News Category 2079/07/26

सप्तरी २ मा किल्ला जोगाउन र भत्काउन अन्तिम प्रयास जारि

दैनिक समाचारदाता

सप्तरी २ मा किल्ला जोगाउन र भत्काउन अन्तिम प्रयास जारि

    राजविराज÷मौन अवधिको समय सुरु हुन अब पाँच दिन मात्र बाँकी छ । यसरी मौन अवधी नजिकिदै गर्दा उम्मेदवारहरु मत आफ्नो पक्षमा पार्न अन्तिम प्रयासमा जुटेका छन् । 
    मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम प्रचारप्रसार गर्ने अवघि मंसिर १ गतेसम्म मात्र भएकाले उनीहरुको दौडधुप बढेको हो । 
    ७२ घण्टे मौन अवधि शुरु हुनु अघि नै उम्मेदवारहरुले मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम प्रयास स्वरुप रिझाउन रोड शो, चुनावी सभा देखि घरदैलो कार्यलाई तीब्र बनाएका छन् । 
    सप्तरीमा प्रतिनिधिसभाको चार र प्रदेशसभाको आठ पदका लागि निर्वाचन हुन लागेपनि सबैको चासो र चर्चाको मुख्य केन्द्र क्षेत्र नं. २ नै बनेको छ ।
    यहाँ मुख्य प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनका उम्मेदवार लोसपाका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, जनमतका राष्ट्रिय अध्यक्ष डा. सिके राउत तथा जसपा–एमाले गठबन्धनका उम्मेदवार जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव देखिएका छन् । 
    यस क्षेत्रमा ४ स्वतन्त्र सहित १६ जना चुनावी मैदानमा भएपनि उनीहरुको खासै चर्चा देखिएको छैन । यस क्षेत्रमा कुल ९५ हजार ३ सय ९४ मतदाता छन् । स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा ती मध्ये ६४ प्रतिशत अर्थात करिब ६२ हजार मत खसेको थियो । 
    यसपल्ट पनि स्थानिय तह कै तुलनामा मत खस्ने अनुमान गरिएको छ । तीन वटै उम्मेदवार बीच कडा टक्कर देखिएकाले चुनाव जित्न कम्तिमा २२ हजार मत कटाउनु पर्ने संसदीय निर्वाचनलाई नजिकबाट नियालिरहेका राजनितिक विषलेशकहरु बताउदै आएका छन् । 
    यहाँको निर्वाचन परिणामलाई जातिय मतले समेत उलटफेर गर्ने गरेको विगतको निर्वाचन परिमाणले देखाएको छ ।  यसपल्ट पनि अन्तिम चरणमा सो समिकरण दोहोरिने अनुमान गरिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
    २०७४ को निर्वाचनमा यस क्षेत्रबाट तत्कालिन राजपा र काँग्रेस समेतको साथ पाएर संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका उपेन्द्रले जित हात पारेका थिए । तर, यस पल्ट गठबन्धन र परिस्थिति दुवै फेरिएको छ । त्यतिबेला उपेन्द्रलाई सघाएका तत्कालिन राजपा र काँग्रेस अहिले विपक्षमा उभिएका छन् । अहिले ती दुवै दलको साथ गुमाएका उपेन्द्रको एमालेसँग गठबन्धन भएको छ भने तत्कालिन राजपा वर्तमानको लोसपा, काँग्रेस, माओवादी, एकिकृत समाजवादी लगायतका दलको गठबन्धन तर्फबाट साझा उम्मेदवार बनेका छन् लोसपाका जयप्रकाश ठाकुर । 
    उपेन्द्रकै पालिका पर्ने महादेवा गाउँपालिकाका वासिन्दा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउतको उम्मेदवारी उपेन्द्रका लागि टाउको दुखाई बनेको छ । सत्तारुढ गठबन्धनका उम्मेदवार ठाकुरले चुनौती दिइरहेका बेला आफ्नै पालिकाका अर्का उम्मेदवार डा. राउतको उपस्थितिले उनलाई थप दवाव परेको छ । 
    अर्कोतर्फ नागरिकता विधेयक लगायत मधेश प्रदेशलाई असफल बनाउने अभियानमा लागेका एमालेसँगको गठबन्धनले उपेन्द्रलाई झन गाह्रो बनाएको स्थानीयवासी अजित ठाकुरको भनाई छ । 
    राजविराज नगरपालिका सहित महादेवा, छिन्नमस्ता र तिलाठी गाउँपालिका पर्ने यस क्षेत्रमा पछिल्लो स्थानीय तहको निर्वाचनमा दुई पालिकामा लोसपा र एक÷एक पालिकामा काँग्रेस तथा जसपाले प्रमुख पद जितेको छ ।
    मतदातालाई आफ्नो पक्षमा ल्याउन घरदैलो अभियानलाई तिब्र बनाएका डा. राउत वर्षोदेखि सत्तामा हालीमुहाली गरिरहेका एमाले, काँग्रेस, माओवादी, जसपा लगायतका दलले अघि सारेका एजेन्डा उनीहरुको सत्तामा पुनरागमनका लागि मात्र भएको बताउँछन् । 
    डा. राउतका लागि आगामी राजनीतिक भविष्यका दृष्टिले पनि यो चुनाव महत्वपूर्ण देखिन्छ । पछिल्लो स्थानीय तहको निर्वाचनमा उनको सांगठनिक मत कमजोर देखिएपनि अहिले उनको क्रेज र प्रभाव दिनानुदिन बढ्दै गएको कार्यकर्ताहरु बताउँछन् । ‘डा. राउतको छवि, किसान आन्दोलन र भ्रष्टाचार विरोधी अभियानका कारण जनमतको लहर नै चलेको छ, जनमतका स्थानीय नेता थानेश्वर साह भन्छन – ‘डा. राउत ठुलो मतान्तरले जित हात पार्नेमा ढुक्क छौ ।’
    डा. राउतले भ्रष्टाचार र महँगी नियन्त्रण, किसानको समस्या समाधान, युवालाई रोजगारी तथा शिक्षा र स्वास्थमा सुधार लगायतका विषयलाई प्रमुख चुनावी एजेण्डा बनाएका छन् । 
    २०७४ मा चुनाव जितेका उपेन्द्र यसपल्टको निर्वाचनमा पनि जित दोहो¥याउने दावी गर्छन् । विगतमा आफुले यस जिल्लाको विकासका लागि धेरै काम गरेको कारण जित्ने उनको दावी छ । जनताले परिवर्तन र विकास  चाहेका छन् । मैले ती दुवै क्षेत्रमा काम गरेकाले जनताले फेरि पनि चुन्नेमा विश्वस्त छु, उनले भने । उनले यस क्षेत्रमा नर्सिङ्ग कलेज, गजेन्द्र नारायण सिंह अस्पतालमा सुधार, विभिन्न सडक सञ्जालको विस्तारका साथै कृषि विश्वविद्यालय, इन्जिनियरिङ्ग कलेज र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतको संरचना निर्माणको कार्यको शुरुवात गरेकोले मतदाताले फेरि पनि मौका दिने दावी गरे । उनले सप्तरीलाई शैक्षिक र स्वास्थ्य केन्द्रको रुपमा विकास गर्ने योजना सहित मतदातासँग सहयोगका लागि आग्रह गर्ने गरेका छन् । 
    हालै सम्पन्न पालिका चुनावमा प्राप्त मतको आधारमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुर, उपेन्द्रभन्दा दोब्बर र डा. राउतभन्दा तेब्बर मतले अगाडि देखिन्छ । तर स्थानीय तह निर्वाचनमा प्राप्त मत संसदीय चुनावमा पनि कायम रहला नरहला भन्ने कुरा यकिन गर्न कठिन रहेको स्थानिय मतदाताहरु बताउँछन् । सत्तारुढ गठबन्धनका उम्मेदवार ठाकुर भन्छन् ‘गठबन्धनभित्र कुनै समस्या छैन, एक ढिक्का भई अघि बढेकाले फराकिलो मतान्तरले जित हासिल गर्ने छौ ।’
    २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभामा यही क्षेत्रबाट थोरै मतले पराजित भएका ठाकुर यसपल्ट सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भएकाले तेश्रो प्रयासमा सफल हुने विश्वासमा छन् । उनी विकास र रोजगारीलाई प्रमुख चुनावी मुद्दा बनाएका छन् । 
    तीनै उम्मेदवारले एक अर्काको मत तान्ने प्रयास जारि राखेको बेला मतदाता भने खुलेर बोल्न चाहेका छैनन् । बोल्ने केही मतदाताको पनि प्रारम्भिक रुझानलाई हेर्दा पनि यिनै तीन नेता बीच कडा प्रतिस्पर्धा देखिन्छ । यी तिन मध्ये जसले जिते पनि मतान्तर संख्या भने एक हजारदेखि दुई हजार बिचमा मात्र रहने अधिकांश मतदाताको आकलन छन् । तर, परिणाम कसको पक्षमा जाला भन्ने जिज्ञासा शान्त पार्न मंसिर ४ लाई पर्खिनु नै पर्ने भएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट