News Category 2077/11/29

१८ केजिको वारबेल उचालेर मन्त्री साहद्वारा  भारोत्तोलन प्रतियोगिताको उद्घाटन

दैनिक समाचारदाता

१८ केजिको वारबेल उचालेर मन्त्री साहद्वारा  भारोत्तोलन प्रतियोगिताको उद्घाटन

दैनिक समाचारदाता
राजविराज, २९ फागुन । 
    प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले १८ केजिको वारबेल (भार) उचालेर प्रथम देवसुन्दर राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगिताको शनिबार उद्घाटन गरेका छन् । 
    जिल्ला भारोत्तोलन संघ सप्तरीको आयोजनामा शनिबारदेखी राजविराजमा सुरु भएको उक्त प्रतियोगिताको उदघाटन गर्दै मन्त्री साहले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले प्रदेशमा खेलकुदको विकास, बिस्तार, प्रवद्र्धन, संचालन र व्यवस्थापनका लागि आफूहरु लागिपरेको उल्लेख गरे । 
    उक्त उद्घाटन कार्यक्रममा नेपाल भारोत्तोलन संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठले भारोत्तोलन खेल राज्यको उदासिनताका कारण छाँयामा परेको भन्दै यसतर्फ राज्यले उचित ध्यान दिनुपर्नेमा जोड दिए । मुलुकका लागि सर्वाधिक पदक ल्याउने खेल मध्येका एक भारोत्तोलन खेल भएकोले यसप्रति राज्य गम्भिर हुनुपर्ने उनको भनाई थियो ।  
    भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवले सप्तरी भारोत्तोलन खेलको उर्वभरभूमी समेत भएको बताउँदै यस प्रतियोगिताको माध्यमबाट थप राम्रा प्रतिभा निस्किने विश्वास व्यक्त गरे । 
    संघका अध्यक्ष महेश प्रसाद यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा संघका वरिष्ठ उपाध्यक्ष पार्थोसार्थ सेन गुप्ता, महासचिव तिलक राउत, सल्लाहकार सूर्यनाथ यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, काठमाडौं भारोत्तलन संघका अध्यक्ष बिजेन्द्र बिक्रम शाह, जिल्ला खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख दिनेश भुजेल लगायतले पनि शुभकामना दिएका थिए । 
    उद्घाटनका अवसरमा अन्तराष्ट्रिय पदकधारी खेलाडी समेत रहेका अशोक फिटनेश कम्पनीका संचालक अशोक शाहीले विभिन्न जिल्लाका खेलाडीलाई ५० हजार मुल्य बराबरको खेल सामाग्रि निशुल्क उपलब्ध गराएका थिए । 
    जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा सुरु भएको उक्त प्रतियोगितामा सात वटै प्रदेशका साथै सेना, सशस्त्र र नेपाल प्रहरीका गरि १ सय २० महिला र पुरुष खेलाडीको सहभागिता रहेको संघका सचिव गोपाल प्रसाद गुप्ताले जानकारी दिए । प्रतियोगितामा विभिन्न तौल समूहमा महिलातर्फ १७ र पुरुषतर्फ १८ खेलमा प्रतिस्पर्धा हुदैछ ।
    दुई दिनसम्म चल्ने प्रतियोगितामा बिजेतासँगै स्ट्रोङगेस्ट म्यान अफ द टुर्नामेन्ट, स्ट्रोङगेस्ट वुमेन अफ द टुर्नामेन्ट, सर्वोत्कृष्ट महिला र पुरुष तथा राइजिङ प्लेयर महिला र पुरुष खेलाडीको पनि छनोट गरि नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ । 
    सप्तरीका पुराना एवं पूर्व राष्ट्रिय भारोत्तोलन खेलाडी राजविराज निवासी ५२ वर्षिय देवसुन्दर यादवको २०७६ कात्र्तिक १४ गते निधन भएको थियो । उनकै स्मृती एवं सम्मनमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिएको आयोजक समितिले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट