News Category 2072/11/06

काँग्रेसको क्षेत्रिय निर्वाचन सम्पन्न संस्थापक भन्दा देउवा पक्ष बलियो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ५ फागुन ।
नेपाली काँग्रेसको १३औं महाधिवेशनका लागि सप्तरीको ६ वटै क्षेत्रमा मंगलबार निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न पश्चात् मंगलबार रातीसम्म जिल्लाको ५ वटा क्षेत्रको मतपरिणाम आएपनि क्षेत्र नं. ५ को मतगणना बुधबार साँझसम्म जारि रहेको छ ।
प्राप्त मतपरिणाम अनुसार सप्तरी क्षेत्र नं. १ मा ललनकुमार गुप्ता, २ मा बद्रीनारायण महात्मान, ३ मा महानन्द प्रसाद यादव, ४ मा रामप्रकाश मण्डल (राजधोव) र ६ मा जितेन्द्र यादव बिजयी हुनु भएको छ । 
यस्तै क्षेत्र नं. १ मा ललनकुमार गुप्ताले आशाराम चौधरीलाई, क्षेत्र नम्बर २ मा बद्रीनारायण महात्मानले रामअवतार यादवलाई, क्षेत्र नम्बर ३ मा महानन्दप्रसाद यादवले रामकुमार यादवलाई, क्षेत्र नम्बर ४ मा रामप्रकाश मण्डल (राजधोब)ले भगवती यादवलाई र क्षेत्र नम्बर ६ मा जितेन्द्र यादवले खगेन्द्रप्रसाद यादवलाई पराजित गर्नुभएको जिल्ला निर्वाचन अधिकृत लखन प्रसाद यादवले जानकारी दिनुभयो ।
काँग्रेस सप्तरीमा देउवा पक्ष बलियो रहेको अवस्थामा मंगलबारै सम्पन्न भएको क्षेत्रिय अधिवेशनको चुनावी परिमाणले पुनः देउवा पक्षकै बर्चस्व कायम भएको छ । 
मतगणना सम्पन्न भई नतिजा सार्वजनिक भएको निर्वाचन क्षेत्र नम्बरहरु १, २, ३, ४ र ६ मध्ये अधिकांशमा देउवा पक्ष मजबुत रहेको प्रमाणित गरेको छ । तर, दुबै पक्षका नेताहरुले दिएको जानकारी अनुसार केही क्षेत्रमा महाधिवेशन प्रतिनिधिहरुको संख्यामा घटबढ देखिएको छ ।
देउवा पक्षका नेता मानिएका सप्तरी काँग्रेसका सभापति दिनेश यादवले सप्तरी क्षेत्र नम्बर १ मा १०, २ मा ५, ३ मा ६, ४ मा १२ र क्षेत्र नम्बर ६ मा ५ जना गरी कूल ३८ जना आफ्नो तर्फबाट महाधिवेशन प्रतिनिधि चुनिएको दाबी गर्नुभयो ।
यस्तै संस्थापक पक्षका नेता एवं क्षेत्रिय सभापति बद्री महात्मानका अनुसार सप्तरी क्षेत्र नम्बर १ मा २, २ मा ८, ३ मा ६, ४ मा ० र क्षेत्र नम्बर ६ मा ९ गरी २५ जना महाधिवेशन प्रतिनिधि चुनिएको जानकारी दिनुभयो ।
यता सप्तरीबाट प्रतिनिधित्व गर्नु भएका चार मध्ये तीन सांसद समेत महाधिवेशन प्रतिनिधि चुनिनु भएको छ । सप्तरी क्षेत्र नं. २ बाट नेवि संघका केन्द्रिय अध्यक्ष समेत रहनुभएका सांसद रन्जित कर्ण, ३ बाट सांसद सकलदेव सुतिहार र ६ बाट सांसद सुरेन्द्र यादव चुनिनु भएको हो । यस्तै नेता डा. अनिलकुमार झा, यूवा नेताहरु इर्साद अन्सारी, ध्रुव देवसहितका पनि महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ । 
यस्तै बेलायतका लागि नेपालका पूर्व राजदुत रहनु भएका डा. सुरेशचन्द्र चालिशे समेत क्षेत्र नं. ३ बाट महाधिवेशन प्रतिनिधिमा चुनिनु भएको छ । 
यता मतगणना हुन बाूकी रहेको सप्तरी निर्वाचन क्षेत्र नम्बर ५ मा पनि दुबै पक्षबीच कडा प्रतिस्पर्धा देखिएको छ । दुबै पक्षले उक्त क्षेत्रमा आ–आफ्नातर्फ बढी प्रतिनिधि छनौट हुने जनाएका छन् ।
यसअघि अधिकांश गाविस, नगर वडा र नगरपालिकामा सहमतीबाट नै काँग्रेसको अधिवेशन सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट