News Category 2078/09/13

वडा अध्यक्षहरुले नगरपालिकाको सबै वडा कार्यालयमा गरे तालाबन्दी

दैनिक समाचारदाता

वडा अध्यक्षहरुले नगरपालिकाको सबै वडा कार्यालयमा गरे तालाबन्दी

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 
    आफ्नो नेता कार्यकर्तामाथी आक्रमण गर्ने एक वडा अध्यक्षमाथी कारवाही गर्न माग गर्दै जनमत पार्टीले सुरु गरेको सडक अन्दोलनलाई लक्षित गर्दै वडा अध्यक्षहरु पनि आन्दोलनमा उत्रेका छन् । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष मोहि यादवको नेतृत्वमा एक टोलीले गत शनिबार आफ्ना नेता कार्यकर्तामाथी आक्रमण र कार्यक्रम स्थलमा तोडफोड गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले आइतबारदेखी सडक आन्दोलनमा छन् । 
    यता मंगलबार उक्त नगरपालिकाका सबै १४ वटै वडाका वडा अध्यक्षले आ–आफ्नो वडा कार्यालयमा तालाबन्दी गरि सोको साँचो नगर प्रमुख शैलेश प्रसाद साहलाई बुझाएका छन् । उनीहरुले नगर प्रमुख साहलाई एक ज्ञापनपत्र समेत बुझाउँदै उक्त घटनामा जनमत पार्टीका कार्यकर्ता दोषि रहेकाले कारवाहीका लागि पहल गर्न माग गरेका छन् । 
    जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति र पत्रकार महासंघ सप्तरीलाई बोदार्थसमेत दिइएको उक्त ज्ञापनपत्रमा गत शनिबार आयोजित जनमत पार्टीको कोणसभाका क्रममा वडा नं ११ वडा अध्यक्ष मोही यादवलाई गालिगलौज गरेको तथा वडा नं. १० वडा अध्यक्ष श्रवण मण्डलको घरमै पसि उनीमाथी हातपात गरेको उल्लेख गरेका छन् । 
    यसबारे प्रहरीमा उजुरी दिँदा पनि हालसम्म कुनै कारवाही नभएकाले बाध्य भई वडा कार्यालयहरुमा तालाबन्दी गरिएको र तत्काल कारवाही नगरिए बुधबार हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालयमा समेत तालाबन्दी गरि आन्दोलन चर्काउने विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।   
    यता जनमत पार्टीका जिल्ला सचिव थानेश्वर साहले वडा अध्यक्षको आन्दोलनले आफू चकित परेको बताए । उनले वडा अध्यक्षको आन्दोलनलाई नौंटंकी संज्ञा दिँदै भने, “हाम्रो नेता कार्यकर्तामाथी आक्रमण गर्ने र पक्राउ पर्ने डरले उल्टै आन्दोलनको नाटक गर्ने काम मात्र हो ।”
    आन्दोलनकै क्रममा जनमत पार्टीका नेता कार्यकर्ता सम्मिलित एक जुलुस मंगलबार प्रहरी चौकी हनुमाननगर पुगि दोषिलाई कारवाही गर्न माग गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट