News Category 2079/03/30

किर्ते गरि जग्गा खरीद बिक्रि गर्ने कार्यमा संलग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई कैद

दैनिक समाचारदाता

किर्ते गरि जग्गा खरीद बिक्रि गर्ने कार्यमा संलग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई कैद

दैनिक समाचारदाता
राजविराज, ३० असार । 
    राजविराज नगरपालिका ७ को करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी खरीद बिक्री गर्ने कार्यमा सलंग्न मालपोतका दुई कर्मचारीसहित पाँच जनालाई जिल्ला अदालत सप्तरीले कैद सजायको फैसला सुनाएको छ । 
    जग्गाधनी काम विशेषले विदेशमा रहेका बेला उनलाई जानकारी नै नदिइ जग्गा खरीद बिक्री कार्यक्रमा संलग्न मालपोत कार्यालय सप्तरीका नायबसुब्बा राजविराज ५ निवासी सीताराम चौधरी र कार्यालय सहायक राजविराज ९ का हरिनारायण शर्मालाई बुधबार ६÷६ वर्ष कैद सजाय भएको हो ।
    सप्तरी जिल्ला अदालतका न्यायधिश इश्वरमणि ओझाको इजलासले उक्त फैसला गरेको श्रेस्तेदार कुमार मास्केले जानकारी दिएका छन् । 
    अर्का कर्मचारी सुनसरी दुहबी ४ का उद्धव खतिवडाको कारागारमै मृत्यु भएकाले उनको हकमा मुद्दा खारेज भएको छ । कीर्ते जालसाजी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका ५८ वर्षीय नायबसुब्बा खतिवडा २०७८ पुस २ गते कारागारमा बिरामी परेका थिए । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । उनी २०७५ साउनदेखि नै पुर्पक्षका लागि राजविराज कारागारमा बन्दी जिवन बिताइरहेका थिए । 
    खतिवडासँगै थुनामा रहेका चौधरी र अर्का कर्मचारी हरिनारायण शर्माको कैद अवधि अझै दुई वर्ष बाँकी छ । फरार रहेका शर्मा अदालतमा हाजिर भएपछि २०७५ कात्तिक १३ गतेदेखि थुनामा छन् । 
    यसैगरी जग्गा खरिद बिक्रीमा संलग्न राजविराज ७ गजेन्द्र चोककी देवरानीदेवी दास र डाक्नेश्वरी नगरपालिका ८ घर भई हाल राजविराज ७ मा बसोवास गर्दै आएकी घुरनीदेवी साहलाई चार वर्ष कैद सजाय भएको छ । दास र साहलाई कीर्ते गरेकामा एक वर्ष र ठगी गरेकामा तीन वर्ष गरी चार वर्ष कैद सजाय भएको अदालतले जनाएको छ ।
    कीर्ते गरेकामा एक वर्ष, कर्मचारी भएकाले थप दुई वर्ष तथा ठगी गरेकामा तीन वर्ष गरी ६÷६ वर्ष कैद सजाय भएको श्रेस्तेदार मास्केले जानकारी दिए । 
    यस्तै २०७५ असार १९ गते पक्राउ परी साउन १७ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका राजविराज ११ का ७८ वर्षीय फुदन साहको कैद सजाय अवधि चार वर्ष पूरा भएको छ । कैद सजाय भुक्तान भएकाले उनी रिहा भएका छन् । उनका छोरा शंकर साह तेली र शर्माका नातेदार उपेन्द्र शर्मा हालसम्म फरार रहेका छन् ।
    उनीहरूले राजविराज नगरपालिका ७ की ६९ वर्षीया उषा अर्यालको करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा बिक्री गरेका थिए । काम विशेषले अमेरिकामा गएकी अर्याललाई थाहै नदिई उनीहरुको संलग्नतामा अर्यालको जग्गा बिक्री गरिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट