News Category 2080/04/29

३६ वर्ष पछी ब्यारेजका ५६ वटै ढोका खोलियो

दैनिक समाचारदाता

३६ वर्ष पछी ब्यारेजका ५६ वटै ढोका खोलियो

दैनिक समाचारदाता
राजविराज, २९ साउन ।

    सप्तकोशी नदीमा सोमवार विहान यस वर्ष कै पानीको उच्च वहाव भएपछी कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । 
    कोशी ब्यारेजको इतिहासमा ५६ वटै ढोका खोलिएको यो तेश्रो पटक हो । यस अघि सन १९६८ मा ७ लाख ८८ हजार २ सय क्युसेक तथा सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक प्रति सेकेण्ड पुग्दा ५६ वटै ढोका खोलिएको इतिहास छ । 
    पछिल्लो पटक सोमवार विहान ६ बजे सप्तकोशी नदीमा पानीको बहाव ४ लाख  ६२ हजार क्युसेक प्रति सेकेण्ड पुगेपछी सम्भावित जोखिमलाई ध्यानमा राख्दै ५६ वटै ढोका खोलिएको प्रहरीले जनाएको छ ।
    कोशी ब्यारेजको कुल भारवहन क्षमता ९ लाख क्युसेक प्रति सेकेण्ड छ । मधेश तीर खासै वर्षा नभएपनि पहाडी क्षेत्रमा जारी अबिरल वर्षा संगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको कोशी ब्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ ।
    कोशीमा पानीको बहाव उच्च भएपछी खतरा सम्बन्धि संकेत स्वरुप ब्यारेजको पुर्वी कोणमा रातो झण्डा संगै रातो बत्ती बालिएको छ । यद्धपी पानीको जलस्तर घट्दै गएकाले सवारी आवागमन नरोकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिहले जानकारी दिए । 
    उनका अनुसार सोमवार साँझ ६ बजे तीर विहानको तुलनामा पानीको बहाव १ लाख ६१ हजार क्युसेक प्रति सेकेन्डले घटेर ३ लाख १ हजार क्युसेक प्रति सेकेन्डमा पुगेको छ । 
    सप्तरी र सुनसरीको सीमामा पर्ने कोशी ब्यारेजमा वर्षाले निम्त्याउन सक्ने जोखिम बारे दुबै जिल्लाका प्रहरी प्रशासन तयारी अवस्थामा रहेको उनले जानकारी दिए । उनले सम्भावित जोखिमलाई ध्यानमा राखी आसपासका वासिन्दालाई सर्तकता अपनाउन अनुरोधसहित सुरक्षाका लागी आवश्यक व्यवस्था र रणनीति बनाउनमा स्थानीय प्रशासन जुटेको समेत बताए । 
    यता पहाडी क्षेत्रमा भइरहेको वर्षाले सप्तकोशी आसपास तथा चारै तीर कोशी नदीले घेरीएको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढाका वासीन्दामा त्रास फैलिएको छ । १ सय परिवारका करिब ३ सय जनाको वसोवास छ । वडाअध्यक्ष कुशेश्वर यादवले वस्तीको पुर्वबाट कोशीको भंगालोले कटान गर्न थालेको जानकारी दिदै सोही कारण स्थानीयमा त्रास फैलिएको बताए । समय मै कटान रोक्ने उपाय नगरिए यहाँका घर घरमा पानी पस्ने मात्र नभई घर नै बगाउने स्थानीयमा चिन्ता थपिएको वडाअध्यक्ष यादवले सुनाए । 
    चारै तीर कोशीको भंगालोले घेरीएका ती वस्तीका वासिन्दा आपतविपद परे २ घण्टा डुंगा चढेर हनुमाननगर बजार पुग्ने गरेको वडाअध्यक्ष यादवको भनाइ छ । नगर प्रमुख विरेन्द्र माझीले गोबरगाढा वस्तीको अवस्थाबारे आफु पुर्ण जानकार र निरन्तर सम्र्पकमा रहेको बताए । उनले ब्यारेजमा बहाव बढ्दै गए उनीहरुलाइ कसरी सुरक्षित र व्यवस्थापन गर्ने यसबारे निरन्तर निगरानीका साथै नगरपालिकासंग भएका सबै श्रोत साधन तयारी अवस्थामा राखिएको जानकारी समेत दिएका छन् । 
    सम्भावित जोखिमलाई ध्यानमा राख्दै गोबरगाढाबासी अहिले सुरक्षाका लागि अग्लो स्थानमा बस्दै गरेको वडा अधयक्ष यादवले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट