News Category 2078/01/07

सप्तरीबाट बैदेशिक रोजगारीमा गएका २८ जनाले ज्यान गुमाए

दैनिक समाचारदाता

सप्तरीबाट बैदेशिक रोजगारीमा गएका २८ जनाले ज्यान गुमाए

दैनिक समाचारदाता
राजविराज, ७ बैशाख । 
    चालु आर्थिक वर्ष २०७७/७८ को हालसम्मको अवधीमा सप्तरीबाट बैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका मध्येबाट २८ जनाको ज्यान गएको छ । 
    सप्तरी समुदायिक विकास केन्द्र नेपालले मंगलबार पत्रकार महासंघको सभाकक्षमा आयोजना गरेको सुरक्षित बैदेशिक रोजगारीका लागि पत्रकारसँग अन्तरक्रिया तथा नवनिर्वाचित पदाधिकारीहरुको सम्मान कार्यक्रममा तथ्याङ्क प्रस्तुत गर्दै सो जानकारी दिएको हो । 
    जिल्लामा सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन भइरहेको प्रयास र समग्र अवस्था समेटिएको प्रतिवेदन सार्वजनिक गर्दै सुरक्षित आप्रवासन परियोजना कार्यक्रमका संयोजक राजेन्द्र यादवले विभिन्न घटना र दुर्घटनामा परि उनीहरुको ज्यान गएको जानकारी दिए । जसमध्ये ७ जनाले आत्महत्या, ४ जनाको कोरोना र ४ जनाको सवारी दुर्घटनामा तथा बाँकी अन्यको विभिन्न घटनामा मृत्यु भएको हो जनाइएको छ । 
    यस्तै आर्थिक वर्ष २०६५/०६६ देखी हालसम्म १२ वर्षे अवधीमा जिल्लाबाट रोजगारीका लागि ४ सय ५३ महिला र १ लाख १४ हजार ४६ पुरुष विभिन्न मुलुक गएको उनले बताए ।
    यस्तै चालु आ.ब. २०७७/७८ मा बैदेशिक रोजगारीमा जाने १ सय २३ जनालाई सीप र ३७ हजार २ सय ३६ जनालाई परामर्शका साथै एजेन्ट र विभिन्न म्यानपावर कम्पनीबाट ठगिएका दर्जनौं व्यक्तिलाई गरि १४ करोड रुँपैया क्षतिपूर्ति दिलाउन सफल भएको उनको भनाई छ । 
    तथ्याङ्क प्रस्तुतीकरण अघि संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले नेपाल पत्रकार महासंघ सप्तरी शाखाका नवनिर्वाचित अध्यक्ष श्रवणकुमार देवलगायत अन्य पदाधिकारी तथा प्रदेश २ का मिडिया काउन्सीलका अध्यक्ष शिवहरिप्रसाद भट्टराई र प्रदेश २ कै आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवललाई सम्मान गरेका थिए । 
    सम्मान कार्यक्रमपश्चात् आयोजित कार्यक्रममा बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन आफूहरुले पनि सक्दो सहयोग गर्ने संचारकर्मीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । 
    पत्रकार महासंघ सप्तरीका नवनिर्वाचित अध्यक्ष श्रवण देवले सीप हासिल नगरेर बैदेशिक रोजगारीमा नजान आग्रह गर्दै संचारकर्मीहरु पनि सरोकारवालासँग काँधमा काँध मिलाएर जनचेताका साथै सचेतना कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
    प्रदेश २ मिडिया काउन्सीलका अध्यक्ष शिवहरी भट्टराइले बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउन कार्यरत संस्थासँग संचारकर्मीहरु मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।
    प्रदेश २ आमसंचार प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर यादवले स्वदेशमै रोजगारी प्रदान गर्ने वातावरण मिलाउनु पर्नेमा जोड दिँदै विदेश जानै पर्ने भए सही सूचना र सीप सिकेर जानु पर्ने बताए । यसका लागि संचेतना फैलाउने काममा संचारकर्मीहरुले पनि सहयोग गर्ने उनको प्रतिबद्धता थियो । 
    संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षता तथा सामी हेल्भेटासका कार्यक्रम अधिकृत रामप्रमेश मण्डलले प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा पत्रकार महासंघका सचिव रामनारायण विश्वास लगायतले पनि बोल्दै बैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन आ–आफ्नो स्तरबाट सक्रिय भूमिका निवाह गर्ने प्रतिबद्धता जनाएका थिए । 
    संस्थाले सुरक्षित बैदेशिक रोजगारका लागि जिल्लाको राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका र राजगढ गाउँपालिकामा गरि चार स्थानिय तहमा सुरक्षित आप्रवसन परियोजना (सामी) संचालन गरि सीप, परामर्श र सचेतना लगायतको कार्यक्रम संचालन गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट