News Category 2073/09/26

मधेशका सामन्त र जमिन्दारहरु मधेसी जनतालाई अझै शोषण गर्दै ः नेपाल

दैनिक समाचारदाता

दैनिक समाचारदाता
सुनसरी, २५ पुस ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले एमालेलाई मधेसबाट कसैले खेद्ने सपना देखेको भए उसैलाई जनताले खेद्ने बताउनु भएको छ । 
सुनसरीको हरिनगरा गाविसमा सोमबार सम्पन्न एमालेको जनजागरण अभियानलाई सम्बोधन गर्दै उहाँले मधेसका सामन्त र जमिन्दारहरु मधेसी जनतालाई अझै पनि शोषण दमन गर्न सकिन्छ भनेर अधिकारका कुरा गरिरहेको आरोप समेत लगाउनु भयो । 
सभामा वरिष्ठ नेता नेपालले एमालेलाई मधेसबाट बाजा बजाएर बिदा गर्ने भन्नेहरु जनताबाट हारेका भगौडा भएको आरोप लगाउँदै भन्नुभयो, “हामी मधेसका धर्तिपुत्र हौं । एमाले मधेसमै जन्मिएको र मधेशमै हुर्किएको पार्टी हो, ।”
एमालेको सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य जगदीश कुसियत, महफुज अन्सारी, तैयव अन्सारी लगायतले मधेसी जनतालाई भ्रममा पार्नेहरुको भण्डाफोर अभियान हरिनगराबाट शुरु भएको बताउनुभयो ।
यता कार्यक्रम शुरु हुनुअघि विभिन्न गाविसबाट एमाले समर्थकहरुले जुलुस निकालेका थिए । मधेसी मोर्चाका कार्यकर्ताहरुले माधव नेपाल जाने सडकका ठाउँ ठाउँमा टायर बालेर अवरोध प्रयास गरेका थिए । 
यसैबीच सो कार्यक्रम स्थलमा मधेशवादी दलका कार्यकर्ताहरुले ढुङ्गामुढा समेत गरेका थिए । त्यसपश्चात् प्रहरीले केहीलाई पक्राउ समेत गरेको थियो । 
यसअघि आइतबार साँझ सो क्षेत्रमा ‘मधेसबाट एमालेलाई विदाइ कार्यक्रम ।’ लेखेको ब्यानर लिएर मसाल जुलससहित मधेशवादी दलले प्रदर्शन गरेका थियो । सोही जुलुसमा सहभागिहरुले ‘एमालेलाई मधेस नचाहिने भए मधेसीलाई एमाले किन चाहियो ?’ भन्ने ब्यानर समेत बोकेका थिए ।
मधेसकेन्द्रित दल र सत्ता पक्षका कार्यकर्ताले सुनसरीको हरिनगराबाट एमाले मुक्त मधेस बनाउने भन्दै बाजा बजाएर ‘बिदाई कार्यक्रम’ गरिएकै ठाउँमा सोमवार एमालेले शक्ति प्रदर्शन गरेको हो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट