News Category 2071/02/10

भाडावालहरु शुद्ध खानेपानी, बिजुली बत्ति, चर्पी लगायतका सुविधाबाट बञ्चित

दैनिक समाचारदाता

अमिर नारायण यादव
राजविराज, ९ जेठ । 
राजविराज नगरपालिकाले आफ्नै स्वामित्वमा निर्माण गरेको गिलेशन भाडामा लगाई लाखौ रकम असुल उपर गरिरहे पनि उक्त भाडावालहरुलाई शुद्ध खानेपानी, चर्पी लगायत अतिआवश्यक सुविधा दिने व्यवस्था गर्न सकिरहेको छैन ।
लाखौं रकम वाहालबाट उठाएपनि सोही रकमबाट शौचालय, खानेपानी व्यवस्थापन गर्न नसक्नुले नगरपालिकामाथी आफैमा थप प्रश्न उठेको छ । नगरपालिकाको स्वामित्वमा दुई वर्ष पहिला कार्यालयको दक्षिण पट्टी निर्माण भएको सटर वाहालमा दिए पनि उक्त घर प्रयोगकर्तालाई कार्यालयले हालसम्म खानेपानी, बिजुली, चर्पी समेत उपलब्ध गराउन सकिराखेको छैन् ।
दुई वर्ष अघि मात्र निर्माण भएको उक्त भवनको पर्खाल ठाऊ ठाऊमा चर्कन थालेको छ । त्यसैगरि तीन दशक अघि निर्माण भएको लेखनाथ पुस्तकालयसँग जोडिएको गिलेशनको अवस्था पनि त्यस भन्दा पनि जरजर रहेको छ । ती गिलेशनहरु मर्मतको अभावमा खण्डहरमा परिणत हुँदै गएको छ भने भौतिक सम्पूर्ण सुविधाबाट समेत बञ्चित भएको छ । त्यसतर्फ राजविराज नगरपालिको ध्यान जान सकेको छैन् । 
यस्तै सडक पेटीमा व्यवसायी गर्दै आएका फुटपाथ पसल, कटघारा लगायतका सामग्रीहरु नगरपालिकाको हटाउने कार्य हाल लथालिङ्ग अवस्थामा रहेको छ । ती पसलहरु हटाए पनि पुनः उनीहरु सोही स्थानमा बस्न थालेका छन् । केही मात्रामा उक्त छाप्रो हटाएपनि केही ठाउँमा त्यसै छाडिएको छ । त्यसमा राजविराज नगरपालिकाको आफ्नै स्वार्थ हुन सक्ने स्थानीयहरु बताउँछन् । 
अर्काले गरी खाने झुप्रो हटाउने अनि आफ्नो कार्यालय भित्र कर्मचारीहरुलाई टहरा बनाई राख्ने यो कार्यप्रति नगरपालिकासँग कसले जवाफ माग्ने ? नगरपालिकाको वरिपरि निर्माण भएको लगभग ३० वटा गिलेशन प्रयोगकर्ताले दिशा, पिसाब गर्न अत्यन्त कठिनाइ भइरहेको सोही गिलेशन प्रयोगकर्ता रामनारायण ठाकुरले जानकारी दिनुभयो । 
सो स्थानमा एउटा पनि शौचालय रहेको छैन् भने खानेपानी, विजुलीबत्ती लगायतको सुविधा समेतबाट बञ्चित भइरहेका छन् त्यहाका सेवाग्रहीहरु । उनीहरु लगायत राजविराज कामको लागी आउने मानिसहरु समेत खुल्ला दिशापिसाब गर्न बाध्य बनेका छन् ।
यता राजविराज नगरपालिकाका कार्यकारी अधिकृत बिष्णु प्रसाद गुरुङ्गले नगरपालिकालाई व्यवस्थित गर्न लागिपरेको हुँदा यी समस्याहरुलाई पनि क्रमगत तरिकाले सुधार गर्दै जाने बताउनुभयो ।  
धार्मिक स्थलको रुपमा रहेको भगवती मन्दिर पछाडी रहेको पोखरीको चारैतिर तथा रंगशालामा दिशा पिसाब गर्न उनीहरु बाध्य छन् । तसर्थ यस्ता कुराहरुलाई नगरपालिकाले गम्भिरता पूर्वक मनन् गरि तत्कालै सुधार्न लाग्नुपर्छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट