News Category 2073/05/01

सगरमाथा अंचलमा ७ हजार बढी मुद्दाहरु फर्छयौट

दैनिक समाचारदाता



दैनिक समाचारदाता
राजविराज, ३२ साउन । 
पुनरावेदन अदालत राजविराजसहित सगरमाथा अंचलका ७ अदालतले आर्थिक वर्ष २०७२÷७३ मा कुल ७ हजार १ सय ७६ मुद्दाहरु फर्छयौट गरेको छ । 
जसमा पुनरावेदन अदालत राजविराजले १ हजार ६ सय ३०, सप्तरी जिल्ला अदालत राजविराजले २ हजार ६ सय ५, सिरहा जिल्ला अदालतले १ हजार ६ सय ९५, उदयपुर जिलला अदालतले ६ सय ४२, खोटाङ जिल्ला अदालतले २ सय १७, ओखलढुंगा जिल्ला अदालतले २ सय ३५ र सोलुखुम्बु जिल्ला अदालतले १ सय ५१ मुद्दाहरु फर्छयौट गरेको हो । 
मंगलबार राजविराजस्थित पुनरावेदन अदालतले गरेको संचारकर्मीहरुसँगको अन्तरक्रियामा अदालतका रजिष्टार मान बहादुर कार्की सो तथ्याङ्क सार्वजनिक गर्नुभएको हो । 
यता गत आर्थिक वर्षमा पुनरावेदन अदालतले एउटा पनि मेलमिलापको मुद्दाहरु फर्छयौट गर्न नसकेको जनाएको छ । गत वर्ष पुनरावेदन अदालतमा ७२ वटा मेलमिलापका मुद्दाहरु दर्ता भए पनि त्यस मध्ये एउटा पनि मुद्दा फर्छयौट नभएको जनाएको छ । 
यता पुनरावेदन अदालतमा चालु आव २०७३÷७४ मा गत आर्थिक वर्षको २ हजार ७ सय २ मुद्दाहरु जिम्मेवारी सरी आएको रजिष्टार कार्कीले जानकारी दिदै चालु आवमा ३ हजार ५ सय ३८ मुद्दाहरु फर्छयौट गर्ने अनुमान गरेको बताउनुभयो । 
अन्तरक्रियामा रजिष्टार कार्कीले चालु आवमा पुनरावेदन बढी पर्ने सप्तरी र सिरहाका लागि सप्तरी र सिरहा फाँट बेग्ला बेग्लै खडा गरी मुद्दा व्यवस्थापन गर्ने व्यवस्था मिलाउने तयारी गरेको जानकारी दिनुभयो । यस्तै सेवाग्राहीहरुलाई अदालत प्रवेश गर्दा पासको व्यवस्था मिलाइने जनाइएको छ । उहाँले चालु आवमा गत आव जस्तै रिटहरुलाई एक वर्ष नाघ्न नदिइने जनाउँदै थुनुवा मुद्दा, साना प्रकृतिका मुद्दा र प्राथमिकता प्राप्त मुद्दालाई एक वर्ष नाघ्न नदिइने बताउनुभयो । 
यसैगरी आवश्यकता अनुसारका ईजलास अधिकृत, कम्प्युटर अपरेटर र प्रयाप्त कम्प्युटरहरुको व्यवस्था गरी फैसला भएको मितिले १५ दिन भित्र फैसला तयार गर्ने व्यवस्थाका साथै सबै प्रतिवेदनहरु दर्ता भएको मितिले एक महिना भित्र फर्छयौट गर्ने प्रयास गरिने उहाँले जानकारी दिनुभयो । 
सो अन्तरक्रियामा पुनरावेदन अदालतका मुख्य न्यायाधिश कुमार चुँडाल, न्यायाधिशहरु उमेश कुमार सिंह, निता गौतम दिक्षित, माधव पौडेल, राजकुमार वन लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट