News Category 2072/10/26

घोषित बन्दमै सप्तरीबाट अघोषित रुपमा यातायात संचालन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २५ माघ । 
मधेशमा ६ महिनादेखी जारि घोषित आन्दोलनकै समयमा सप्तरी सदरमुकाम राजविराजबाट अघोषित रुपमै सोमबारदेखी यातायाताका साधनहरु दिउँसो चल्न थालेका छन् । 
सरकार र आन्दोलनरत मधेशी मोर्चाबीच पटक पटक वार्ता हुँदा समेत कुनै निष्कर्ष निष्कन नसक्दा यहाँका यातायात व्यवसायीहरुले साधनहरु स्वस्फूर्त ढंगले संचालनमा ल्याएका छन् । गत शुक्रबार विरगंज रक्सौल नाका खुलेपछि आइतबारदेखी केही मात्रामा यातायात संचालन हुन थालेपछि सोमबारदेखी खुल्ला रुपमा ती साधनहरु सडकमा गुड्न थालेका हुन् । 
आन्दोलनका कारण पेट्रोलिय पदार्थको अभावका बीच जसोतसो यातायातका साधनहरु केही मात्रामा संचालन भएको छ । सोमबार बिहान यहाँबाट बिराटनगरका लागि माइक्रो तथा बसहरु केही मात्रामा संचालन भएको पूर्वी माइक्रो यातायात संघले जनाएको छ । 
यस्तै राजविराजबाट जनकपुरका लागि पनि मिनि तथा ठूला बसहरु संचालन भएको पश्चिम बस स्टेण्ड काउण्टरले जनाएको छ भने जिल्लाको विभिन्न स्थानमा जाने साना म्याजिक भ्यानहरु पनि संचालनमा आएको छ । 
विगत लामो समयदेखी बन्दका कारण थन्किएका यातायातका साधनहरु आइतबारदेखी मर्मत सम्भार गरि पुनः संचालनमा आएपनि यात्रुहरुको अभावमा न्यून मात्रामा गाडीहरु गुडिरहेका छन् । बन्द सूचारु रहेको तथा खुलेको भन्ने बारेमा दोधारमा रहेका कारण यात्रुहरु अहिले यात्रा गर्न अन्यौलमा परेका छन् । 
यस्तै सप्तरी क्षेत्रमा पर्ने पूर्व पश्चिम राजमार्गमा भने धरान, बिराटनगर, गाइघाट लगायतका स्थानहरुबाट यातायातका साधनहरु पनि संचालन हुन थालेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट