News Category 2072/07/09

प्रहरी दमन बिरुद्ध लाठी जुलुस प्रदर्शन प्रहरीको कुटाईबाट तीनको टाउको फुट्यो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ८ कात्तिक । 
स्थानीय मलेठवासीमाथि प्रहरीले लाठीचार्ज गरेको विरोधमा राजविराजमा आइतबार लाठी जुलुस प्रदर्शन गरिएको छ । 
शनिबार राति सदरमुकाम राजविराजसँगै रहेको जोलहरीमा स्थानीय बासिन्दाहरुले दशैंको अवसरमा आयोजना गरेको नाच हेर्न आएकालाई प्रहरीले लाठीचार्ज गरेको बिरोधमा सो जुलुस प्रदर्शन गरिएको हो ।  
यता सवारीसाधन स्कर्टिङ गरेर लैजानका लागि प्रहरीले लाठीचार्ज गरेको स्थानीयको आरोप छ भने प्रहरीले सवारी साधनमा ढुंगा प्रहार भएको भन्दै थप क्षति हुन नदिनका लागि सामान्य बल प्रयोग गरेको दाबी गरेको छ । 
प्रहरीको लाठीचार्जबाट बसबिटी गाविस ५ का दिपेश कुमार यादव, मलेठ ४ जोलहरीका दशरथ मण्डल र मलेठ १ का बच्चेलाल नोनियाको टाउको फुटेको छ भने पाँच महिलासहित एक दर्जन सामान्य घाईते भएको स्थानीय भीमराज यादवले जानकारी दिनुभयो । 
यता आइतबार बिहानैदेखि सप्तरीको भारदह, पोर्ताहा, मलेठ, झल्ही, रुपनी, कञ्चनपुरसहितका ठाउँहरुमा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका थिए । 
यस्तै शुक्रबार राति पनि भारदहस्थित कंकालिनी मन्दिरमा भईरहेको साँस्कृतिक कार्यक्रमको क्रममा भएको स्कर्टिङमा पनि सवारीसाधनमाथि ढुंगा हानीएपछि प्रहरीले लाठीचार्ज गर्दै केही राउन्ड हवाई फायर गरेको थियो । 
यसैबीच दसैंका लागि तीन दिन सप्तरीमा आन्दोलनलाई खुकुलो बनाइए पनि सोमबारदेखि मोटरसाईकललाई समेत आवत–जावतमा रोक लगाउने मोर्चाले जनाएको छ । 
साईकल र मोटरसाईकलबाट पेट्रोलियम पदार्थको ढुवानी गरी राजधानीसम्म पु¥याउने र कालोबजारीसमेत बढेको भन्दै अब मोटरसाईकलमा समेत बन्देज लगाउने आन्दोलनकारीको भनाई छ । 
मधेसी मोर्चाले गएको साउन ३० गतेदेखि मधेसका जिल्लाहरुमा अनिश्चितकालीन बन्द आह्वान गरेको हो । आइतबार ७२ औं दिन लगतारको हड्तालले सप्तरीको जनजीवन कष्टकर बनेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट