News Category 2080/09/07

सात महिनादेखी वेपत्ता किशोरीको दिल्लीमा रहस्यमय मृत, एक जना पक्राउ

दैनिक समाचारदाता

सात महिनादेखी वेपत्ता किशोरीको दिल्लीमा रहस्यमय मृत, एक जना पक्राउ

    राजविराज÷सात महिनादेखी वेपत्ता सप्तरीकी एक किशोरी भारतमा मृत अवस्थामा फेला परेकी छिन् । २०८० जेठ २० गतेदेखी वेपत्ता भएकी सप्तरीको विष्णुपुर गाउँपालिका ४ बेल्हा टोल निवासी रमेश कुमार यादवकी १५ वर्षिया छोरी दीपा भारतको राजधानी नयाँ दिल्लीमा मृत अवस्थामा फेला परेकी हुन् । 
    नयाँ दिल्लीस्थित लाजपत नगरमा सप्तरीकै डाक्नेश्वरी नगरपालिका ६ बथनाहा टोलका २१ वर्षिय रोशन कुमार मण्डलले लिएको भाडाको कोठामा उनको शव फेला परेको छ । 
    दीपाको शव फेला परेको बारे दिल्ली पुलिसले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई जानकारी गराएपछि आफूहरुले थाहा पाएको मामा चन्द्रशेखर यादवले बताएका छन् । घटना बारे खबर पाएपश्चात् दिल्ली पुगेका आफन्तले शनिबार शव बुझेर उतै अन्तिम संस्कार समेत सकाएका छन् । 
    पोष्टमार्टम रिपोर्ट केही दिनपछि आउने र त्यसपछि थप कानुनी प्रक्रिया अघि बढ्ने दिल्ली पुलिसले बताएको मृतकका बुबा रमेशले जानकारी दिएका छन् ।
    उक्त कोठा भाडामा लिने रोशनलाई दिल्ली पुलिसले पक्राउ गरि नियन्त्रणमा राखी बयान लिने काम सुरु गरेको समेत उनले जानकारी दिए । प्रारम्भिक बयानमा दीपाले आत्महत्या गरेको भनी रोशनले बयान दिएका छन् । यद्दपी किशोरीका आफन्तले अपहरण पश्चात् दीपाको हत्या नै गरिएको दाबी गरेका छन् । 
    हत्या लुकाउन रोशनले आत्महत्या गरेको देखाउने प्रयास गरेपनि शव बरामद भएको स्थानमा आत्महत्याको कुनै संकेत फेला नपरेको दिल्ली पुलिसलाई उद्धृत गर्दै बुबा रमेशले बताए । उनका अनुसार गत जेठ २० गते राती ११ बजेतिर अत्याधिक गर्मी भई परिवारका सदस्यहरु घर बाहिर निस्की डगरमा हिंडडुल गरिरहेका बेला दुई वटा भारतीय नम्बरको मोटरसाइकल चढेर रोशनसहित आएका चार जना युवाले हतियार देखाउँदै दीपालाई जबरजस्ती मोटरसाइकलमा राखी लगेका थिए । 
    यस बारे प्रहरीलाई तत्कालै जानकारी गराउँदा पनि सक्रियता नदेखाएको र चोर बाटोको प्रयोग गरि छोरीलाई अपहरण गरि सीमा कटाएर भारततर्फ भाग्न सफल भएको बुबा रमेशको गुनासो छ । 
    घटनाको भोली पल्टै जेठ २१ गते आफूले रोशनसहित चार जना बिरुद्ध अपहरण, शरीर बन्धक, जबरजस्तीकरणी र मानव बेचबिखन सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिने प्रयास गरे पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेको उनको कथन छ । त्यसपछि हुलाकबाट पनि जाहेरी दरखास्त पठाएको उनले बताए । 
    तर पनि प्रहरीले खासै चासो नदेखाउदा न्यायका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालयलाई बिपक्षि बनाउँदै उच्च अदालत जनकपुर–राजविराज इजलाशमा पुगेपछि २०८० असोज १२ गते विपक्षिको नाउँमा परमादेश समेत जारि भएको उनले जनाएका छन् । 
    न्यायाधिश मुनेन्द्र प्रसाद अवस्थी र बिमल सुबेदीको संयुक्त इजलाशद्वारा विपक्षिलाई जारि आदेशमा पीडितको जाहेरी दरखास्त सनाखत गरि जे जो बुझ्नु पर्छ बुझि आवश्यक निकास दिनु भनी उल्लेख गरिएको थियो । तर, अदालतको सो आदेश जारी भइसक्दा पनि प्रहरीले समयमै आवश्यक पहल नगर्दा यस्तो दुःखद घटना हुन गएको मृतकका आफन्तजनको गुनासो छ । 
    दीपा राजविराजस्थित रोज पब्लिक स्कुलमा कक्षा १० मा अध्ययनरत थिइन् । यसै वर्ष एसइइ परिक्षा दिएकी उनको अपहरणपछि एक महिनाअघि गाउँमा पंचायती समेत बसेको गाउँलेहरुले बताएका छन् । पंचायतीमा रोशनका अभिभावकले रमेशको छोरी भारतमा सुरक्षित रहेको र ८ दिनभित्र सकुशल जिम्मा लगाइदिने प्रतिबद्धता जनाएका थिए ।
    तर रोशनका अभिभावकले सो प्रतिबद्धता पूरा नगरेको र अचानक दीपाको मृत्यु भएको खबर सुन्नु परेको स्थानीयवासी सन्तोष कुमार यादवले बताए । दीपको मृत्यु भइसकेपछि उक्त घटनामा संलग्न चार जना बिरुद्ध पीडित परिवारले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिने तयारी गरेको मामा चन्द्रशेखरले सुनाए । 
    घटनाको बारेमा सत्यतथ्य बुझि चाडो भन्दा चाडो दोषिलाई कारवाही गर्न पीडित परिवारले माग गरेका छन । पीडित पक्षलाई कानुनी सहायता उपलब्ध गराइरहेका अधिवक्ता बिनोद कुमार पाण्डेले समयमै प्रहरी चनाखो बन्दा यस्तो पीडादायी घटना हुन पुगेको बताएका छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले किशोरीलाई जरबजस्ती भारततर्फ लगेको घटनाको समयमा आफूहरु जिल्ला प्रहरी कार्यालय सप्तरीमा नरहेको बताउँदै सरुवा भएर सप्तरी आएपछि घटनाका बारेमा खोजि तथा अनुसन्धानमा सक्रिय भइलागेको दाबी गरेका छन् ।
    उनले किशोरीको शव भेटिएको र यसबारे भारतीय प्रहरीले पोष्टमार्टम प्रतिवेदन पठाएपछि विधमान कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाउने जनाएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट