News Category 2080/01/28

बजेटमा हरवा चरवाको समस्यालाई प्राथमिकतामा राख्न माग

दैनिक समाचारदाता

बजेटमा हरवा चरवाको समस्यालाई प्राथमिकतामा राख्न माग

दैनिक समाचारदाता
राजविराज, २७ बैशाख ।

    हरवा चरवाका लागि आगामी आर्थिक वर्षको बजेटमा विशेष सहुलियत ब्यवस्था हुनुपर्ने माग गरिएको छ । 
    जनचेतना दलित संगम सप्तरीले बुधबार राजविराजमा आयोजना गरेको “राज्यद्वारा प्रदान गरिने सेवा सुविधामा हरवा चरवा र दलितको पहुँच” विषयक विचार गोष्ठिमा बोल्दै उनीहरुले सो माग गरेका हुन् । 
    राष्ट्रिय हरवा चरवा मञ्चका अध्यक्ष दशन मण्डलले तीन पुस्तासम्म गिरहत कहाँ बसेर काम गर्दा पनि ऋणबाट मुक्त हुन नसकेको र ९ महिनाअघि सरकारले गरेको वाचा अहिलेसम्म पुरा नगर्दा हरवा चरवाको जिवन थप कष्टकर बन्दै गएको बताए । 
    दलित अगुवा चन्देश्वरीदेवी सदाले सरकारले ध्यान नदिदा हरवा चरवाहरु गरिबी र ऋणको दुस्चक्रमा फस्दै गएको बताइन् । राष्ट्रिय भूमि अधिकार मञ्चका सदस्य शिवकुमार पासवानले मुलुकमा आएको परिवर्तनले पनि आफुहरु जस्ता विपन्नलाई छुन नसकेको भन्दै अधिकांश करवा चरवाहरु भूमिहीन अवस्थामा रहेको पीडा ब्यक्त गरे ।
    कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य गोबिन्द न्यौपाने, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, राष्ट्रिय भूमि आयोग सप्तरीका अध्यक्ष हरेराम यादवले पनि बोल्दै आफूहरु हरवा चरवाको समस्या बारे पूर्ण जानकार रहेको बताए । उनीहरुले हरवा चरवाको समस्या समाधानका लागि आ–आफ्नो स्थानबाट सक्दो सहयोग र पहल गर्ने प्रतिबद्धता समेत जनाए । 
    राष्ट्रिय हरवा चरवा अधिकार मञ्चका अध्यक्ष दशन मण्डल, महासचिव लागेन्द्र सदा, हरवा चरवा मञ्चका जिल्ला अध्यक्ष गंगाराम, राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्ष शिवकुमार पासवान, कानुन व्यवसायी केशरलाल खंग, जनचेतना दलित संगमका अध्यक्ष रामलखन राम, कार्यकारी निर्देशक इन्द्र प्रसाद राम, दलित अगुवा शोभितलाल राम, चन्देश्वरी देवी सदा लगायतले कार्यक्रममा बोल्दै पुस्तौदेखी गरिबीमा पिल्सिएको तथा एलानी जग्गामा बासेवास गर्दै आएका हरवा चरवा कुनै बेला पनि उठिवास हुन सक्ने चिन्ता र त्रासमा बाचिरहेपनि सरकारले अहिलेसम्म आश्वासन बाहेक केही नदिएको गुनासो पोखे । 
    कार्यक्रममा दलित अगुवा एवं पत्रकार मणिलाल विश्वकर्माले हरवा चरवाको समस्या समाधान तथा हकअधिकारका लागि तयार पारिएको माग र भावी आन्दोलन कार्यक्रमसहितको कार्ययोजना पत्र प्रस्तुत गरेका थिए । कार्ययोजना पत्रमा आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति कार्यक्रम र बजेटमा हरवा चरवाको पक्षमा विशेष कार्यक्रम ल्याउन प्रमुखताका साथ सरकारसँग माग गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट