News Category 2072/04/04

संविधानको मस्यौदामाथि आज क्षेत्र नं. १, २ र ३ मा राय सुझाव संकलन गरिदै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ साउन । 
संविधानको मस्यौदा २०७२ माथि सुझाव संकलन गर्ने कार्यमा सहयोग पु¥याउनका लागि सप्तरीका प्रमुख जिल्ला अधिकारीको निवासमा आइतबार छलफल सम्पन्न भएको छ । 
साउन ४ र ५ गते जनताको राय सुझाव सङ्कलन गरिने कार्य भएको हुँदा सो विषयमा  सभासद्हरु, स्थानीय प्रहरी प्रशासन, विभिन्न राजनीतिक दल, कार्यालय प्रमुख लगायतको उपस्थितिमा बृहत छलफल भएको थियो । 
संविधानको मस्यौदा र खटिएका कर्मचारी, सभासद्को सुरक्षा तथा शान्तिसुरक्षाको पूर्ण व्यवस्थाका विषयमा छलफल भएको सहभागि एक राजनीतिक दलका अध्यक्षले जानकारी दिनुभयो । संविधानको मस्यौदाबारे राय संकलन गर्ने कार्यमा केही दलहरुले बाद्या उत्पन्न गरिरहेको समयमा उनीहरुलाई पनि आफ्नो चित्त नबुझेको कुरालाई मस्यौदामाथी राय सुझाव दिन छलफलमार्फत आग्रह गरिएको छ ।
संविधानको मस्यौदा माथी राय सुझाव संकलन गर्ने कार्य लिखित र मौखिक दुबै प्रकारको हुने सोही छलफलमा सहभागि राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।  
सो छलफल कार्यक्रममा असन्तुष्ट रहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले कार्यक्रममा सहभागि नभई बाहिर निस्केका थिए । 
साउन ४ गते सप्तरी निर्वाचन क्षेत्र नं १, २ र ३ मा र साउन ५ गते क्षेत्र नं ४, ५ र ६ मा संविधान मस्यौदामाथिको सुझाव सङ्कलन गरिने कार्यक्रम रहेको छ ।
जस अन्तरगत साउन ४ गते क्षेत्र नं. १ मा कंचनपुरस्थित अन्नपूर्ण क्याम्पस प्राङ्गण, क्षेत्र नं. २ मा भारदहस्थित विपी माविको प्राङ्गण र क्षेत्र नं. ३ मा राजविराजस्थित जिविस हलमा संविधान मस्यौदामाथिको सुझाव सङ्कलन गरिने कार्यक्रम रहेको छ ।
यस्तै साउन ५ गते क्षेत्र नं. ४ मा पातोस्थित गाविस भवनको प्राङ्गण, क्षेत्र नं. ५ मा कुशहाको उच्च मावि प्राङ्गण र क्षेत्र नं. ६ मा बोदेबर्साइनस्थित उच्च मावि प्राङ्गणमा सो कार्यक्रम रहेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट