News Category 2079/04/13

एक वर्षको अवधीमा १ सय ४ वटा आत्महत्याका घटना

दैनिक समाचारदाता

एक वर्षको अवधीमा १ सय ४ वटा आत्महत्याका घटना

दैनिक समाचारदाता
राजविराज, १३ साउन । 
    सप्तरीमा आत्महत्याको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । यस जिल्लामा एक वर्षको अवधीमा १ सय ४ वटा आत्महत्याका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार गरेको पत्रकार सम्मेलनमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।  
    आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक अविनारायण काफ्लेले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सोही अवधीमा जिल्लामा विभिन्न अपराधका ८ सय ३० घटना दर्ता भएको जानकारी दिए । 
    उनले अभद्र व्यवहारका सर्वाधिक १ सय ६२ मुद्दा दर्ता भएको जानकारी दिँदै भवितब्य ज्यानका १ सय ७ र लागुऔषधका १ सय ५ वटा मुद्दा दर्ता भएको उल्लेख गरे । 
    यस्तै ज्यान मार्ने उद्योगका ३८, सवारी ज्यानका ६९, चोरीका ५१, कर्तव्य ज्यानका १४ र जबरजस्तीकरणीका २५ वटा घटना प्रहरीमा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा यसरी दर्ता भएका घटना मध्येका फरार अपराधीको संख्या भने ४ सय १७ रहेको प्रहरीद्वारा उपलब्ध गराइएको वार्षिक प्रतिवेदनले देखाएको छ । फरार रहेकाहरुको खोजि कार्य तिब्र बनाइएको प्रहरीले जनाएको छ ।
    सोही पत्रकार सम्मेलनमा फरार अभियुक्तमाथी कडा निगरानी र अनुसन्धान बढाएसँगै विभिन्न जघन्य अपराधका अभियुक्त पक्राउ पर्ने क्रम बढेको बताउँदै प्रहरी उपरिक्षक काफ्लेले सप्तरी प्रहरीले आर्थिक वर्ष २०७८÷७९ मा ४ सय ४ जना फरार अभियुक्तलाई पक्राउ गरेको तथ्याङ्क सार्वजनिक गरे । 
    ठूल्ठूला अपराध गरेर भाग्ने र लुकिछिपी बसेको अवस्थामा नेपाल प्रहरीले सुराकी र अनुसन्धानको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको उनले बताए । उनका अनुसार विगतमा ठूल्ठूला अपराध गरि विभिन्न ठाउँमा लुकेर बसेको अभियुक्त माथी प्रहरीले अपरेशन बढाएको छ । 
    फरार अभियुक्त पक्राउ गरि फैसला कार्यान्वयन गर्दा प्रहरीले राजश्व समेत बढाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा फरार अभियुक्तको जरिवानाबाट १० लाख ८९ हजार १ सय २६ रुँपैया राजश्व संकलन गरेको छ । यस्तै उनीहरुबाट १ सय ३ वर्ष ८ महिना २६ दिन कैद सजाय असुल भएको छ ।
    यस्तै प्रहरीले शुक्रबार नै राजविराजस्थित भगवती मन्दिर नजिकैबाट कर्तव्य ज्यानका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 
    यसअवधीमा लागु औषध मुद्दामा १ सय ४१ जना पक्राउ परेका छन् । यसले लागु औषधका दुव्र्यसनी र कारोवारीको संख्यामा बृद्धि भएको तथ्याङ्कले देखाएको छ । 
    यस्तै डिएसपी माधवप्रसाद काफ्लेले यस अवधीमा एक भारतीय नागरिकसहित तीनजनालाई पक्राउ गरि श्रोत नखुलेको १७ लाख १८ हजार रुँपैया जफत गरि भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए । 
    भन्सार छलि अवैध रुपमा भित्राइएको २ करोड ७१ लाख ३४ हजार ८९ रुँपैयाको विभिन्न अवैध मालसामानसहित ४० जना कारोवारीलाई पक्राउ गरि भन्सार कार्यालयमा बुझाइएको तथ्याङ्कले देखाएको छ । 
    जनशक्तिको अभावको बाबजुद शान्तिसुरक्षाका लागि भएको श्रोतसाधनको उच्चत्तम परिचालन गरि अपराध नियन्त्रणमा खटेको उल्लेख गर्दै वार्षिक प्रतिवेदनमा अपराध मुक्त र सुरक्षित समाज निर्माणका लागि आर्थिक वर्ष २०७८÷७९ मा महिला हिंसा सम्बन्धी १४, लागुऔषध सम्बन्धी २४, लौङ्गिक हिंसा सम्बन्धी २२, सरसफाई सम्बन्धी ४४, कोरोना बिरुद्धको ६५, जातिय छुवाछुत बिरुद्धका एक, ट्राफिक नियम पालनाका १५ र साइबर क्राइमका २ लगायतका गरि ६ सय २५ वटा सचेतना कार्यक्रम गरिएको र यसबाट ४ लाख ३३ हजार १ सय ४२ जना लाभान्वित भएको वार्षिक प्रतिवेदनमार्फत जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट