News Category 2072/07/16

आन्दोलनलाई अझ सशक्त बनाउने मोर्चाको निर्णय सरकारसँगको वार्ता बिना निष्कर्ष टुङ्गियो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १५ कात्तिक । 
दुई दिनसम्म जनकपुरमा चलेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले सातबुँदे निर्णयहरु सार्वजनिक गरेको छ भने मोर्चा र सरकारसँग आइतबार सम्पन्न बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।
आइतबार बैठक सम्पन्न पछि मोर्चाले जारी गरेको विज्ञप्तिमा आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु जारी नै रहने जनाएको छ । आमहडताल, राजमार्ग अवरोध, नाकाअवरोध, उद्योग र कलकारखाना लगायत सरकारी कार्यालय तथा वित्तीय संस्थाहरुको बन्दी अझ बढी सशक्त रुपमा अगाडि बढाउने मोर्चाले निर्णय गरेको हो । 
मोर्चाले जनपरिचालनका कार्यक्रमहरु अझ बढी सशक्त र सहभागितामूलक बनाउने निर्णय गरेको हो । सरकारले वार्ताद्वारा समस्या समाधान गर्नुको साटो वार्तालाई निरर्थक तथा उपलब्धीहीन र निष्कर्ष्विहीन बनाई वार्ताको नाटक मात्र रच्ने कार्य गरेको मोर्चाले आरोप लगाएको छ । 
वार्तालाई परिणाममुखी बनाउन सरकार संवेदनशील हुनुपर्ने माग मोर्चाले गरेको छ । शान्तिपूर्ण र अहिंसात्मक सहयोग आन्दोलनका दौरान सम्पूर्ण औद्योगिक तथा व्यावसायिक, किसान लगायतकाले लिएका बैंक ऋणको ब्याज र जरिवाना मिन्हा गर्नुपर्ने माग गरेको छ । संंवैधानिक रुपले मुद्दाहरु सम्बोधन नहुञ्जेलसम्म आन्दोलन निरन्तर रुपमा यथावत नै रहने मोर्चाले जनाएको छ ।
यसैबीच सरकार र मधेशी मोर्चाबीचको आइतबारको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । सरकारका तर्फबाट वार्ता टोलीको नेतृत्व गरेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले वार्ता सकारात्मक भए पनि निष्कर्षमा नपुगेको बताउनुभयो । 
वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री थापाले सिमाङ्कनका बारेमा काँग्रेस लगायतका अन्य दलसँग छलफल गरि सहमति जुटाउने बताउनुभयो । यता अब वार्ता कहिले हुने बारे कुनै समय तोकिएको छैन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट