News Category 2073/01/27

कर्मचारीद्वारा धर्नालाई निरन्तरता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ बैशख ।
गत माघ महिनादेखी विभिन्न सांकेतिक रुपमा आन्दोलन गर्दै आइरहेका राजविराज नगरपालिकाका कर्मचारीहरु मंगलबारदेखी १३ बुँदे माग राख्दै धर्नालाई निरन्तरता दिएका छन् ।
नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङको कार्यशैलीमा सुधार, हचुवाको भरमा गरिएको गोप्य परिषद् बदर गर्नुपर्ने, तीन महिनादेखि रोकिएको तलब उपलब्ध गराउनुपर्ने, उमेर हद तथा स्वेच्छिक अवकाश पाउने कर्मचारीलाई एकमुष्ट उपदान उपलब्ध गराउनुपर्नेलगायत १३ बुँदे माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
तीन महिना बढी समय सम्ममा समेत माग पुरा नभएको भन्दै धर्ना राजविराज नगरपालिका  कर्मचारी एशोसिएशनले कार्यक्रमलाई निरन्तरता दिएका हुन् । आन्दोलनको पहिलो दिन दुई घण्टा र माग पुरा नभएसम्म प्रत्येक दिन एक एक घण्टा समयअवधी थप गर्दै आइतबार कर्मचारीहरुले बिहान १० बजेदेखी दिउँसो ४ बजेसम्म धर्ना दिएका छन् ।
यसअघि, कार्यकारी अधिकृत गुरुङलाई १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका कर्मचारीहरूले माग पूरा हुने संकेत नदेखेपछि बाध्य भएर धर्नामा बसेको नगरपालिका कर्मचारी एशोसिएशनका अध्यक्ष उमेश प्रसाद यादवले बताउनुभयो ।
उहाँले सोमबार कार्यालय अवधीभर ७ घण्टा धर्ना दिने र त्यसले पनि माग पुरा नभए मंगलबार नगरपालिकामा तालाबन्दी गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । 
यता धर्नाका कारण आइतबार अरु दिन भन्दा बढी नै कार्यालयको कामकाज अवरुद्ध भएपछि सेवाग्रहीहरु कामकाज गराउनबाट बञ्चित समेत भएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट