News Category 2072/04/20

आरक्षको बिस्तार गर्ने प्रस्तावित योजना बिरुद्ध प्रदर्शन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ साउन । 
आरक्षको बिस्तार गर्ने प्रस्तावित योजना खारेजको माग कोशी पीडितहरुले मंगलबार राजविराजमा प्रदर्शन गर्दै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पठाएको छ । 
कोशी टप्पु वन्यजन्तु आरक्षको क्षेत्र बिस्तार बिरुद्ध संघर्ष समिति भारदह सप्तरीको अगुवाईमा सो प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत सो ज्ञापन पठाएको हो । 
आरक्ष क्षेत्रको बिस्तारको सरकारी प्रस्तावलाई समर्थन गर्न सप्तरीको भारदह गाविसलाई दवाब सहितको चिठी आएपछि बाध्य भई आन्दोलनको बाटो अपनाउनु परेको गठित संघर्ष समितिका अध्यक्ष शम्भु झाले जानकारी दिनुभयो । 
उहाँले कोशी टप्पु आरक्षबाट जनतालाई कुनै सुविधा नपुग्ने भएपछि आरक्षको बर्तमान पश्चिम तथा दक्षिणी सिमानालाई सप्तरी जिल्लामा बिस्तार हुन नदिने चेतावनी समेत दिनुभयो । 
अध्यक्ष शम्भु झाले आरक्ष क्षेत्र बिस्तारको नाममा सो जग्गा हडपेर यस क्षेत्रका हजारौं परिवारलाई बिचल्ली पार्ने षडयन्त्रमा आरक्षका केहि कर्मचारीको बहकावमा परि माननीय वन मन्त्रालय लागिपरेको भन्दै कोशी टप्पु पीडितहरु आन्दोलित हुन बाध्य गरेको बताउनुभयो ।
बुझाइएको ज्ञापनमा आरक्ष क्षेत्र बिस्तारकालागि प्रस्ताबित भूभाग मध्ये करिव २ हजार बिगहा जग्गामा हाल ब्यवसायीक रुपमै केरा खेती हूुदै आएको छ । आरक्ष क्षेत्र बिस्तार भएमा केरा खेती नास हुनुका साथै यसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ५० हजार भन्दा बढी जनता बेरोजगार हुने उल्लेख छ । 
फष्टाउदै गएको ब्यावसायिक केरा खेतीलाई कृषि मन्त्रालयले थप टेवा पु¥याउने तथा यसै बर्ष मात्र संसदीय निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत लाखौ खर्चेर केरा खेतमा बाटो निर्माण गरेको छ । 
आरक्ष स्थापना कालमै भुमिहिन सुकुम्बासी भएका भारदह, बैरवा, लगायतका हजारौं परिवारलाई आरक्षले हालसम्म कुनै लाभ नदिलाएको बरु कोशी नदीमा पानीको सतह घटेर डुबान क्षेत्र उकास भएपछि त्यहि खेतीपाती गरि जिविका चलाउन थालेको अध्यक्ष शम्भु झाको कथान छ । 
आरक्षलाई दुर्लभ अर्नाको संरक्षित क्षेत्र भनिएपनि पञ्चायती कालमा राजा तथा राजपरिवारले जाडो छल्न र दुर्लभ जन्तुको शिकार खेल्न यो आरक्ष उपयोग हुूदै आएको हो । हाल केहि कर्मचारीलाई पाल्ने, सामान्य घटनामा पनि गरीव निमुखा जनतालाई तह लगाउन झुठा मुद्दा लगाउने, बिभिन्न बहानामा बिदेशसँग भिक्षाटन गर्ने साधनको रुपमा मात्र आरक्ष प्रयोग हुदै आएको उहाँले आरोप लगाउनुभयो । 
सो क्षेत्रको निजी जग्गामा लगाईएको करौडौ रुपैया बराबरको बाली नाली आरक्षबाट निस्केका जानावरहरुले बर्षेनी नोक्सान गर्दै आएको र घरमै सुतिरहेको अवस्थामा आरक्षका जनावरहरुले मान्छे मार्दा समेत आरक्ष प्रशासन संगै सरकार सम्बेदनशील हुन नसकेको प्रति दुःख समेत व्यक्त गर्नुभयो । 
यसको उचित ब्यवस्थापन र घेरवेर आज सम्म पनि हुन नसक्दा आरक्ष क्षेत्रबाट अर्ना, हात्ती, बूदेल लगायतका हिंस्रक जनावरहरु निस्केर सर्वसाधारणको बर्षेनी करोडौ रुपैयाू बराबरको बाली नाली र घर  नोक्सान गर्नुका साथै दर्जनौं निर्दोष ब्यक्तिको ज्यान समेत लिदै आएको छ । 
यता कोशी टप्पु स्थापना भएको ४० बर्ष बित्न लाग्दा सम्म पनि भारदह लगायत आसपासका बासिन्दाको अधिकरण गरिएका सयौं बिगहा जग्गाको मुआब्जा नेपाल सरकारले हालसम्म उपलब्ध गराएको छैन । बि.स.२०५२ सालमा नेपाल सरकारले गठन गरेको कोशी टप्पु वन्य जन्तु आरक्ष जग्गा समस्या समाधान उच्च स्तरीय समितिले आरक्ष निर्माण ताका अधिकरण गरिएका जग्गाको रु. तीन लाख प्रति बिगहा मुआब्जा दिने निर्णय गरेपनि हाल सम्म पीडितले पाउन सकेका छैनन् । 
कोशी सम्झौता अनुसार लिएको उक्त जग्गामा पूर्व प्रतिबद्धता बिपरित यस क्षेत्रमा रहेको घना बस्ती सम्मै जंगली जनाबर पाल्ने गरि नेपाल सरकारको आरक्ष बिस्तारको मानवता बिरोधी योजनालाई भारत सरकारले समर्थन गरे नेपाल भारत सिमा क्षेत्रमा बसोबास गर्ने ५० औ हजार जनता भारतको बिरोधमा समेत आन्दोलित हुन बाध्य हुने छन् ।
हाल मानव बस्ती देखि करिव १० किलोमिटर टाढा रहेको आरक्ष क्षेत्रको बिस्तार भए सघन मानव बसोबास भएको क्षेत्र सम्म जंगली जनावरको पहूुच हुने र मानव बस्ती संकटमा पर्ने ज्ञापन पत्रमा उल्लेख छ । 
आरक्ष बिस्तारको बर्तमान प्रस्ताबित योजनाको खारेजी तथा भबिष्यमा पनि यस्ता योजना नल्याउने लिखित प्रतिबद्धता बन मन्त्रालयबाट नआए सम्म संघर्षको कार्यक्रम जारी रहने र भबिष्यमा अझै कडा संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट