News Category 2072/04/16

मधेशीको हक अधिकारको पक्षमा संघर्ष गर्नका लागि मोर्चा गठन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १५ साउन । 
सप्तरीको विकास निर्माणको प्रक्रियालाई गतिशिल तथा पारदर्शी बनाउन एवं मधेश र मधेशीको हक अधिकारको पक्षमा संघर्षरत रहने प्रतिबद्धताका साथ शुक्रबार मधेशी मोर्चा सप्तरी गठन भएको छ । 
शुक्रबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा गठित मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादवले राज्यबाट जुनसुकै परिस्थितिमा मधेशको हकअधिकार अपहरण गर्ने सोचको बिरोध गर्ने जानकारी दिनुभयो । 
उहाँले गठन भएको मोर्चाले राज्यबाट प्रताडित, पछाडी पारिएका मधेशी, दलित, मुस्लिम, आदिवासी, जनजातीहरुको संघ संस्थासँग सहकार्य र समन्वय गरि अगाडी बढाउने कार्य गर्ने उल्लेख गर्नुभयो । सप्तरी लगायत अन्य जिल्लाहरुमा मधेश र मधेशवादको हकहित तथा संरक्षणको लागि संगठित गरि र मधेशको पक्ष कार्यरत अन्य संघसंस्था, राजनीतिक दल, व्यक्तिहरुलाई संगठित गरि आन्दोलन गर्ने र जनपरिचालन गरि संर्घष गर्ने उहाँले बताउनुभयो । 
सोही पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मार्चासँग फोरम नेपालसँगै, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश सद्भावना पार्टी नेपाल, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, सद्भावना पार्टी गजेन्द्रवादी, नेकपा (माओवादी) र संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति गरि ९ वटा पार्टी तथा भातृसंगठनहरु रहेका छन् । 
यसैगरि सोही पत्रकार सम्मेलनमा मोर्चाले साउन १७ गतेदेखी २३ गतेसम्म पहिलो चरणको कार्यक्रमहरु सार्वजनिक समेत गरेको छ । जस अन्तरगत १७ गते गोरगामा स्कुल, १८ गते पत्थरगाढा स्कुल, १९ गते भारदहस्थित विपी मावि, २० गते खरचुहिया हटिया, २१ गते बोेदेबर्साइन मावि तथा २३ गते कंचनपुरस्थित अन्नपूर्ण क्याम्पसमा अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । 
यस्तै मोर्चाले गजेन्द्रकुमार मण्डलको संयोजकत्वमा ७ सदस्यीय आर्थिक समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा केदार प्रसाद यादव, बिरेन्द्र प्रसाद साह, कपिलदेव यादव, धर्मेन्द्र चौधरी, हरेराम यादव रहेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट