News Category 2081/03/10

शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने 

दैनिक समाचारदाता

शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने 

दैनिक समाचारदाता
राजविराज, १० असार । 

    सप्तरीको शम्भुनाथ नगरपालिकाले आगामी आ.ब. २०८१÷८२ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरेको छ । नगरपालिकाको १४औं नगरसभाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । 
    नगरसभामा कार्यवाहक नगरप्रमुख अनिता कुमारी चौधरीले आगामी आ.ब. २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । 
    आगामी आर्थिक बर्ष २०८१÷०८२ को लागि ७० करोड ५९ लाख १६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाको कुल बजेटको शसर्त अनुदान चालुतर्फ (संघ सरकार) २१ करोड ९२ लाख २९ हजार विनियोजन गरिएको छ । 
    कूल बजेटमा संघबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ ११ करोड ४१ लाख, राजस्व बाँडफाँडबाट १० करोड ८३ लाख रुपैया प्राप्त हुने बताइएको छ । यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ ८२ लाख ८७ हजार, राजस्व बाँडफाँडबाट ५० लाख, विशेष अनुदानतर्फ ३० लाख र समपुरक अनुदानतर्फ २० लाख प्राप्त हुने प्रस्तुत बजेटमा उल्लेख छ ।
    वार्षिक नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, धार्मिक पर्यटन र सिचाई जस्ता क्षेत्रलाई प्राथमिकता दिइएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा नगरपालिका भित्र रहेका सम्पूर्ण माध्यमिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठनलाई निरन्तरता दिनुका साथै दलित, विपन्न तथा सहिद परिवारका छात्रछात्राहरुलाई स्नातक तहमा अध्ययन गर्न छात्रबृत्तिको व्यवस्था मिलाउने भएको छ । त्यस्तै सामुदायिक विद्यालयमा बालबालिकाहरुलाई टिकाई राख्न संघीय सरकारबाट प्राप्त दिवा खाजामा स्थानीय स्तरमा उत्पादन हुने खाद्यान्न प्रयोगमा ल्याउने, विद्यालयहरुमा स्थानीय भाषा तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आधारभुत तहमा स्थानीय पाठ्यक्रमको निर्माण गरी कार्यान्वयनमा ल्याउने उल्लेख छ । 
    यसैगरि कृषकहरुले उत्पादन गरिने कृषिजन्य खाद्यान्न, उत्पादनमा अभिबृद्धि गरि कृषकहरुको आर्थिक विकासका लागि आगामी आ.ब. २०८१÷८२ देखी कृषि मिटरको महसुल नगरपालिकाले नै भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । त्यस्तै नगर क्षेत्र भित्र स्वास्थय सेवा घरदैलो अभियान अन्तरगत ७० वर्ष भन्दा माथीका बृद्धबृद्धा, दिर्घ रोगि तथा गर्भवति महिलाहरुका लागि मासिक रुपमा घरदैलो स्वास्थ्य जाँचको आवश्यक व्यवस्था मिलाउने, स्वास्थ्य संस्थाहरुमा ग्रामिण अल्ट्रासाउण्ड घुम्ती सेवा तथा ल्याब सेवा निरन्तरताको लागि आवश्यक बजेट व्यवस्था गर्ने उल्लेख छ ।
    त्यस्तै शम्भुनाथ मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरि आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न मन्दिरको गुरु योजना अनुसार विकास कार्यको लागि संघ र प्रदेश सरकारसँग सहकार्य गर्ने, नगर क्षेत्र भित्र रहेका ऐ्लानी दह, ताल, पोखरीहरुको संरक्षण सम्वद्र्धन गरी जिर्ण पोखरीहरुलाई जिर्णोधारको लागि आवश्यक बजेटको व्यवस्था मिलाउने, शम्भुनाथ मन्दिर परिसरमा लाग्दै आएको एक महिने शम्भुनाथ (सिरुवा) मेलालाई अझ बढी व्यवस्थित, मर्यादित बनाई देश तथा बिदेशका पर्यटकहरु भित्रायाउन आगामी वर्ष विशेष प्रकारको मेला महोत्सवको रुपमा संचालन गरिने जनाइएको छ । 
    कार्यवाहक नगरप्रमुख चौधरीकै अध्यक्षतामा आयोजित नगरसभामा प्रमुख प्रशासकीय अधिकृत बिनय सोनु, विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु, कर्मचारी, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट