News Category 2080/10/29

कारागार भित्रै कैदीको मृत्यु बारे आफन्तद्वारा छानबिनको माग गर्दै प्रदर्शन

दैनिक समाचारदाता

कारागार भित्रै कैदीको मृत्यु बारे आफन्तद्वारा छानबिनको माग गर्दै प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, २९ माघ ।

    राजविराज कारागारको शौचालय भित्र झुण्डिएर मृत्यु भएका हनुमाननगर कंकालीनी नगरपालिका ६ का देवेन्द्र मण्डलका आफन्तले उक्त घटना शंकास्पद र रहस्यमय रहेको भन्दै छानबिनको माग गर्दै सोमबार आफन्तले राजविराजमा प्रदर्शन गरेका छन् । 
    आइतबार १९ वर्षीय मण्डलको मृत शरीर कारागारको क ब्लकमा रहेको शौचालय भित्र फेला परेको थियो । घाँटीमा गम्छाको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको उनको मृत शरीर तत्कालै आवश्यक प्रक्रिया पश्चात पोस्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइएको थियो ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले घटनास्थलको प्रकृति तथा प्रारम्भिक अनुसन्धानले आत्महत्या नै गरेको देखिएको बताए । यद्यपि पोस्टमार्टम रिपोर्ट आएपछि सो बारे थप विवरण सार्वजनिक गरिने उनको भनाइ छ ।
    कारागारका निमित्त जेलर सदानन्द दासले कुनै केटी साथीको विषयलाई लिएर मण्डल केही दिन यता तनावमा रहँदै आएको आफूले कैदी बन्दीहरूबाट सुनेको बताउँदै केटी साथी को हुन् भन्ने बारे आफूलाई कुनै जानकारी नरहेको उनको भनाइ छ । 
    “शौचालय गएका मण्डल निकै बेरसम्म बाहिर ननिस्केपछि ढोका खोल्ने प्रयास भयो, तर भित्रैबाट चुकुल लागेको बुझिएपछि शंका लागेर प्रहरी र मण्डलका आफन्तलाई खबर ग¥यौ जेलर दासले भने, त्यसपछि सबैको उपस्थितिमा ढोका फोडेर हेर्दा मण्डल झुन्डिएको अवस्थामा फेला परे ।”
    जेलर दासका अनुसार मण्डल गत साउन १३ गते १५ वर्षीय बालिकाको अपहरण तथा बलात्कार गरेको आरोपमा पूर्वपक्षका लागि माघ २१ गतेदेखि राजबिराज कारागारमा थिए ।
    यता मृतकका आफन्तले भने प्रेम सम्बन्धम स्वीकार नगरेका केटीका अभिभावकले अपहरण तथा बलात्कारको झुठो आरोप लगाएर फसाएको तथा षडयन्त्र गरेर कारागार भित्र हत्या गराएको दाबी गरेका छन् । मृतकका आमा अनितादेवी मण्डलका अनुसार देबेन्द्रको सोही वडाकी एक केटीसँग प्रेम सम्बन्ध थियो । प्रेम गहिरो भएपछि उनीहरु भागेर प्रेम विवाह समेत गरेका थिए । तर, केटीका अभिभावकले उक्त प्रेम विवाह अस्वीकार गर्दै प्रहरीमा अपहरण तथा बलात्कारको झुठो उजुरी दिई फसाएको उनको भनार्इं छ । छोरा कारागार चलान भएपछि पनि केटी पटक पटक आफू र छोरालाई कारागारमा समेत गई भेटेको–बोलेको उनले सुनाइन् । 
    यसबारे केटीका अभिभावकले थाहा पाएपछि आफू र छोरालाई डरत्रास र धम्क्याउन थालेपछि छोरा झन तनावमा परेको उनले सुनाईन् । उमेर नपुगि दुबै जनाले प्रेम विवाह गरेकाले कानुनी व्यवस्थाको निहुँमा केटीका अभिभावकले झुठो उजुरी दिएको परिवारजनको दाबी छ । 
    यसैबीच दुई दिनदेखी स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको मण्डलको शव उनका आफन्तको अनुरोध अनुसार सोमबार साँझ पोष्टमार्टमका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट