News Category 2073/08/19

तिवारीको अनसनप्रति मोर्चाको ध्यानाकर्षण

दैनिक समाचारदाता

राजविराज÷अस्पताल सुधारको माग गर्दै विगत ११ औं दिनदेखी आमरण अनसनमा बस्नु भएका नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीको अवस्था गम्भिर बन्दै गइरहेकोप्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको ध्यानाकर्षण भएको छ । 
मोर्चा सप्तरीका संयोजक अमरनाथ मण्डलद्वारा शनिबार जारि विज्ञप्तिमा तिवारी मागप्रति स्थानिय प्रशासन र स्वास्थ्य मन्त्रालय गम्भिर नभएको भन्दै सो कार्यको घोर भत्र्सना गर्दै बिरोध गरिएको छ । 
जारि विज्ञिप्तमा अस्पताल सुधार जस्तो संवेदनशिल र महत्वपूर्ण माग मानव अधिकार र जनताको आधारभूत आवश्यकताको सवालसँग जोडिएको विषय रहेकोले स्वास्थ्य मन्त्रालयले तदारुकता देखाउनु आवश्यक रहेको उल्लेख छ । साथै विज्ञप्तिमा उक्त माग सम्बन्धमा सम्बन्धित निकायले सिघ्र पहल गर्नु पर्ने भन्दै समस्या समाधान नभए मोर्चा कठोर आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । 
अध्यक्ष तिवारीले अस्पताललाई बालमैत्री बनाउनुपर्ने, बिरामी बालबालिकालाई उपलब्ध हुने खानाको सुप्रबन्ध हुनुपर्ने, अस्पतालमा भर्ना हुने रोगीलाई स्वास्थ्य, पोषिलो खाना भरपेट उपलब्ध हुनुपर्ने, अस्पतालमा स्वच्छ पिउनेपानीको व्यवस्था हुनुपर्ने, अस्पतालको मूल गेटको निर्माण, नाक, कान, घाँटी, छाला रोग, शाडजोर्नी, मुटुरोग, रेडियोलोजिष्ट लगायतका चिकित्सक प्राविधिक उपलब्ध हुनुपर्ने माँग सहित अनसनमा बस्नु भएको हो ।
यस्तै अस्पतालमा प्रसुती गृह लगायत निर्माणधीन भवनहरुको निर्माण कार्य अविलम्ब पुरा हुनुपर्ने, चिकित्सकहरुका लागि आवासको व्यवस्था हुनुपर्ने, शल्य चिकित्सकसम्बन्धी सम्पूर्ण सामाग्रीको व्यवस्था हुनुपर्ने, अस्पतालका बेडहरुमा बेडसिट राखिनुपर्ने, वार्डहरुमा रहेका शौचालय तथा धाराहरु चालु गर्नुपर्ने, अस्पतालमा रहेका पंखा र झ्यालहरु मर्मत सम्भार हुनुपर्ने र एसीको व्यवस्था, अस्पतालको मूल गेटमा फोहर फालिने गरेकोले सोको तत्काल व्यवस्था गर्नुपर्ने, अस्पताल परिसरमा सँुगुर तथा अन्य जनावरको प्रवेश रोक्न उचित व्यवस्था, आवश्यक सुरक्षा गार्डको व्यवस्था हुनुपर्ने माग गर्नुभएको छ ।
यसैगरि अस्पताल परिसर, स्वास्थ्यपरीक्षण, उपचार कक्ष र वार्डहरुको नियमित दैनिक तिनपटक सफाई हुनुपर्ने, ठाउँठाउँमा फोहर संकलनका लागि डस्टबिन र कन्टेनर राख्नुपर्ने तथा डस्टबिन र कन्टेनरमा संकलन हुने फोहर दैनिक रुपमा उठाई व्यवस्थापन गर्नुपर्ने माग रहेको छ । 
यसैगरी जिन्सी खाता अनुसारको सम्पुर्ण खर्च भएर जाने र खर्च भएर नजनो विवरण उपलब्ध गराउनुपर्ने, बिरामीलाई उपलब्ध गराईने खानाको विवरण र सोको ठेक्का बन्दोवस्ती विवरण उपलब्ध गराउनुपर्ने, सुत्केरी गर्भवतिका लागि पोषण खाना, लुगा इत्यादी प्रसुति सम्बन्धि आएको प्रत्येक महिनाको प्रोत्साहन भत्ता, परिवार नियोजन सम्बन्धि विवरण उपलब्ध गराउनुपर्ने तथा इमरजेन्सी र बाहिर चिकित्साका लागि उपलब्ध हुने औषधिहरुको लिष्ट उपलब्ध गराउनुपर्ने लगायतका माँगहरु अघि सारिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट