News Category 2080/04/15

सहमतिपछी आफन्तले बुझे शव, अस्पतालको सेवा सुचारु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ साउन । 

    सप्तरीको कञ्चनरुप नगरपालिकामा आइतबार चिकित्सकको लापरवाहीले एक युवकको मृत्यु भएको भन्दै अस्पतालमा शव बुझ्न अस्विकार गरेका आफन्तले सोमवार शव बुझेका छन् । 
    जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. ९ का रामदेव खंगको १६ वर्षिय छोरा ओम प्रकाश खंगको उपचारका क्रममा आइतबार कंचनपुर नगर अस्पतालमा मृत्यु भएको थियो । 
    चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतक आफन्तजन र स्थानीयबासीले अस्पताल तोडफोड समेत गरेका थिए । जसकारण अस्पतालको सेवा ठप्प थियो । 
    चिकित्सकको लापरवाहकिा कारण खंगको मृत्यु भएको आरोप लगाउदै मृतकका आफन्त आन्दोलनमा उत्रिएका थिए । मृत्युको कारण पत्ता लगाउनु पर्ने, मृतक परिवारलाई उचित क्षतिपुर्ती दिनु पर्ने र उपचारमा संलग्नलाई कारवाही नगरेसम्म परिवारले शव जिम्मा नलिने अडान लिएका थिए । 
    आफन्तद्वारा धर्ना र प्रर्दशन समेत थालिएपछी अस्पतालको सेवा ठप्प बन्न पुगेको थियो । सोमवार नगरपालिकाको कार्यालय, अस्पताल प्रशासन तथा मृतक परिवार बीच तीन बँुदे सहमति भएपछि आफन्तले शव बुझेको तथा पोस्टमार्टमका लागी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान लगिएको इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी दिपक रायले जानकारी दिए । 
    उपचारमा संलग्न चिकित्सकलाई निलम्बनमा राखी छानवीन गर्ने, मृतक परिवारलाई क्षतिपुर्ती वापत अस्पताल प्रशासनबाट ५१ हजार तथा नगरपालिका कार्यालयबाट ५ लाख उपलब्ध गराउने र अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी बनाउन आवश्यक उपाय अपनाउने लगायतका विषयमा सहमती भएको प्रहरीले जनाएको छ । आफन्तले शव बुझे संगै ठप्प रहेको सो अस्पतालको सेवा सुचारु भएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट