News Category 2079/06/23

जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत आमनेसामने, पाँच दलीय गठबन्धनबाट लोसपा नेता ठाकुरको उम्मेदवारी

दैनिक समाचारदाता

जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत आमनेसामने, पाँच दलीय गठबन्धनबाट लोसपा नेता ठाकुरको उम्मेदवारी

दैनिक समाचारदाता
राजविराज, २३ असोज । 

    अगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आईतवार सप्तरी जिल्लामा विभिन्न राजनीतिक दलले उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका छन् ।
    सदरमुकाम राजविराज नगरपालिका समेत पर्ने क्षेत्र नं. २ बाट जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत तथा लोसपाका नेता जयप्रकाश ठाकुरसहित डेढ दर्जनभन्दा बढी उम्मेदवारले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन पत्र दर्ता गराएका छन् ।
    यस क्षेत्रमा जनमत पार्टीले कसैसँग गठबन्धन गरेको छैन भने जसपा अध्यक्ष यादव एमालेसँग गठबन्धन तथा ठाकुर काँग्रेस–माओवादी–लोसपा–एकिकृत समाजवादी गठबन्धनका तर्फबाट साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रेका हुन् । 
    यादव र ठाकुर उम्मेदवारी दर्ताका लागि आ–आफ्नो समर्थकसहित पुगेपनि राउत भने बाजागाजा र ठुलै समर्थकसहित मनोनयन पत्र दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । 


    यस क्षेत्रबाट राप्रपा नेपालको तर्फबाट हजरत अली, राप्रपाबाट कैला मंसुरी मियाँ, नेमकिपाबाट देवनारायण यादव, हाम्रो नेपाल पाटीबाट डम्बर नारायण साह, नेपाल राष्ट्र स्वतन्त्र पार्टीबाट बरुण झा लगायत आधा दर्जन स्वतन्त्र उम्मेदवारगरि १६ जनाले मनोनय पत्र दर्ता गराएका छन् ।


    यस्तै यस क्षेत्रको प्रदेशसभा सदस्य पदका लागि (क) बाट नेकपा–जसपा गठबन्धनका साझा उम्मेदवार मधेश प्रदेशका अर्थमन्त्रीसमेत रहेका शैलेन्द्र साह, काँग्रेस–माओवादी–लोसपा–एकिकृत समाजवादी गठबन्धनका तर्फबाट लोसपाका सरोज मण्डल लगायतले उम्मेदवारी दिएका छन् । 
    त्यस्तै राप्रपाका जयनारायण मण्डल, नेमकिपाबाट मिना देवी यादव र स्वतन्त्र धिरेन्द्र कुमार साह लगायत १७ जनाले उम्मेदवारी दिएका छन् । 


    यसै क्षेत्रको प्रदेशसभा (ख) बाट सदस्य पदका लागि एमाले–जसपा गठबन्धनबाट जसपका लक्ष्मण यादव, काँग्रेस–माओवादी–लोसपा–एकिकृत समाजवादी गठबन्धनबाट पूर्वमन्त्री माओवादीका उमेश यादव, जनमत पार्टीबाट महेश यादव लगायतले उम्मेदवारी दिएका छन् । 
    माओवादी केन्द्रका मधेश प्रदेश कमिटि सदस्य रहे पनि टिकट नपाएपछि महेश यादव एक दिनअघि मात्र जनमत पार्टीमा प्रवेश गर्दैै चुनावी मैदानमा होमिएका हुन् । 
    त्यस्तै यसै क्षेत्रबाट राप्रपाका फुलेन्द्र मण्डल, राप्रपा नेपालका फुदनलाल खंग र नेमकिपाका महिदेव प्रसाद चौधरी तथा स्वतन्त्रमा खेलानन्द दास लगायत १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
    यस्तै जिल्लाको १ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि एमाले–जसपा गठबन्धनबाट जसपाका नवलकिशोर साह, काँग्रेस–माओवादी–लोसपा–एकिकृत समाजवादी गठबन्धनबाट काँग्रेसका रामदेव साह र जनमत पार्टीका तर्फबाट चन्द्र नारायण यादवले मनोनय पत्र दर्ता गराएका छन् ।


    जिल्लाको ३ नम्बर क्षेत्रबाट एमाले–जसपा गठबन्धनको तर्फबाट एमालेका ताराकान्त चौधरी, काँग्रेस–माओवादी–लोसपा–एकिकृत समाजवादी गठबन्धनबाट काँग्रेसका दिनेश कुमार यादव र जनमत पार्टीबाट अनिस अन्सारीले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।


    यस्तै क्षेत्र नम्बर ४ बाट एमाले–जसपा गठबन्धनबाट जसपाका बालकिशोर यादव, काँग्रेस–माओवादी–लोसपा–एकिकृत समाजवादी गठबन्धनबाट काँग्रेसका तेजुलाल चौधरी र जनमत पार्टीका तर्फबाट सुकदेव साहले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य दलहरुबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष तर्फ कसैले पनि महिला उम्मेरलाई टिकट नदिदा महिला उम्मेदवारी शुन्य भएको छ ।
    जिल्ला निर्वाचन कार्याला प्रमुख रमेश कुमार जोशीले प्रदेश र प्रतिनिधिसभाका लागि जिल्लाको चार वटै क्षेत्रबाट दुई सय भन्दा बढीले मनोनयन पत्र दर्ता गरेको बताए । तथ्यांक सबै आई नसकेकाले संख्या अझै थपिने उनले बताए । साँझसम्म उम्मेदवारी दर्ताका लागि लाममा रहेकाले यकिन तथ्यांक दिन समय लाग्ने उनको भनाइ छ । 
    जिल्लामा प्रतिनिधिसभाका ४ र प्रदेश सभाका ८ गरी प्रत्यक्ष तर्फ १२ पदका लागि निर्वाचन हुदैछ । निर्वाचनका लागि जिल्लामा नयाँ थपिएको ९ हजार १ सय १४ सहित कुल ४ लाख १८ हजार ३ सय ७४ मतदाता छन् । यसमध्ये पुरुष २ लाख १७ हजार दुई सय ८२, महिला २ लाख १ हजार ७१ र अन्य २१ जना मतदाता छन् । निर्वाचनका लागि जिल्लामा कुल ५ सय ३६ मतदान केन्द्र तोकिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट