News Category 2072/12/18

प्रधानमन्त्री ओली चीनको मोहरा ः वरिष्ठ राजनीतिज्ञ मण्डल

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ चैत । 
वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी मुलुक चीनको मोहरा बनेको आरोप लगाउनु भएको छ । 
सप्तरी सदरमुकाम राजविराजमा आफ्नै निवासमा बुधबार पत्रकार सम्मेलन गरि प्रधानमन्त्री ओलीको चीन भ्रमण बारे प्रतिक्रिया दिँदै यस्तो आरोप लगाउनु भएको हो । 
वरिष्ठ राजनीतिज्ञ मण्डलले मुलुकको सार्वभौमसत्ता, अखण्डता विपरीत प्रधानमन्त्री ओलीले चीनसँग सम्झौता गरेको र नेपालको भूमी सम्बन्धी सीमा आयोग गठन गरेर नेपालको भूभाग चीनलाई हस्तान्तरण गर्न खोजेको आरोप समेत लगाउनुभयो । 
प्रधानमन्त्री ओलीले चीन भ्रमणका बेला संयुक्त विज्ञप्तिमा एक अर्काको भौगोलिक अखण्डता, स्वाधिनता र सार्वभौमसत्ताको सम्मान गर्दै अघि बढ्ने उल्लेख भएको तर कुन देशको भौगोलिक अखण्डता, सार्वभौमिकता माथी कहाँबाट खतरा रहेको प्रष्ट नरहेकोले सो कुरा प्रष्ट पार्न प्रधानमन्त्री ओलीसँग उहाँले आग्रह गर्नुभएको छ । 
उहाँले २०४७ सालको संविधान संसारकै उत्कृष्ट संविधान भनिरहँदा त्यो संविधान समेत केही वर्षमै समाप्त भइसकेको अवस्थामा अहिले कसैको समर्थनले नेपालको संविधान कार्यान्वयन तथा संविधानको आयु लम्बिन नसक्ने उहाँको तर्क रहेको छ ।
उहाँले राजा महेन्द्रले चीनसँग सम्झौता गरे जस्तै अहिले प्रधानमन्त्री ओलीले आफ्नो सरकार जोगाउन राजा महेन्द्रकै पथमा चीनसँग सम्झौता गर्नुभएको आरोप लगाउनुभयो ।
चीन राजनीति रुपले अगाडी बढेको तर, सामाजिक र नागरिक हकको उद्दारमा अहिले पनि पछाडी रहेकोले चीन नेपालमा संघीयताको ढाँचा स्विकार गर्न नसक्ने मानसिकतामा रहेको जिकिर गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट