News Category 2079/08/20

सीके राउतद्वारा राष्ट्रपतिसहित विभिन्न राजनीतिक  दलका शिर्ष नेतासँग भेटवार्तालाई तिब्रता

दैनिक समाचारदाता

सीके राउतद्वारा राष्ट्रपतिसहित विभिन्न राजनीतिक  दलका शिर्ष नेतासँग भेटवार्तालाई तिब्रता

दैनिक समाचारदाता
राजविराज, २० मंसिर । 

    सप्तरी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवं जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुलाई दिनहुँ भेटवार्ता गर्दैछन् । 
    मंगलबार मात्र डा. राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । उनी शीतल निवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।
    पहिलोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि राउत चर्चामा छन् । एक साताअघि काठमाडौं आइपुगेका राउतले सबै दलका शीर्ष नेतालाई भेटिसकेका छन् । 
    प्रतिनिधिसभा निर्वाचनमा उनले सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । उनको जनमत पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फ पाँच सिट पाउने देखिएको छ । जनमतलाई सरकारमा सामेल गर्न सत्तारुढ गठबन्धनले प्रस्ताव गरेका छन् ।
    सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा दोब्बर मतान्तरसहित विजयी भएका जनमत पार्टीका अध्यक्ष डा.सीके राउत जनकपुर हुँदै मंसिर १३ गते काठमाडौं पसे । काठमाडौँ पसेलगत्तै उनले विभिन्न पार्टीका नेतासँग भेटघाट गरेका छन् ।


    संघ तथा प्रदेशको सत्ताको साँचो आफूसँग रहेको दावी गर्दै उनी सत्ता सहकार्यका लागि नेताहरुको घरघर पुगेर संवाद गरिरहेका छन् । उनले विभिन्न दलका १० जना नेतालाई भेटिसकेका छन् । यद्यपि यो तथ्याङ्कमा अध्यक्ष राउतको सचिवालयले सार्वजनिक गरेको भेटघाट मात्र समेटिएको छ, यस बाहेक पनि उनले थुप्रै भेटघाट गरेका छन् ।
    सत्ता सहकार्यका लागि विभिन्न कोणबाट छलफल सुरु भइरहेको समयमा अध्यक्ष राउतको यो खालको भेटघाटलाई चासोपूर्वक हेरिएको छ । अझ महत्त्वपूर्ण त यो छ कि राउतले अहिलेसम्म जतिजनालाई भेटेका छन्, ती सबै सत्ता गठबन्धनमा रहेका तथा त्यस निकट रहेका नेतामात्र छन् ।
    जनमत पार्टीका नेताहरुले यो भेटघाट सामान्य रहेको दाबी गरिरहेका छन् । अध्यक्ष राउत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि अन्य नेताहरुसँग बधाई तथा शुभकामना साटासाटका लागि मात्र यो भेटघाट भइरहेको उनीहरुको दाबी छ ।
    राउतले जेलमा रहेका रेशम चौधरीदेखि लिएर तीन जना पूर्वप्रधानमन्त्री तथा वहालवाला प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई भेटिसकेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनले भेट्न बाँकी छ । उनीहरुसँग पनि एक दुई दिनमा भेट गर्ने उनका पार्टीका नेताहरु बताउँछन् ।
    मंसिर १३ गते काठमाडौं आउने क्रममा जनकपुर विमानस्थलमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग अध्यक्ष सीके राउतको भेट भएको थियो । 
    अध्यक्ष राउत सत्ता गठबन्धनलाई सघाउनेमा प्रतिवद्ध भएपछि कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग मंसिर १५ गते बालुवाटारमा भेटेका थिए ।
    बालुवाटारको भेटमा अध्यक्ष राउतले सत्ता गठबन्धनले बनाउने सरकारलाई सघाउने प्रतिवद्धता जनाएको कांग्रेस नेता निधिले सार्वजनिक गरिसकेका छन् । 
    त्यही दिन अध्यक्ष राउतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणसँग छुटुटाछुट्टै भेट गरेका थिए । सन्दर्भ चुनाव जितेपछि शुभकामना तथा बधाई साटासाट रहे पनि भेटघाटको मुख्य विषय सत्ता सहकार्य नै थियो । 
    त्यसको भोलिपल्ट मंसिर १७ गते अध्यक्ष राउतलाई उनकै पार्टीले काठमाडौंमा बधाई तथा शुभकामनाका लागि कार्यक्रम आयोजना गरेको थियो । त्यसको भोलिपल्ट मंसिर १८ गते जनमतका अध्यक्ष राउतले कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र सो पार्टीका प्रवक्ता डा.प्रकाशरण महतलाई छुट्टाछुट्टै भेटेका थिए । सो भेटको प्रयोजन पनि सत्ता सहकार्य नै थियो । त्यहाँ पनि उनले सत्ता गठबन्धनलाई सघाउने प्रतिवद्धता जनाएका थिए ।
    मंसिर १९ गते अध्यक्ष राउत नागरिक उन्मुक्ति पार्टी गठन गरेका रेशम चौधरीलाई भेट्न जेल मै पुगेका थिए । जेलमा बधाई तथा शुभकामना साटासाट गरेपछि सत्ता सहकार्यबारे दुवै जनाको बीचमा कुराकानी भएको भेटमा सहभागी एक नेताले बताए ।
    अध्यक्ष राउतले त्यही दिन नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भटरााई, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, लोसपाका नेता शरतसिंह भण्डारीलगायत छुट्टाछुट्टै भेटिसकेका छन् । उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेत भेटेका छन् । 
    यता जनमत पार्टीका महासचिव चन्दन सिंहले यी सबै भेटघाट सामान्य रहेको दाबी गर्दै आएका छन् । सरकार निर्माण तथा सत्ता सहकार्यका लागि चहल पहल भइरहेको बेला नेताहरु बीच भेट हुँदा त्यस विषयमा कुराकानी हुनु सामान्य भए पनि अध्यक्ष राउतले कसैलाई कुनै प्रकारको आश्वासन नदिएको उनले बताए । 
    जनमत पार्टी संघीय सरकारदेखि लिएर मधेस प्रदेश सरकारमा सहभागी हुनका लागि पनि इच्छुक रहेको राजनीति बृतमा निकै चर्चा रहेको छ । विभिन्न अनलाईनको सहयोगमा यो समाचार तयार पारिएको । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट