News Category 2077/12/05

सडक निर्माण कार्यले गति लिन नसक्दा दुर्घटना निम्त्याउँदै 

दैनिक समाचारदाता

सडक निर्माण कार्यले गति लिन नसक्दा दुर्घटना निम्त्याउँदै 

दैनिक समाचारदाता
राजविराज, ५ चैत । 
    सप्तरीमा भइरहेको सडक निर्माण तथा मर्मत सम्भारको कार्यले गति लिन नसक्दा दुर्घटना निम्त्याउनुका साथै स्थानियहरुले सास्ती व्यहोर्नु परिरहेको छ । 
    सदरमुकाम राजविराज नगरपालिका क्षेत्रमा भईरहेको सडक तथा नाला निर्माणको काममा ठेकेदार कम्पनीको चरम लापरबाही देखिएको छ । 
    सडकमा सर्वसाधारणदेखि सवारीसाधनको आवगमनमा जोखिमसँगै दुर्घटनासमेत बढेको छ । जसले गर्दा पटक–पटक मालबाहक सवारीसाधन खनिएको सडकमा फँस्ने गरेकोमा बुधवार राती  एउटा मालबाहक ट्रक पल्टिएको छ । 
    ट्रक पल्टिदा कुनै किसिमको मानवीय क्षति नभएपनि सडकमा आवागमन अवरुद्ध हुनुका साथै झन समस्या भएको स्थानीय भागवत साहले गुनासो गरे ।
    राजविराज नगरपालिका वडा नम्बर २ तेतरीगाछी चौक सडक खण्डमा नाला निर्माणसँगै सडक निर्माण कामको ठेक्का दिवा निर्माण सेवाले पाएको छ । तर, नाला निर्माणको क्रममा ३ देखि ५ मिटरसम्म ठाउँ–ठाउँमा गहिरो खनेर होमपाईप हाल्ने काममा भईरहेको लापरबाहीले दुर्घटना बढाएको छ ।
    नाला निर्माणकोलागि खनिएको सडक र खानेपानीको पाईपसमेत फुटेर पानी सडकमै जम्ने गरेको छ । ठेकेदार कम्पनीले सडक र नाला निर्माण गर्दा एक साईडको सडक सुचारु राख्नुपर्ने तर, काम सुरु गरेर बिचमै छाड्ने प्रवृतिले गर्दा यस्ता समस्याहरु श्रृजना भएको स्थानीय नगरबासीको भनाई छ । ठेकेदार कम्पनीलाई यथासिघ्र नाला निर्माणसँगै सडक निर्माणको काम सक्नकालागि स्थानीयले दवाब दिएका छन् ।
    तर, ठेकेदारले कम्पनी दिवा निर्माण सेवाले चाँडै सडकमा आवतजावत सहज हुने गरी काम अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरेको छ ।
    यता राजविराज नगरपालिका वडा २ का अध्यक्ष अरुण यादवले आफू ठेकेदार कम्पनीलाई चाँडै काम सक्न र एकतर्फीरुपमा सडक सुचारु राख्न पटक–पटक भन्दै आएको बताए । नाला निर्माणको क्रममा खानेपानीको पाईप फुटेर झन समस्या हुँदा खानेपानी कार्यालयलाई मर्मत गर्न ताकेता गरिरहेको जानकारी दिए ।
    यस्तै राजविराजस्थित वडा नं. ८ मा पनि सडक निर्माण कार्यले गति लिन नसक्दा स्थानियहरुले सास्ती व्यहोर्नुका साथै स्वास्थ्यमा समेत असर पर्ने सम्भावना बढेको छ । सडक निर्माणको जिम्मा पाएका कान्छाराम कन्स्ट्रक्सनले निर्माण कार्यलाई बीचमै छोड्दा आवतजावतमा समस्या भएको छ । 
    नाला निर्माण कार्य सम्पन्न गरेपनि त्यसमाथी स्ल्याप नराखेकोले दुर्घटना हुन सक्ने सम्भावना रहेको छ । यता सडक अहिले धुलोमय भएको छ । हावाहुरीको समयमा सडकको धुलो स्थानियको घरमा पस्दा स्वास्थ्यमा असर पुग्ने गरेको स्थानियको भनाई छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट