News Category 2078/07/13

कक्षा ९ देखी १२ सम्म सहकारी शिक्षा पढाउने तयारी 

दैनिक समाचारदाता

कक्षा ९ देखी १२ सम्म सहकारी शिक्षा पढाउने तयारी 

दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
    राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सरकारले कक्षा ९, १०, ११ र १२ को पाठ्यक्रममा सहकारी शिक्षा समावेश गरि पढाउने तयारी भइरहेको जानकारी दिएकी छिन् । 
    जनज्योति कृषि सहकारी संस्था लि. राजविराज ९ मलेठको शनिबार १० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सो जानकारी दिएकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सरकारको निर्णयलाई शिक्षा मन्त्रालयले चाडै नै कार्यान्वयनमा ल्याउने तयारी गरिरहेकोले कक्षा ९, १०, ११ र १२ मा मात्र नभएर त्रिभुवन विश्वविद्यालयले पनि स्नाकोत्तर तहमा सहकारी विषयको पढाई गराउनेमा जुटेको बताइन् । 
    सहकारी क्षेत्रमा भइरहेको विकासप्रति चासो व्यक्त गर्दै उनले प्रदेश २ मा हालसम्म पनि सहकारी ऐन नबनेकाले चिन्ता समेत व्यक्त गरिन । एक सदस्य एक सहकारीको सदस्य मात्र बन्न पाउने प्रावधान चाडै नै लागु हुने बताउँदै वरिष्ठ उपाध्यक्ष मल्लले सहकारी एउटा पाटीको नभएर जनताको हो भन्ने सबैले बुझ्नु जरुरी रहेको भनिन् ।
    मुलुकभरमा ७३ लाख ७ हजार व्यक्ति सहकारी सदस्य रहेकोमा ५६ प्रतिशत महिला नै रहेकोमा सहकारीमा महिलाको प्रतिनिधित्व पुरुष भन्दा बढी रहेकाले महिलाहरु सहकारीप्रति बढी सकारात्मक रहेको सन्देश प्रवाह भएको बताईन् । 
    “विश्वको १२ प्रतिशत जनसंख्या सहकारीका सदस्य छन्, जसमा १० प्रतिशत जनता सहकारीमै रोजगार पाएका छन् ।” उनले भनिन्, “सहकारी विश्वमा यूएनपछिको दोश्रो सबै भन्दा ठूलो संस्था हो, जसमा महिलाहरु नै बढी सदस्य छन् ।” 
    वरिष्ठ उपाध्यक्ष मल्लले सप्तरीलाई कार्य क्षेत्र बनाएर जनज्योतीले गरिरहेको कार्य प्रशंसायोग्य रहेको भन्दै आगामी दिनका लागि संस्थाले ल्याएको रणनीतिक व्यवसायीक योजनाले सफलता पाउने विश्वास व्यक्त गरिन् । 
    सो कार्यक्रममा राष्ट्रिय सहकारी बैंक राजविराजका शाखा प्रबन्धक चन्द्रमणि भट्टराइले सहकारी संस्थाका सदस्यहरुलाई आगामी दिनमा बैंकले फण्ड ट्रान्सफर बैंकिङ सुविधान ल्याउन लागेको जानकारी दिए । उनले यस सुविधाबाट कुनै पनि सहकारी सदस्यले अन्य सहकारीका सदस्यको खातामा रकम ट्रान्सफर गर्न मिल्ने बताए । 
    यस्तै कार्यक्रममा राजविराज वडा नं. ९ का अध्यक्ष शम्भुप्रसाद यादवले जनज्योति कृषि सहकारी संस्थाले वडाको मात्र नभएर जिल्लाकै सहकारी क्षेत्रको विकासमा पुर्‍याएको योगदान वडावासीका लागि गौरान्विक रहेकोमा प्रशंसा गरे । उनले वडावासीलाई बिजुली, टेलिफोन बिल, बिदेशबाट आएको रकम लगायत अन्य बैंकिङ कारोबार संस्थाबाटै गरिरहेकाले सजिलो भएको बताए । 
    संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा उनले अध्यक्षिय प्रतिवेदनसँगै संस्थाको चार वर्षे रणनीतिक व्यवसायी योजना प्रस्तुत गरेका थिए । 
    प्रस्तुत गरिएको प्रतिवेदनमा संस्थाले आगामी आ.ब. २०८१/८२ सम्ममा शेयर पुजी बढाएर ५ करोड २३ हजार १ सय रुँपैया पुर्‍याउने लक्ष्य लिइएको छ । यस्तै आ.ब. २०७७/७८ मा संस्थाको शेयर सदस्य २ हजार ८९ जना रहेकोमा त्यस वापत शेयर पुँजी २ करोड ३० लाख २३ हजार १ सय तथा निक्षेप संकलन ५ करोड ७६ लाख ९४ हजार ४ सय ४६ रुँपैया ५३ पैसा र कर्जा लगानी १३ करोड ६४ लाख ६५ हजार ६ सय ८७ रुँपैया ७६ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट