News Category 2073/12/16

म्यादी प्रहरी भर्नामा युवाहरुको आकर्षण बढ्दै, २ हजार ९१ को आवेदन दर्ता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ चैत । 
म्यादी प्रहरीमा भर्ना हुनका लागि सप्तरीका युवाहरु अहिले तछारमछार गर्दै आवेदन भर्न भ्याई नभ्याई छन् । सरकारले स्थानीय तहको निर्वाचनका लागि देशभरि ७५ हजार म्यादी प्रहरी भर्ना गर्न सूचना निकालेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा अहिले दिनहुँ हजारौं युवाहरु आवेदन दिन व्यस्त देखिन्छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले म्यादी प्रहरीको आवेदन आह्वान गरेसँगै आवेदनकर्ताहरुको दैनिकी रुपमा भिंड बढ्दै गएको देखिन्छ । भिंड बढेपछि मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीको मूल गेट अगाडी एक प्रहरी अधिकारीले हिन्दी भाषा मै म्याकिङ गरेर आवेदकहरुको प्रवेशपत्र लिन आउनका लागि नाम बोलाउन भ्याई नभ्याई देखिए । यता निवेदन दिएर आफ्ना प्रवेशपत्र लिन गेट बाहिर कुरेर बसेका आवेदकहरु पनि उत्साहपूर्वक म्याकिङमा आफ्नो नाम आउने बित्तिकै सो प्रवेशपत्र लिन पुग्छन् । 
रोजगारी नपाएर बेरोजगार भई बसेका युवामात्र नभएर ४० वर्ष नाघिसेका पुरुषहरु पनि म्यादी प्रहरीमा भर्ना हुन आउनु भनेको पक्कै नै मुलुकमा बेरोजगारी समस्या बढेको देखिन्छ । यता वर्तमान परिवेशमा मधेशको राजनीतिक अवस्था अशान्त भइरहेको बेला म्यादी प्रहरीमा यत्रो ठूलो संख्यामा युवाहरु भर्ना हुन आउनुले रोजगारीको अगाडी कुनै द्वन्द्वले नछेक्ने प्रमाणित भएको देखिन्छ । 
यता सोमबार मात्र ९ सय जना युवाहरुले म्यादी प्रहरी भर्नाका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डिएसपी लक्ष्मी अधिकारीले जानकारी दिनुभयो । 
यस्तै मंगलबार सोमबारको तुलनामा दोब्बर युवाहरु भर्नाको आवेदन लिएर लामबद्ध रहेका थिए । शुक्रबारदेखि मंगलबारसम्म २ हजार ९१ युवाले आवेदन दर्ता गराइसकेका छन् भने २ हजार ७ सय बढीलाई आवेदन फारम बितरण गरिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।  
म्यादी प्रहरी भर्नाको आवेदन दिने अन्तिम मिति चैत १७ गतेसम्म रहेको र यसका लागि १८ वर्षदेखी ५४ वर्षसम्मका व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता सप्तरीमा कति संख्यामा म्यादी प्रहरी खटाइने बारे कुनै जानकारी नआएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट