News Category 2072/04/04

कंचनरुपसहित विभिन्न गाविसमा मस्यौदा जलाइए

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ साउन । 
सप्तरीको कंचनरुप नगरपालिकाले कंचनपुर बेरियमा आइतबार आयोजना गरेको नगरस्तरीय संविधानको मस्यौदामा सुझाव संकलन कार्यक्रम सुरु नहुदै विथोलिएको छ ।
मधेस केन्द्रित दलका कार्यकर्ताहरुले मस्यौदा जलाउँदै विरोध गरेपछि कार्यक्रम दुई मिनेटमै स्थगित भएको थियो । नगरपालिकाका अधिकृत आनन्द ठाकुरले मस्यौदामा सुझाव सोमबार पनि दिन सकिने भन्दै कार्यक्रम स्थगगित गर्नुभएको थियो । 
सो कार्यक्रम स्थगित भएको आधा घण्टापछि प्रहरीले मधेसवादी दलका कार्यकर्ताहरुमाथि हातपात गरेका थिए । कार्यक्रम स्थगन भएको १ घण्टा पछि कार्यक्रम फिल्डमा रहेका २, ४ जनालाई सुझाव दिन भन्दै कोठा भित्र लगेर उपस्थितीमा हस्ताक्षर गर्न लगाइएको थियो ।
कतिपय सहभागीहरुले मस्यौदा नपाएको प्रति नगरपालिकासँग रिसाएका थिए । नगर अधिकृतले भने आफूहरुसँग जम्मा ४३ थान मस्यौदा मात्र आएकोले त्यसमध्ये १ थान राखेर ४२ थान वितरण गरेको बताएका थिए ।
यसैबिच बरही बिरपुर गाविस भवनमा आयोजित संविधानको मस्यौदामा सुझाव संकलन कार्यक्रममा समेत बिथोलिएको छ । 
गाविस सचिव ओम प्रकाश ठाकुर, सहायक प्राविधिक सिताराम राय सहितकाहरुले संविधानको मस्यौदामा सुझाव संकलन कार्यक्रम आयोजना गरेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले संविधानको मस्यौदा खोसेर जलाएका छन । 
मोर्चासँग आवद्ध संघिय समाजवादी फोरम नेपालका नेताहरु तारकेश्वर यादव, महेश प्रसाद यादव सहितका नेता तथा कार्यकर्ताहरुले संविधानको मस्यौदा गाविस सचिवबाट खोसेर जलाएका हुन ।
यसैबिच सप्तरीको पोर्ताहा गाविसमा समेत संविधानको समस्यौदा मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुले च्यातेका छन । सोही क्रममा २ जनालाई प्रहरीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय कंचनपुरमा राखेका छन् । त्यस्तै जिल्लाको अन्य विभिन्न ग्रामिण भेगहरुमा मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुले मधेश विरोधी संविधानको मस्यौदा जलाएका छन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट