News Category 2073/06/27

मुस्लिम समुदाय असन र हुसेनको सम्झनामा मुहरम पर्व मनाउँदै घरेलु हतियार कला प्रदर्शन, बिभिन्न स्थानमा दाहा मेला

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ असोज । 
एतवे दुवा माँगै छी अल्लाह 
मिथिलेमे तुँ हमरा जनम दियह
जनम–जनम धरि हमरा मौला 
मिथिलेमा तुँ जनम दियह.....
यति बेला मिथिलाको पावन धर्ति मुहर्रम पर्वको धूमले गुञ्जायमान भएको छ । मुस्लिम समुदायको अर्को महान पर्व मुहर्रम सप्तरीको सदरमुकाम राजविराज सहित देशका बिभिन्न जिल्लामा बसोबास गर्दै आएका मुसलमानहरुले बुधबार र बिहिबार भब्यता पूर्वक मनाउँदै छन् । साहिल अनवरको यो गितले मिथिला क्षेत्र कला, संस्कृतिको भण्डार भएकोले अल्लाहसँग मिथिलामा पटक पटक जन्म होस् भनि दुवा माग्दै गरेको बुझिन्छ । 
कम्तिमा एक हप्ता अघिदेखि नै डम्फा सहितका बाजा–गाजाका साथ किशोर, युवा तथा प्रौढहरुको समूहले कला कौशलता प्रदर्शन गर्ने गर्दछन् । ईराकको करवाला मैदानमा यहुदीसँगको लडाईमा पैगम्बर मुहम्मदका दुई नाति असन र हुसेन मारिएको दिनलाई सम्झना गर्दै यो पर्व मनाईदैआएको हो । 
असन र हुसेनको प्रतिक सिपर, तजिया, दाहा बनाएर लाठी तथा घरेलु हतियारको कला प्रदर्शन गर्दै मुहर्रम पर्व मनाईन्छ । मुसलमानहरुको धार्मिक स्थल जामे मस्जिदबाट घरेलु हातहतियारका साथ सिपर÷तजिया लिएर युद्ध कौशलता प्रस्तुत गर्दै रन (मैदान) मा लगेर बिधिवत रुपमा साँझ अन्त्येष्टि गरिने राजबिराज–३ का मो.ऐजाजुलले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुहर्रम पर्वका अवसरमा सिपर÷तजिया निकाल्ने बेलामा मुसलमानहरु छाती पिट्दै मातम दुःख मनाउने गर्दछन् । त्यसैले यो पर्वलाई दुःख मातमको पर्व पनि भनिन्छ । मुस्लिम समुदायको घना बस्ती रहेको सप्तरी जिल्लाको राजबिराज नगरपालिका, थलही, सारस्वर, टिकुलिया, बरमझिया, हनुमाननगर, तोपा सहितका स्थानहरुमा यो पर्वका अवसरमा तजिया÷दाहा बनाईएको छ । 
यो पर्व मुस्लिम समुदायसँग सम्बन्धित रहेपनि तजिया घुमाउने क्रममा मुस्लिम समुदायका साथै हिन्दुहरु समेत दर्शकको रुपमा सहभागि हुने गरेको मुस्लिम समुदायका युवा सब्बिर आजम बताउँछन् । सप्तरी जिल्लामा हिन्दू र मुस्लिम बिचको सद्भाव सदियौंदेखि रहँदैआएको बताउँदै उनी भन्छन्– राजबिराजका साथै बिभिन्न स्थानहरुमा आयोजना हुने दाहा मेला आयोजना गरिएको छ, यो मेला तराइमै चर्चित मानिन्छ । 
मुहर्रममा बृद्ध ब्यक्तिहरुको शरिरमा समेत जवानको ताकत आउने गरेको कुरा डम्फाको चोटसँगै घरेलु हतियार चलाउने कलाबाट पुष्टि हुने गरेको मैथिली साहित्य परिषद राजबिराजका अध्यक्ष देवेन्द्र मिश्रको भनाइ छ । परापूर्वकालदेखि चल्दैआएको यस्ता साँस्कृतिक परम्परालाई निरन्तरता दिनुपर्ने उहाँको सुझाव छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट