News Category 2072/07/18

राजविराजमा चोरीको घटना बढ्दै पुनः पसल र घरमा चोरी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १७ कात्तिक ।
बिगत केही समय यता राजविराजमा चोरीका घटनामा निकै बृद्धि भएको छ । 
मधेशमा विगत ८१ दिनदेखि जारी मधेश आन्दोलनका कारण स्थानीय प्रशासन राजमार्ग केन्द्रित भएकाले सप्तरी सदरमुकाम राजविराजमा चोरीका घटनामै निकै बृद्धि भएको हो । 
सोहीक्रममा सोमबार राति राजविराज नगरपालिका ७ स्थित सिरहा रोडमा दुई स्थानमा चोरी भएको छ । राजविराज नगरपालिका ७ स्थित सिरहा रोडमा घर भएका डा.भवानन्द ठाकुरको घरबाट तीन लाखको सरसमान चोरी भएको छ । 
डा. ठाकुर काठमाडौं गएको बेला घरमा कोही नभएको मौका छोपी चोरहरुले घरको ताला तोडी कोठा भित्र रहेको दराजबाट सुन, चाँदीको गरगहाना र नगद सहित सो मुल्य बराबरको समान चोरी भएको पीडितले बताउनुभयो ।
सोमबार मात्र उहाँ फर्केपछि चोरी भएको खुलासा भएको हो । चोरी कसले र किन गरेको खुल्न नसकेपनि चोरी भएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएको पीडित डा.ठाकुरले जानकारी दिनुभयो ।
त्यसैगरी राजविराज नगरपालिका ७ स्थित राम खरीद विक्रि केन्द्र चामल पसलबाट चोरहरुले चामलको बोरा र नगद चोरी गरेका छन् । सो पसलबाट नगद ४ हजार ७ सय, अरवा र चननचुर गरी चार बोरा चामल समेत चोरहरुले लगेको पसल संचालक शम्भु दासले जानकारी दिनुभयो । 
यसैबिच नगरमा बढ्दो चोरीको घटनाको सम्बन्धमा स्थानीय प्रहरी प्रशासन मौन रहेको आरोप नगरबासीहरुले लगाएका छन् । यता सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीले चोरी गर्ने चोरको खोजी कार्य तिव्र रुपमा भईरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट