News Category 2080/02/13

अदालतको आदेश विपरीत भइरहेको कार्य रोक्न खोज्दा स्थानियमाथी हातपात

दैनिक समाचारदाता

अदालतको आदेश विपरीत भइरहेको कार्य रोक्न खोज्दा स्थानियमाथी हातपात

    राजविराज÷हुलाकी राजमार्ग अन्तरगत सप्तरीको कल्याणपुर–बरसाइन–स्वर्णपट्टी सडक खण्डको देउरी, सिमराह र स्वर्णपट्टीसहितको स्थानमा नक्साङ्कन मुआब्जा बितरण गरिएको भन्दा फरक जग्गामा सडक निर्माण कार्य भइरहेको छ । 
    अदालतको आदेश अवज्ञा गर्दै भइरहेको हुलाकी सडक निर्माण कार्य रोक्न खोज्दा परिवारका महिला सदस्यसहित आफूहरुमाथी हातपात तथा दुरव्र्यहार भएको पीडित पक्षले गुनासो गरेका छन् । 
    स्थानियवासी नरेन्द्र नारायण साहुले अदालतको आदेश विपरीत निर्माण कार्य भइरहेको र रोक्न खोज्दा ८० वर्षिया आमा सजनीदेवी, २० वर्षिया छोरी ज्योती साह, छिमेकी पुनिता साह, ललिता साह र आफूमाथी समेत बोदेबरसाइन नगरपालिकाका नगर प्रहरीहरुकै उपस्थितिमा ठेकेदार कम्पनीका कर्मचारीले हातपात गरेको शनिबार विवादित स्थलमा निरिक्षणका क्रममा पुगेका संचारकर्मीहरुसँग गुनासो पोखे । 
    उनले विवादित स्थलमा हाल उच्च अदालत जनकपुर–राजविराज इजलाश र सर्वोच्च अदालत समेतले तत्काल काम नगर्नु आदेश जारि गरे पनि बलजफ्ती काम भइरहेको प्रहरी प्रशासन मुकदर्शक बनेको गुनासो समेत पोखे । 
    आदेश कार्यान्वय गर्ने निकाय र पदाधीकारी उदासिन भइदिदा कार्यान्वयन कार्यको बोझ मात्र बढ्दै गएको कानुन व्यवसायी विजय झाको भनाई छ । स्थानीयवासीहरुका अनुससार उक्त सडक खण्डको कित्ता नं.५९४ बाट कित्ता काट गरी कायम भएको ८९५ नम्बर कित्ताको साढे ६ धुर जग्गाको मुआब्जा दिइ सकिएको छ । 
    उक्त कित्तामा बाँकी १ कठ्ठा १ धुर जग्गा मिच्ने हिसाबले स्वर्ण पुलदेखि दक्षिण करिब ५० मिटर लम्बाई सडक टेढो पारी निर्माण कार्य भईरहेको छ । सडकको विच भागबाट दुबै पट्टी बराबर गरी जग्गा अधिग्रहण गर्नु पर्नेमा सो नगरी स्थानीय जनप्रतिनिधी र निर्माण कम्पनीको मिलोमतोमा सडकलाई टेढो बनाएर काम भइरहेको स्थानीयवासी योगेन्द्र यादवले बताए ।
    साविकको नक्सामा समेत यस स्थानमा हुलाकी सडक सिधा रहेको नापी कार्यालयबाट प्राप्त प्रमाणित नक्शा देखाउँदै उनले भने–“अहिले कसरी टेढो भयो, बुझ्नै सकिएन ।”
    यस्तै सोही सडक खण्डको देउरी नजिक योगेन्द्र यादव र राम प्रसाद यादवको नाममा रहेको कित्ता नं.३०९ र ३१० को कुल जग्गा मध्ये २२ धुर जग्गाको मुआब्जा पाएको भन्दा फरक जग्गामा सडक निर्माण कार्य भईरहेको स्थानीयले जानकारी दिएका छन् ।
    उक्त स्थानमा डिपीआर, नक्साङकन र मुआब्जा वितरण गरिएको जग्गा भन्दा फरक जग्गामा सडक निर्माण भईरहेको भन्दै स्थानीयले २०७५ मंसिर २५ गते उच्च अदालत जनकपुर–राजविराज इजलाशमा दिएको निषेधाज्ञा परमादेश मुद्दामा सुनुवाई गर्दै अदालतबाट तत्काल काम नगर्न निर्माण कम्पनीको नाममा परमादेश जारी भएको थियो । तर, सो आदेश विपरीत निर्माण कार्य जारी रहदा स्थानीयवासिन्दाको तर्फबाट बोदेबर्साइन नगरपालिका ९ निवासी नरेन्द्र नारायण साहुले निर्माण कम्पनी श्री दिवा निर्माण सेवा प्रालि, हुलाकी सडक आयोजना कार्यालय र बोदे बसाईन नगरपालिका कार्यालयलाई विपक्षी बनाई सर्वाेच्च अदालत पुगेका थिए । 
    सर्वाेच्च अदालतको फैसला कार्यान्वय निर्देशनालयले २०७९ साल फागुण १६ गते चलानी नम्बर ३३२ को पत्र विपक्षीहरुलाई पठाई उच्च अदालत जनकपुर–राजविराज इजलाशबाट भएको आदेश कार्यान्वयन गरी गराइ सोको जानकारी अविलम्ब यस निर्देशनालयलाई पठाउन्ु भनी आदेश भएको थियो । 
    सो आदेशको पनि पालना नभई अहिले निर्माण कम्पनीद्वारा सडक निर्माण कार्य जारी रहेको स्थानीयवासी राम प्रसाद यादवले गुनासो पोखे । सार्वजनिक सरोकारको विवादमा अदालतबाट आदेश जारी भएपनि आदेश कार्यान्वयन भए नभएको तथा आदेश कार्यान्वयन गर्ने निकाय मौन वसिदिदा अवज्ञा गर्नेहरुको मनोवल बढ्दै गएको स्थानीयवासी सत्यनारायण साहको भनाई छ । 
दिवा निर्माण सेवा प्रालि काठमाण्डौले १७ दशमलव २८ किलो मिटर लामो बजार क्षेत्रमा ११ र बजार बाहिर ७ मिटर चौडाइ कालोपत्रे गर्ने उक्त सडक निर्माण कार्यको मुल्य अभिवृद्धि कर बाहेक ५८ करोड ३ लाख ९७ हजारमा ठेक्का पाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट