News Category 2073/05/19

युवाहरुद्वारा ५० हप्ते सरसफाई अभियान प्रारम्भ प्रहरी कार्यालयको छेउमा थुप्रिएको फोहोर सफा गरियो

दैनिक समाचारदाता

राजविराज÷राजविराज नगरपालिका फोहरसँगै सँुगुरको आतंकबाट त्रसित रहिरहेको बेला सप्तरी जिल्लामा पहिलो पटक युवाहरुले ५० हप्ते सरसफाई अभियान शनिबारदेखि प्रारम्भ गरेको छ । 
जिल्लामा पहिलो पटक युवा सम्मेलन गराउन सफल सप्तरी जिल्ला युवा सम्मेलन मूल समारोह समितिले सो सरसफाई अभियान प्रारम्भ गरेको हो । 
राजविराज ७ स्थित जिल्ला प्रहरी कार्यालयको छेउमा थुप्रिएको अत्यधिक फोहोर युवाहरुले सफा गरि अभियानको सुरुवात गरेका हुन् । निकै दिनदेखी जमेको फोहोरले दुर्गन्ध बढेको, लामखुट्टेको प्रकोप बढेको कारण सरसफाई अभियान प्रारम्भ गरिएको समिति सदस्य मोहन यादवले जानकारी दिनुभयो । 
करिब सय जनाको संख्यामा रहेका युवाहरुले दुई घण्टा लगाएर फोहोर सफा गरेका हुन् । सरसफाईमा समितिका युवाका साथै राजविराज नगरपालिकाका सरसफाई कर्मचारी, सामाजिक क्षेत्रमा कृयाशिल व्यक्तिहरुले पनि सहभागिता रहेको थियो । 
प्रत्येक हप्ता फोहोर सफा गर्ने कार्यलाई निरन्तरता दिइने अर्का सदस्य आयुष श्रेष्ठले जानकारी दिनुभयो । सरसफाई अभियानको उद्घाटन अवसरमा बोल्दै बक्ताहरुले स्थानीयहरुलाई सफाई गर्न जागरुक बन्नुपर्नेमा जोड् दिए । उनीहरुले फोहोर गर्नेलाई लाज लगाउनुपर्ने र जरिवाना तोक्नुपर्ने बताए । 
अभियान उद्घाटनका प्रमुख अतिथी सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले आफ्नो अगाडि रहेको फोहोर आफैं सफा गर्नुपर्नेमा जोड् दिदै भन्नुभयो, “एक त फोहोर फ्याँक्नै नहुने र फयाँकिए आफैं सफा गर्नुपर्छ ।”
उहाँले फोहोरकै कारण सुँगुर छाडामा रमाउन चाहेको बताउँदै एक हप्ता अगाडि नै सुँगुर नियन्त्रणको सन्दर्भमा गरिएको निर्णय अब कार्यान्वयन गरिने जानकारी दिनुभयो । उहाँले एक हप्ताभित्रै सुँगुरलाई नियन्त्रणमा लिई मारेर नष्ट गरिने या त जंगलमा छाडिने बताउनुभयो । 
कार्यक्रममा बोल्दै राजविराज नगरपालिकाका कार्यकारी अधिकृत बिष्णु प्रसाद गुरुङ्गले युवाहरुले देखाएको सकृयता सह्रानीय भएको बताउँदै आफूले हरेक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले युवाहरुले चाहेमा जस्तोसुकै काम गर्न सक्ने बताउँदै फोहोर गर्नेलाई लाज लगाउनुपर्नेमा जोड् दिनुभयो । 
जिल्ला खानेपानी तथा सरसफार्य डिभिजन कार्यालयका प्रमुख लोकेन्द्र यादवले युवाहरु सरसफाईमा जुर्मुराएकाले अब सरसफाईले पुर्णता पाउने विश्वास व्यक्त गर्नुभयो ।
युवा समितिका संयोजक श्रवणकुमार देवको अध्यक्षतामा आयोजित अभियान उद्घाटन सत्रमा सदस्य मोहन यादवले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संचालन आयुष श्रेष्ठले गर्र्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट