News Category 2080/05/13

दुई दिनको अवधीमा दुई पालिका प्रमुख निलम्बित भएसँगै सप्तरीमा पालिका प्रमुख निलम्बित हुनेको संख्या चार पुग्यो 

दैनिक समाचारदाता

दुई दिनको अवधीमा दुई पालिका प्रमुख निलम्बित भएसँगै सप्तरीमा पालिका प्रमुख निलम्बित हुनेको संख्या चार पुग्यो 

दैनिक समाचारदाता
राजविराज, १३ भदौ । 

    सप्तरीको १८ मध्ये चार पालिका प्रमुख निलम्बित भएका छन् । दुई दिनको अवधीमा दुई पालिका प्रमुख निलम्बित भएका हुन् भने एक पालिका प्रमुख सात महिना अघि नै निलम्बित भइसकेका छन् । यस्तै एक पालिका प्रमुख विशेष अदालतबाट दोषि समेत ठहर भएका छन् ।  
    निलम्बित हुनेहरुमा बोदेबरसाइन नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंह यादव, शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्र प्रसाद गुप्ता र विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव रहेका छन् भने राजविराज नगरपालिकाका नगर प्रमुख भिमराज यादव विशेष आदालतबाट राजविरास्थित राजरंगशालाको स्तरोन्नती कार्यमा अनियमितता गरेको भन्दै दोषि ठहर भइसकेका छन् । 
    गत स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट बोदेबरसाइन नगरपालिका नगरप्रमुख आतेशकुमार सिंह यादव, राजविराज नगरपालिकाका नगर प्रमुखमा भिमराज यादव र विष्णुपुर गाउँपालिकामा अध्यक्ष उमेशकुमार यादव निर्वाचित भएका थिए भने शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्र प्रसाद गुप्ता नेकपा (एकिकृत समाजवादी)बाट निर्वाचित भएका थिए । 
    पछिल्लो पटक बुधबार जिल्लाको बोदेबर्साइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादव निलम्बित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा नगर प्रमुख सिंहसहित ८ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
    नगर प्रमुख सिंहसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, पशु विकास अधिकृत (अधिकृत छैटौं) अर्जुन प्रसाद यादव, लेखापाल सरोज कुमार मंडल, तत्कालीन वडा अध्यक्ष रामानन्द चौधरी, नगरपालिकाको तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगत, माँ जगदम्बा कृषक समुहका अध्यक्ष राधेश्याम कुमार साह र कोषाध्यक्ष निलम कुमारी शर्मा विरुद्ध अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 
    बोदेबरर्साइन नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि वडा नं ६ फुलकाहीको माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेको थियो । तर नक्कली बिल भर्पाई र झुठा बिल बनाएर १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको अख्तियारको दाबी छ ।
    यता दुई दिन अघि मात्र जिल्लाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवलाई घुससम्बन्धी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर विशेष अदालतबाट म्याद थप गरी थुनामा राखेसँगै उनी निलम्बित भएका हुन् । अध्यक्ष यादवलाई भदौ ६ गते अख्तियारले घुस सम्बन्धी विषयमा सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।
    भदौ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकालाई पत्राचार गर्दै आयोग ऐन २०४८ को दफा १६(४) बमोजिम विशेष अदालतबाट म्याद थप भइ थुनामा रहेका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक आयोग ऐन २०४८ को दफा १७ र तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ वमोजिम स्वतः निलम्बन हुने प्रावधान अनुरूप अध्यक्ष निलम्बन भएको जानकारी दिइएको हो ।
    गत साउन ३१ गते सोलार बत्ति सम्बन्धी एक योजनामा २ लाख नगद र ३ लाखको चेक घुसवापत लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआइएस अपरेटर वीरेन्द्र यादवलाई आयोगको इटहरीस्थ्ति कार्यालयको टोलीले राजविराजस्थित गजेन्द्र चौकको एक बस बुकिङ काउन्टरबाट नियन्त्रणमा लिएको थियो ।
    यस्तै सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्रप्रसाद गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । नगर प्रमुख गुप्ता र नगरपालिकाका इन्जिनियर रामचन्द्र साहबीचको आपसी मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएकोले नगरप्रमुख गुप्ता र इन्जिनियर साहमाथि विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।
    अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत माघ ३ गते इन्जिनियर साहलाई एक लाख ४० हजार रुपैयाँ घुस लिइसकेको भन्दै नियन्त्रणमा लिएको थियो ।
    इन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले नगर प्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनी समेतलाई विपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । दुवै जनालाई बिगो एक लाख ४० हजार कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको थियो ।
    यस्तै राजविराज नगरपालिकाका प्रमुख यादवको हकमा भने केही दिन अघि मात्र विशेष अदालतले राजविराजस्थित रंगशाला खेलमैदान स्तरोन्नति कार्यमा अनियमितता गरेको भन्दै २ लाख ६४ हजार ४ सय ४ जरिवाना तोकिसकेका छन् । पदभार ग्रहण गरेको दुई महिना नपुग्दै २०७९ असार २९ गते राजविराज नगरपालिकाका नगर प्रमुख भीमराजमाथि आयोगले मुद्दा दायर गरेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट