News Category 2073/10/22

सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
सिरहा, २१ माघ । 
राज्यविरुद्धको सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धका संयोजक चन्द्रकान्त राउत (सीके राउत) लाई थप १० दिन थुनामा राखी अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ । 
मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालय लहानले म्याद थप माग गरेपछि अदालतले यस्तो आदेश दिएको हो । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनुसार अदालतको यो आदेशसँगै राउतलाई थुनामा राखी अनुसन्धान गर्न र उहाँविरुद्ध थप प्रमाण जुटाउन सहज हुनेछ । 
गत माघ ५ गते सिरहाको लहानको सभामा राउतले मधेस छुट्टै देश बन्ने अभिव्यक्ति दिनुको साथै देश टुक्र्याउने गतिविधि सञ्चालन गर्दै आएकाले उहाँमाथि राज्यविरुद्ध सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । 
सप्तरीको महदेवा गाविस घर भई जनकपुरमा कोठा भाडा लिएर बस्दै आएका राउतलाई हिजो बिहीबार जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले पक्राउ गरेको थियो ।
राउतलाई म्याद थपको लागि अदालत लगिने भएपछि बिहानैदेखि लहानको सुरक्षा व्यवस्था कडा पारिएको छ । राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लबको मुद्दा चलेको थियो । तर उहाँ धरौटीमा छुटेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट