News Category 2072/11/11

सांसद रामद्वारा सन्त गुरु रवि दासको स्मारक शिलान्यास

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० फागुन ।
सन्त गुरु रवि दास महाराजजीको ६३९ औं जन्म जयन्तीको अवसरमा सप्तरीको लोहजारा गाविस ४ स्थित सन्त गुरु रवि दास महाराजजीको स्मारक सोमबार एक समारोहबिच सांसद तथा पूर्व सिंचाई राज्य मन्त्री रमणी रामले शिलान्यास गर्नुभएको छ । 
सन्त गुरु रवि दास फाउण्डेशन नेपालको आयोजनामा लोहजारास्थित ठाकुर बाबा दह पर्यटकीय क्षेत्रदेखि दक्षिण सन्त गुरु रवि दासको महाराजजीको स्मारकको समारोहबिच सांसद रामले शिलान्यास गर्नुभएको हो । 
शिलान्यास समारोह पश्चात् आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि सासंद रामले उक्त दहलाई उचित संरक्षण सम्बर्धन तथा प्रचार प्रसार गरेको खण्डमा भविष्यमा पर्यटकीय स्थलको रुपमा चिनाउँन सकिने विश्वास ब्यक्त गर्नुभयो । 
उहाँले समाजमा देखिएको जातीवादलाई समाप्त नभएसम्म देश र समाजको विकास निर्माण कार्य अगाडी नबढ्ने भएकोले जातिवादको जडैदेखि अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । 
फाउण्डेशनका बालेश्वर रामको अध्यक्षता तथा फाउण्डेशनका अध्यक्ष भोला रामको विशिष्ट आतिथ्यमा आयोजित सो समारोहमा स्थानिय शिक्षक शुभ नारायण यादव, पण्डित कुवेर दास, डा.सहदेव, बृद्धिजीवी देव नारायण राम, लोहजारा गाविसका निवर्तमान अध्यक्ष जय प्रकाश यादव, दलित अगुवा दुखी राम लगायतका बक्ताहरुले आ–आफनो धारणा राख्नुभएको थियो । 
कुल १३ लाखको लागतमा निर्माण हुने सो पर्यटकीय क्षेत्र संसदीय विकास कोषबाट सासंद रामले वर्षेनी ३ लाख ५० हजार उपलब्ध गराउँने तथा जनश्रमदान वापत थप ५० हजार आर्थिक हसयोग गर्ने फाउण्डेशनका अध्यक्ष भोला रामले जानकारी दिनुभयो ।
सोही अवसरमा विभिन्न क्षेत्रमा योग्दान गर्ने दुई दर्जन ब्यक्तिहरुलाई सम्मान समेत गरेको छ । एक हजार आठ वटा कलश सहित निकालिएको कलश यात्रा लोहजाराको विभिन्न भागको परिक्रमा पश्चात दहमा जल भरेर महाराजजीको स्थानमा पुगेर कलश यात्रा सम्पन्न गरेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट