News Category 2073/05/11

त्रिशूली नदीमा बस खस्दा २२ को मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
चितवन, १० भदौं । 
नारायणगढ–मुग्लिन सडक खण्डको चण्डीभञ्ज्याङ गाविसको कालीखोला नजिकैबाट शुक्रबार बिहान त्रिशूली नदीमा बस खस्दा २२ जना को मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । 
पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग १ ख ३७०९ नम्बरको बस गौरबाट ३० जना यात्रु लिएर आएको थियो । चन्द्रनिगाहपुरबाट चढेका नौ जना यात्रु र चालक दलका तीन जना सवार रहेको प्रहरीले जनाएको छ । 
घटनास्थलमा २१ जनाको मृत्यु भएको हो भने उपचारको क्रममा चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । यता अन्य केही हराइरहेको आशंकामा प्रहरीले खोजी कार्य जारी राखेको छ । 
मृत्यु हुनेहरुमा मुदलवा–३ बस्ने ३६ वर्षीय चितरन्दन यादव, लौकाह बस्ने ३० वर्षीय राकेश यादव, कटहरिया–९ बस्ने ३५ वर्षीय बृजकिशोर कुशहवा, महमदपुर–८ बस्ने २४ वर्षीय प्रमोद राम, बसतपुर–१ का २५ वर्षीय गणेशकुमार साह, मुदलवा–६ बस्ने ३३ वर्षीय राजेशप्रसाद यादव, गौरी नगरपालिका–१२ बस्ने ५५ वर्षीय जोखु साह, इनरुवा–७ बस्ने ६५ वर्षीय जोगेन्द्र गिरी रहेका छन् । 
सनाखत भएका अन्य दुईमा भारत पूर्वी चम्पारण विहारका ३६ वर्षीय थेकन ठाकुर र ३७ वर्षीय शङ्कर ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अन्यको सनाखत हुने क्रम जारी रहेको प्रहरीको भनाइ छ । नदीमा अझै चार जना बेपत्ता भएको अनुमानमा प्रहरीले खोजी कार्य जारी राखेको छ । 
घाइते मध्ये १२ जनाको चितवन मेडिकल कलेज र चार जनाको कलेज अफ मेडिकल साइन्सेसमा उपचार भईरहेको छ । 
चितवन मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेमा भारत सितबनीका २८ वर्षीया सुगन्ती गुप्ता, सोही ठाउँका २८ वर्षीय राजेश गुप्ता, गुप्ताकी ५ वर्षीया छोरी सुयता गुप्ता, गुप्ताकै दुई वर्षका छोरा आकाश गुप्ता रहेका छन् । 
त्यसैगरी सोही मेडिकल कलेजमा उपचाररत बसका सहचालक धादिङका २० वर्षीय राजन पाण्डे, पोखरा उपमहानगरपालिका–१५ का २० वर्षीया दिपीका थापा, रौतहट इनरबारी–४ का २८ वर्षीय रीतेसकुमार ठाकुर, रौतहट चन्द्रनिगाहपुरका नौ वर्षीया मिली साह, निजका दुई वर्षीय भाइ प्रिन्स साह, रौतहट भेडीआही–७ का ३० वर्षीय शेस्स राज, भारत शिवहर जिल्लाका ३६ वर्षीय फेकु राय र रौतहट वडहरवा–२ का २४ वर्षीय प्रमोद दास रहेका छन् । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 
त्यसैगरी कलेज अफ मेडिकल साइन्सेसमा चन्द्रनिगाहपुर–३ का २५ वर्षीय श्याम न्यौपाने, चन्द्रनिगाहपुर–५ का ४० वर्षीय सन्जय साह, सर्लाही वसन्तपुर–१ का २५ वर्षीय अविनासकुमार चौधरी र गौरी नगरपालिकाका–११ वर्षीय सुशान श्रीवास्तवको उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 
यसैब्ीच राष्ट्रपति विद्यादेवी भण्डारीले बस दुर्घटना भई त्रिशूली नदीमा खस्दा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । 
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यद्वारा शुक्रबार जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले सो घटनामा परी मृत्यु भएका शोक सन्तप्त परिवारप्रति भावपूर्ण समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । 
यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस दुर्घटनामा परी निधन भएका नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेको तत्काल उद्धार गर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ । 
प्रधानमन्त्री दाहालले चितवन जिल्ला प्रशासनलाई सो निर्देशन दिनुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । 
प्रधानमन्त्रीले तत्काल घाइतेको उद्धार गर्न र उनीहरूको उपचारको प्रबन्ध गर्न जिल्ला प्रशासन र स्थानीय पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको हो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट