News Category 2079/07/18

सप्तरी क्षेत्र नं. २ मा तीन प्रभावशाली नेताबीच कडा प्रतिष्पर्धा

दैनिक समाचारदाता

सप्तरी क्षेत्र नं. २ मा तीन प्रभावशाली नेताबीच कडा प्रतिष्पर्धा

दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक । 

    मुलुककै सर्वाधिक चर्चामा रहेको सप्तरी क्षेत्र नं. २ मा अहिले चुनावी माहोल निकै तातिएको छ । यो क्षेत्रमा दुई राष्ट्रिय अध्यक्षसहित सत्तारुढ गठबन्धनका एक प्रभावशाली नेताबीच कडा टक्कर हुने देखिएको छ । 
    प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिदै जाँदा तीनै नेताहरु मत आ–आफ्नो पक्षमा पार्न दिनरात मतदाताको घरदैलोमा चुनावी प्रचारप्रसार सामाग्रि लिएर पुग्ने गरेका छन् । 
    यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा सत्तागठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुर, जसपा–एमाले गठबन्धनबाट जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतसहित १८ जना उम्मेदबार चुनावी मैदानमा छन् । तर मुख्य प्रतिस्पर्धा मुख्य दलका यीनै तिनजना बीच हुने अनुमान गरिएको छ ।
    सप्तरीमा प्रतिनिधिसभा तर्फ चार र प्रदेशसभा तर्फ ८ निर्वाचन क्षेत्र छ । ९५ हजार ३ सय ४४ मतदाता रहेको यस क्षेत्रबाट २०७४ को निर्वाचनमा तत्कालिन राजपा हालको लोसपाका साथै नेपाली काँग्रेस समेतको साथ पाएर उपेन्द्र यादवले चुनाव जितेका थिए । तर, यस पटक उपेन्द्रले ती दुबै पार्टीको साथ गुमाएको छ । अर्कोतिर अर्का प्रभावशाली नेता जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउतको उम्मेदवारीले पनि उनलाई चुनौती थपिएको छ ।
    यादव र राउत दुबै महादेवा गाउँपालिका वडा नं. २ का मतदाता हुन् । एउटै वडाका दुई प्रभावशाली नेताले एउटै निर्वाचन क्षेत्र रोजेपछि यहाँको चुनावी प्रतिस्पधा झन रोचक बनेको छ । 
    बिहान बेलुका चिया गफमा समेत ठाकुर, यादव र डा. राउत नै मुख्य विषय बनिरहेको छ । कतिपय मतदाताले जनमत पार्टीका अध्यक्ष डा. राउत र जसपा अध्यक्ष उपेन्द्र दुबै जना एउटै क्षेत्रबाट लड्न नहुने तर्क पनि राख्दै आएका छन् । 
    यहाँ सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुर र जनमत पार्टीका अध्यक्ष समेत रहेका डा.राउतको पनि अहिले बलियो उपस्थिती देखिन्छ । स्थानीयतह निर्वाचनको मत परिणालाई आधार मान्दा सत्तारुढ गठबन्धनका उम्मेदवार ठाकुर उपेन्द्र र डा.राउत भन्दा निकै बलियो देखिन्छ । 
    स्थानीयतहको निर्वाचनमा जसपा र एमालेले पाएको मत जोड्दा १९ हजार ७५ पुग्छ । जबकी सत्तारुढ गठबन्धनको मत ३७ हजार ३ सय ७३ पुग्छ । जनमतले भने स्थानीयतहको निर्वाचनमा यस क्षेत्रबाट ३ हजार २ सय ७१ मत प्राप्त गरेको थियो । जनमतको सांगठनिक मत कमजोर देखिएपनि डा.राउतको व्यक्तीगत छवी र बढ्दो क्रेजले जीत निकाल्ने एक थरीको भनाइ छ भने अर्काे थरीले सत्तारुढ गठबन्धन एक ढिक्का भएको दाबी गर्दै स्थानीयतहको निर्वाचनमा प्राप्त मतको आधारमा ठाकुरको जीत सुनिश्चित भएको दाबी गरिरहेका छन् । 
    स्थानीयतह निर्वाचनमा देखिएको नतिजा संसदीय चुनावनमा पनि दोहरीने हो की ? भन्ने दवावमा रहेका जसपा अध्यक्ष उपेन्द्र अहिले दौडधुप निकै बढाएका छन् । यस क्षेत्रमा राजविराज नगरपालिकाका साथै महादेवा, तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका गरी ४ पालिका पर्दछ । जस मध्ये २ मा लोसपा र १÷१ पालिकाको प्रमुखमा काँग्रेस र जसपाले जितेका छन् । 
    संसदीय चुनावमा जीत दोह¥याउने दबावमा रहेका उपेन्द्र आफुले गरेको विकास निर्माण कार्यलाई प्रमुख चुनावी मुद्धा बनाएका छन् । आफ्नो कोही प्रतिस्पर्धी नै नभएको दावी गर्दै आएका उनी भन्छन, “५ वर्षमा विकास निर्माणका धेरै आधारहरु खडा गरेका छौै, त्यसैले जनताले फेरी पनि मलाइ नै चुन्ने छन ।”
    उनले आफनो कार्यकालमा विभिन्न सडक संजालको निर्माण, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास, नर्सिङ कलेज, कृषि विश्वविद्यालय, गजेन्द्र नारायण सिंह अस्पतालमा सुधार लगायतको काम अघि बढेकाले मतदाताले फेरी पनि अवसर दिने दावी गरेका छन् । 
    सत्तारुढ गठबन्धनका साँझा उम्मेदवार ठाकुरले स्थानिय तह निर्वाचनमा गठबन्धन भित्रका दलहरुले प्राप्त गरेको मत तथा अहिलेसम्म जनताकै काम गर्दै आएकाले चुनाव जित्नेमा पूर्ण आशावादी रहेको बताउँछन् । “जनताको नजिक भएको र उनीहरुको सेवा गरेको आधारमा पनि आफू बलियो स्थितिमा पुगेको बताउने गरेका उनी भन्छन्, गठबन्धन एक ढिक्का छ, जित सुनिश्चित छ ।”
    उनले आफू जिते सीमावर्ती भारतको निर्मलीसम्म पुगेको रेल सेवालाई भारत सरकारसँग कुटनीतिक पहल गरि जिल्लासम्म जोड्ने महत्वकांक्षी योजनाका साथै कृषि, स्वास्थ्य, शिक्षा, सडक, खेलकुद, पत्रकारिता लगायत क्षेत्र समेतको विकासका स्थानिय मुद्दा पनि समेट्दै मतदाता सामू ३० बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन् । उनी भन्छन्, “विगतका नेताले जितेपछि अनुहार हेराएनन्, काठमाडौं र बिराटनगरमा बसेर आफन्त र आसेपासेलाई मात्र हेरे ।” 
    घरदैलोका क्रममा उनले आफू जिते सबैलाई समान ब्यवहार गर्ने मतदाता समक्ष प्रतिबता जनाउने गरेका छन् । 
    यता पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिएका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउत, ठाकुर र यादव दुबै उम्मेदवारको मत काटेर चुनाव जीत्ने रणनीतिमा छन् । पुरानो नेताको आश्वासनबाट दिक्क भएका जनताले नै आफुलाइ उम्मेदवार बनाएको जिकिर गर्ने गरेका उनी जित्नेमा ढुक्क रहेको बतउँछन । बुढापाखाको आर्शिवाद र यूवाको जोश, जाँगर र उर्जा आफुसंग भएकाले चुनाव जित्नेमा ढुक्क छु, उनले भने । पुराना नेतालाई “डेटस्पायर” र जनताको विश्वास गुमाई सकेका नेताको संज्ञा दिने गरेका उनी भन्छन, “यस पल्टको निर्वाचनले त्यस्ता नेतालाई चकित बनाउनेछन ।”
    किसानको समस्या, मँहगी र भ्रष्टाचार नियन्त्रण तथा दिर्घकालिन विकास र रोजगारीको प्रमुख मुद्दासहित निर्वाचनमा होमिएकाले जीत सहज हुने उनको भनाइ छ । 
    अहिले सबै दलका उम्मेदवार, नेता र कार्यकर्ताको दलबल मतदाता संग भोट माग्दै गाउँ टोल पुगी रहेका छन् । सबै उम्मेदवारले विकास निर्माणलाई नै प्रमुख चुनावी मुदा बनाएका छन् । उनीहरुले मतदाता रिझाउन कुनै कसर बाँकी राखेका छैनन । तर, यसमा सफलता कसले हात पार्ला र कसले बाजी मार्ला भन्ने कुराको टुंगो मंसिर ४ पछी नै स्पस्ट हुने छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट