News Category 2079/05/22

सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस

दैनिक समाचारदाता

सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस

दैनिक समाचारदाता
राजविराज २२, भदौ । 

    आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सप्तरी जिल्ला मधेश केन्द्रित दलका केन्द्रिय अध्यक्षहरुको रोजाईमा परेको छ । 
    जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको रोजाई सप्तरी जिल्ला परेको हो । तीनै दलका अध्यक्षहरुको नाम उम्मेदवारीका लागि सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएको छ । 
    यता जसपाका अध्यक्ष उपेन्द्र यादवको नाम जिल्लाको ४ वटै प्रतिनिधीसभा क्षेत्रबाट उम्मेदवारका लागि सिफारिस गरिएको छ भने लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोको क्षेत्र नं.३ बाट उम्मेदवारीका लागि नाम सिफारिस भएको छ । 
    यसअघि जनमत पार्टीले अध्यक्ष सिके राउतलाई क्षेत्र नं. २ बाट उम्मेदवार बनाउने निर्णय समेत गरिसकेको छ । 
    यसरी मधेशवादी दलका प्रमुख नेताहरु यसै जिल्लाबाट सिफारिसमा परेपछी अहिले जिल्लामा राजनैतिक तरंग ल्याएको छ । तीनै दलका अध्यक्षहरुको नाम एउटै क्षेत्रबाट सिफारिसमा परेपछी झन चुनावी माहौल तताएको छ ।
    यस अघि क्षेत्र नं. २ बाट चुनाव जितेका जसपाका अध्यक्ष यादवको नाम जिल्लाको ४ वटै क्षेत्रबाट सिफारिस गरिए पनि उनी २ नम्बर क्षेत्रबाटै चुनाव लड्ने बलियो सम्भावना रहेको जसपाका जिल्ला अध्यक्ष केदार यादवले जानकारी दिएका छन् ।   
    सोही क्षेत्रबाट उम्मेदवारी घोषणा गरिसकेका जनमत पार्टीका अध्यक्ष डा.राउत एक महिना अघि देखी नै मत माग्न घरदैलो र चुनावी सभामा व्यस्त भएका छन् ।     एक महिना यता आफ्नो क्षेत्रमा आधा दर्जन चुनावी सभा गरिसकेका उनले यस पल्ट उक्त क्षेत्रमा जनमतले पकड बनाउने दावी गर्दै आएका छन् । 
    नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस लगायतका पार्टीले पनि प्रदेश र प्रतिनिधी सभाका लागि उम्मेदवारको नाम सिफारिस गरिसके पनि गठबन्धन भित्र चुनावी तालमेलको प्रयास चलिरहेको भन्दै आधिकारीक नाम सार्वजनिक गरेका छैनन । 
    यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि जिल्लाको सवै क्षेत्रबाट सम्भावित उम्मेदवारको नामावली तयार गरी सिफारिस गरिसकेको जनाउँदै सो वारे आधिकारीक जानकारी एक÷दूई दिन भित्रै गराइने जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट