको कार्यकाल सकिन लागेकाले ती पदमा निर्वाचन हुन लागेको हो ।
    यस निर्वाचनका लागि राजपा र नेकपा तथा समाजवादी पार्टी र नेपाली काँग्रेसले चुनावी तालमेल गरेको छ । 
    यस निर्वाचनमा अहिले सबैभन्दा बढी रोचक विषय बनेको राजपाबाट उम्मेदवारी दर्ता गराएका सप्तरीको बोदेबसाईन नगरपालिका ५ निवासी मृगेन्द्र कुमार सिंह यादव तथा समाजवादी पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका अनिरुद्ध प्रसाद सिंह यादवबीचको प्रतिष्पर्धा । दुबै जना सहोदर दाजुभाई हुन् । 
    सहोदर दाजुभाईका बीच यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा पनि भिडन्त भएको थियो । त्यसतिबेला दाजु मृगेन्द्र तत्कालिन मधेशी जनअधिकारी फोरम (लोकतान्त्रिक) बाट र भाई अनिरुद्ध मधेशी जनअधिकार फोरमबाट उम्मेदवार बनेका थिए । 
    भाई अनिरुद्ध भन्दा बढी मत ल्याउन मृगेन्द्र सफल भएपनि काँग्रेसका उम्मेदवार सुरेन्द्र यादवसँग झिनो मतले पराजित भएका थिए । 
    त्यसको ठीक ६ वर्ष पछि एक पल्ट फेरी चुनावी मौदानमा दाजुभाई आमने सामने भएका छन् । यस पटक मृगेन्द्र राजपाका तर्फबाट र उनका भाई अनिरुद्ध समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनि फेरी आमुने सामुने भएका हुन् ।
    राजपा नेपालले राष्ट्रिय सभामा दुई सीटका लागि नेकपासँग सहकार्य गरेपछि सो पार्टीका तर्फबाट उम्मेदवार बनेका मृगेन्द्र र अर्का उम्मेदवार शेखर सिंहको जित लगभग सुनिश्चित ठानिएको छ । तर, समाजवादी पार्टीले पनि काँग्रेससँग सहकार्य गर्दै उम्मेदवारी दिएकाले तथा केही मत क्रस भोटिङ हुन सक्ने प्रवल सम्भावना रहेकाले समाजवादी पार्टीका उम्मेदवार अनिरुद्ध र अर्का उम्मेदवार रामपृत पासवानलाई पनि कमजोर ठान्न नमिल्ने एकथरीको भनाई छ । 
    प्रदेश २ मा १ सय ३६ स्थानिय तह छन् । जसका प्रमुख उपप्रमुख गरि २ सय ७२ तथा प्रदेश सभा सदस्य १ सय ७ गरि कुल ३ सय ७९ मतदाता छन् । जसमध्ये राजपा–नेकपा गठबन्धनको प्रदेश सभा तर्फ ५७ र स्थानिय तहतर्फ १ सय २७ मत गरि १ सय ८४ मत रहेको छ भने समाजवादी–काँग्रेस गठबन्धनको प्रदेश सभा तर्फ ४९ र स्थानिय तहतर्फ १ सय ३३ मत गरि १ सय ८२ मत रहेको छ । यस्तै नेपाली जनता दलको २ र संघीय समाजवादी पार्टीको एक मत रहेको छ ।  
    यता प्रदेश २ मा राष्ट्रियसभाको महिला सदस्य १ दलित सदस्य १, अल्पसंख्यक १ र अन्य खुल्ला सदस्य १ पदका लागि निर्वाचन हुँदैछ ।
    नेकपा र राजपाको गठबन्धनबाट अल्पसंख्यकबाट शेखरकुमार सिंहले उम्मेदबारी दिएका छन् ।  यो गठबन्धनबाट महिला सदस्यमा पदमा नेकपाकी तुलसा दाहालले उम्मेदवारी दिएकी छन् । दलित सदस्य पदमा राधेश्याम पासवानले यो गठबन्धनबाट उम्मेदबारी दिएका छन् । अन्य खुल्ला सदस्यमा गठबन्धनबाट मृगेन्द्र कुमार सिंह यादवले उम्मेदवारी दिएका छन् । 
    त्यस्तै कांग्रेस–समाजवादी गठबन्धनबाट अल्पसंख्यक पदमा कांग्रेसका भोला पञ्जियारको उम्मेदवारी परेको छ । महिला सदस्य पदमा कांग्रेसकै नगीना यादवको उम्मेदवारी परेको छ । दलित सदस्य पदमा समाजवादी पार्टीका रामप्रित पासवानको उम्मेदवारी परेको छ । उनी यसअघि पनि यही पार्टीबाट राष्ट्रियसभा सदस्य भइसकेका छन् । खुल्ला अन्य पदमा समाजवादी पार्टीका अनिरुद्व यादवले उम्मेदवारी दर्ता गराएका छन् । 
    राष्ट्रियसभाका १९ सांसदको २ वर्षे कार्यकाल फागुन २१ मा सकिदैछ । संविधान अनुसार सदस्य पद रिक्त हुनु भन्दा ३५ दिन अघि निर्वाचन भइसक्नु पर्छ । सोही व्यवस्था अनुसार माघ ९ मा निर्वाचन हुन लागेको हो । 

प्रतिकृया दिनुहोस